चुनावको मुखमा राष्ट्र बैंक गुहार्दै दलहरू – 'विदेशको पैसा ल्याउन सहयोग चाहियो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 10:52:19 AM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर ४ गत हुने तय भएको प्रादेशिक र संघीय निर्वाचनका लागि दलहरू खर्च जुटाउन राष्ट्र बैंकको सहारा लिन पुगेका छन् ।

विदेशमा सहयोग जुटेको छ, पैसा ल्याउन सहजीकरण गरिदिनुपर्यो भन्दै उनीहरू राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीलाई अनुरोध गर्न थालेका हुन् । राष्ट्र बैंक स्रोतका अनुसार यसरी पैसा नेपाल ल्याउन सहजीकरण गरिदिनुपर्यो भन्दै ठूला दलका नेताहरू बैंकको ढोका घच्घच्याउन पुगेका हुन् ।

'ठूला दलका कतिपय नेताहरूले विदेशमा हाम्रो पार्टीका लागि सहयोग रकम जम्मा भएको छ, ल्याउन सहजीकरण गरिदिनुपर्यो भन्दै गभर्नरलगायत बैंकका कर्मचारीहरूसँग सहयोग माग्न आउनुभएको छ,' राष्ट्र बैंकका एक कर्मचारीले बिजपाटीलाई भने ।

उनले कुन पार्टीका कुन नेता त्यसरी सहयोग माग्न आएको भन्ने कुरा खुलाउन भने चाहेनन् ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले दलहरू अनौपचारिक रूपमा यस्तो सहयोग माग्न आएका हुनसक्ने बताए ।

'औपचारिक रूपमा त उहाँहरू आउनुपर्ने कुरै छैन, राष्ट्र बैंकले संवैधानिक र कानूनी विधि र प्रक्रियाबिना केही काम गर्दैन भन्ने उहाँहरूलाई थाहा छ,' पोखरेलले भने, 'अनौपचारिक रूपमा कुनै कर्मचारीसँग मेरो पैसा ल्याइदिन सहयोग गर्नुस भन्नुभएको हुन सक्छ ।'

राजनीतिक दलहरू भने विदेशबाट प्राप्त हुने सहयोग व्यक्तिगत रूपमा कसैको नेपालस्थित बैंकमा जम्मा हुने भएकाले राष्ट्र बैंकसँग सहयोग माग्ने कुरा आवश्यक नभएको बताउँछन् ।

नेकपा एमालेका अर्थ विभागका प्रमुख घनश्याम भुसालले राजनीतिक दलहरूले संगठित रूपमा बाहिरबाट पैसा ल्याउने प्रचलन आफूले नदेखेको बताए । सहयोग लिनै पर्ने प्रयोजनका लागि राष्ट्र बैंकसँग कुरा गर्नुपर्ने आवश्यकता पनि नभएको उनको भनाइ छ ।

'विदेशबाट कुनै नेपालीले दललाई सहयोग गर्छ भने पार्टीकै खातामा पठाउन सक्छ, यसका लागि राष्ट्र बैंकलाई सहजीकरणका लागि गुहार्नु पर्दैन,' उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभन्डारीले सहयोग रकमको स्रोत पारदर्शी भए नेपालीले विदेशबाट पठाउने सहयोगलाई सकारात्मक लिनुपर्ने बताए ।

'स्रोत पारदर्शी हुनुपर्यो,' उनले भने, 'अपारदर्शी रूपमा आएको रकमलाई राष्ट्रबैंकले यसै पनि मोनिटर गर्छ र अनुसन्धान गर्छ ।'

गत वैशाखमा विवादास्पद व्यापारी पृथ्वी शाहको अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री स्वयंले तोक आदेश गरेका थिए ।

शाहले गत चैत ११ गते अर्थमन्त्री जनार्दन शर्मालाई सोझै निवेदन दिएका थिए । उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा दिएको निवेदनमाथि तोक लगाएपनि राष्ट्र बैंकले रकम ल्याउन अनुमति दिएको थिएन ।

शर्माले नेकपा माओवादी केन्द्रकै लागि पैसा बाहिरबाट ल्याउन तोक आदेश दिएको भन्दै उनको आलोचना भएको थियो ।

त्यस्तै कतिपय व्यापारी व्यवसायीहरूले बाहिरबाट नेपाल ल्याउन लागेको विवादास्पद रकमलाई राष्ट्र बैंकले रोकेको छ । त्यसरी पैसा ल्याउने प्रक्रियामा राजनीतिक दलका उच्च पदस्थ नेताहरू पनि मुछिने गरेको घटनाहरू बर्गेल्ती छन् ।

निर्वाचन आयोगले यसरी चुनावको संघारमा विदेशबाट पैसा ल्याउने प्रक्रियालाई निरुत्साहित गर्ने बताएको छ । 'कसैले पनि चुनावकै लागि भनेर गैर-कानूनी रूपमा विदेशबाट पैसा ल्याउन खोज्छ भने त्यसलाई कानूनसम्मत कारवाही गरिनेछ,' आयोगका एक आयुक्तले बिजपाटीसँग भने ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved