बैंकको उच्च व्यवस्थापन नै मिटरब्याजीसँग मिलेपछि कर्णालीका निक्षेपकर्तामा 'प्यानिक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 02:54:36 PM मा प्रकाशित

laxmi  sunrise bank

'सुनिश्चित भविष्यको बलियो आधार, कर्णाली निश्चिन्त मुद्दती खातामा उच्चतम प्रतिफल' नामको आकर्षक नारा दिएर वचतकर्ताको निक्षेप तान्ने रणनीति अपनाइरहेको नेपालगंजस्थित कर्णाली डेभलपमेन्ट बैंकले उक्त निक्षेप भने 'मिटरब्याजी'को जिम्मा लगाउने गरेको छ ।

गरीब र निमुखाको नाममा उनीहरूलाई थाहै नदिई ऋण बोकाएर मिटरब्याजी तिलक बिकमार्फत निक्षेपको अधिकांश रकम अपचलन गर्ने कुकर्ममा बैंकका सीईओ दिनेशकुमार रावतसहित उच्च व्यवस्थापनसमेतको संलग्नता देखिएको समाचार बिजपाटी डट कमले प्रकाशन गर्दै आइरहेको छ ।

पढ्न लेख्न नजान्ने र बोल्न सुन्न समेत नसक्ने व्यक्तिहरूको नाममा थाहै नदिई ऋण बोकाउने र उनीहरूको खाता आफूखुसी सञ्चालन गरेर निक्षेपकर्ताको पैसा दुरुपयोग हुँदै आएको बैंकका ठूला २० ऋणी कम्पनीमध्ये दर्जन भन्दा बढी कम्पनी 'डमी' छन् ।

आफूलाई व्यवसायीका रूपमा चिनाउने तिलकले ऋण प्रयोजनकै निम्ति अर्कैको नाममा डमी कम्पनी खडा गर्ने, सेटिङमा कागजपत्र मिलाएर बैंकबाट ऋण लिने र त्यसलाई अपचलन गर्ने काम गरिरहेका छन् ।

यस्ता कम्पनीहरूमा डीएनटी इन्भेस्टमेन्ट, प्रतिक निर्माण सेवा, अष्टलक्ष्मी बिल्डिङ प्रोडक्ट्स, वैदिक कन्स्ट्रक्सन, एनटी कन्स्ट्रक्सन, रुद्रप्रिया इन्भेस्टमेन्ट, थ्री पी कन्स्ट्रक्सन र अन्य धेरै कम्पनी रहेका छन् ।

बिजपाटीलाई प्राप्त दस्तावेजमा तिलकले डीएनटीका नाममा अहिलेसम्म १४ करोड ४० लाख, प्रतिक निर्माण सेवाको नाममा ६ करोड, अष्टलक्ष्मीका नाममा ५ करोड ८० लाख, वैदिक कन्स्ट्रक्सनका नाममा ४ करोड ६० लाख, रुद्रप्रिया इन्भेस्टमेन्टका नाममा २ करोड १० लाख र थ्री पी कन्स्ट्रक्सनका नाममा २ करोड २० लाख ऋण लिएर अपचलन गरेका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकबाट करोडौं ऋण लिएका यी डमी कम्पनीहरूको नाममा कुमारी, सिभिल, प्राइम र अन्य बैंकबाट पनि करोडौं ऋण प्रवाह भएको छ । अचम्म त के छ भने माथि भनिएका कुनै पनि कम्पनीहरूको आफ्नो वेबसाइट छैन । गुगलमा सर्च गर्दा पनि भेटिन्नन् ।

यी कम्पनीमध्ये डीएनटी दिनेश, निसार र तिलकको नामको पहिलो अक्षरबाट बनाइएको कम्पनी हो । दिनेश बैंकका सीईओ हुन्, निसार अहमद दर्जी यसअघि बैंकका भ्यालुएटर थिए भने अहिले सञ्चालक समितिका सदस्य छन् भने तिलक खुद आफैंमा मिटरब्याजी हुन् ।

निक्षेपकर्ताको पैसा अपचलन गर्ने गिरोहको सदस्यको पहिलो अक्षरबाट कम्पनीको नाम जुराएको भएपनि खासमा उक्त कम्पनी शशिराम कसेराको नाममा छ । कसेरा तिलकका सहयोगी हुन् । आफ्नो सहयोगीको नाममा डमी कम्पनी खडा गरेर उक्त गिरोहले बैंकको साढे १४ करोड अपचलन गरेको छ । कसेरालाई तिलकले मासिक १५/१६ हजार तलब दिएर आफ्नो कार्यालयमा काम गर्न राखेका छन् ।

त्यस्तै प्रतिक निर्माण सेवा तिलकको आफ्नै कम्पनी हो । नेपालगंजको न्यूरोडस्थित उक्त कम्पनी तिलकले आफ्नो छोराको नाममा खोलेका हुन् । उक्त कम्पनीको नाममा उनले ६ करोड ऋण अपचलन गरेका छन् ।

बैंकबाट ५ करोड ८० लाख ऋण लिएको अष्टलक्ष्मी बिल्डिङ नामको डमी कम्पनी पनि तिलकले किरण भण्डारीका नाममा खोलेका थिए । बैंकबाट ऋण लिने प्रयोजनकै निम्ति खोलिएको उक्त कम्पनीका नाममा बाटो नभएको केही बिगाहा जग्गा धितो राखिएको छ । कम मूल्य पर्ने जग्गालाई बढी मूल्य बनाएर भ्यालुएट गर्ने जिम्मा लिएका इन्जिनियर निसार अहिले सञ्चालक समितिका सदस्य छन् ।

आफ्नो नाममा ऋण बोकाइएको भन्दै किरण यसअघि तिलकसँग असन्तुष्टसमेत बनेका थिए । केही कुरा मिलेपछि किरण पुनः यु टर्न भए । अहिले तिलककै प्रभावमा रहेका किरणले कम्पनी आफ्नै नामबाट ठीक-ठाक चलिरहेको भन्दै बताउने गरेका छन् ।

भण्डारी तत्कालीन अर्थमन्त्री जनार्दन शर्मानिकट छन् । तिलकले जग्गा र कर्जाको भारि बोकाउन प्रयोग गरेका व्यक्तिहरूबाट पटक-पटक भण्डारी र अष्टलक्ष्मीको नाममा पैसा गएको देखिन्छ । केही समय अघि यत्रो ऋण आफूले बोक्न नसक्ने भन्दै किरणले तिलकलाई वारेसनामा दिन खोजेका थिए । अहिले केही रकममा उनीहरूबीच कुरा मिलेको छ ।

ऋण अपचलन गर्ने प्रयोजनका निम्ति खोलिएको वैदिक कन्स्ट्रक्सनको कथा छुट्टै छ । नेपालगंजकै ईँट्टा उद्योगी रामाशंकर बर्माले बैंकबाट लोन लिन नसकेपछि अन्य केही मिटरब्याजीसँग लिएको पैसा चुक्ता गर्न तिलकको शरणमा पुगेका थिए ।

शुरूमा तिलकले बर्माको नाममा रहेको २४ कठ्ठा जग्गा आफ्नो नाममा पास गरिदिए मात्र बैंकबाट ऋण लिन सजिलो हुन्छ भने । तर बैंककै एक कर्मचारी जसले तिलकको कर्तूत बुझेको थियो, उसले जग्गा तिलकको नाममा पास गर्न नहुने सुझाव दिएपछि बर्मा पछि हटे । तर तिलकसँग 'प्लान बी' थियो ।

तिलकले संयुक्त कम्पनी खडा गर्ने, धितोको रूपमा बर्माको २४ कठ्ठा जग्गा राख्ने, ४ करोड ६० लाख ऋण लिने र आधाआधा चलाउने प्रस्ताव राखे । त्यसपछि जन्मियो वैदिक कन्स्ट्रक्सन ।

तर उल्टो भयो । बैंकबाट ऋणबापत आएको सबै पैसा तिलकले हडपे । सहमतिअनुसार बर्माले पाउनुपर्ने २ करोड ३० लाख पाएनन् । पछि तिलकले १/२ लाख दिँदै वर्षौंदेखि बर्मालाई थामथुम पार्ने कोशिस गरिरहेका छन् । बर्माले पाउनुपर्नेबापतको पैसा समयमा नपाएपछि अर्का शाह र अली थरका दुई मिटरब्याजीको पैसा समयमै बुझाउन सकेका छैनन् ।

माथि उल्लेखित बाहेक अन्य कम्पनीहरू पनि तिलकले ऋण अपचलन प्रयोजनकै निम्ति खोलेको कम्पनी हो । यससँगै तिलकले कम्तीमा २५ वटा डमी कम्पनी खोलेका छन्, जसमध्ये लगभग सबैबाट ५० लाख भन्दा बढीको ऋण लिएका छन् । सबै ऋण चालू पूँजी र ओभरड्राफ्ट प्रकृतिका कर्जा हुन् । त्यसैले उनले ब्याज तिरिरहेका छन् भने साँवा तिर्ने झन्झट गर्नुपरेको छैन ।

अन्य डमी कम्पनीहरूको बारेमा बिजपाटीले थप अध्ययन गरिरहेको छ ।

बैंकबाट डमी कम्पनी र निमुखाहरूको नाममा भटाभट ऋण उठाउने तिलकले नेपालगंजमा मिटरब्याजको लूट सञ्जाल खडा गरेका छन् ।

मिटरब्याजी तिलकसँग नजिक रहेर काम गरेका एक व्यक्तिले बिजपाटीसँग प्रत्येक ५० लाखको ऋण प्रवाह गर्दा ३ लाख कमिसन सीईओलाई दिइने गरेको आरोप लगाएका छन् । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'कमिसनबापतको २/३ लाख र कहिले काहीं त्यो भन्दा धेरै पैसा कतिपटक म आफैंले दिनेशको घर लगेर छोडेको छु ।'

तर कर्णाली डेभलपमेन्ट बैंकका सीईओ रावतले आफूमाथि लगाईएको आरोप निराधार भएको र यो आरोप पुष्टि भए हदैसम्मको कारबाही भोग्न तयार भएको बताएका छन्। 

उनि भन्छन्, "एउटा सीईओको नाताले सबै ऋणीको बारेमा जानकारी हुन आवश्यक छ तर प्रकृया पुर्याएर कर्जा लिएका ऋणीले उक्त पैसा व्यवसायमा लगाए वा अन्यत्र लगाए भन्नेकुराको सुक्ष्म अनुगमन चाहेर पनि सम्भव नहुँदा कहिलेकाहीं खराब कर्जा हुन पुग्छ तर मिटरब्याज लगाएर प्रत्येक ५० लाखमा २-३ लाख कमिसन लियो भन्ने आरोप निराधार हो र यो आरोप पुष्टि गरेर कसैले देखाउंछ भने म हदैसम्मको कारबाही भोग्न तयार छु।"

यता रुकुमबाट नेपालगंज आएर छोटो समयमै सफल र धनी व्यवसायीको पहिचान बनाएका व्यवसायी तिलकमाथि अन्य प्रयोजनका निम्ति ऋण लिन खोज्नेहरूलाई नियोजित रूपमा बैंककै कर्मचारीको सहयोगमा जग्गा हडपने र मिटरब्याजमा पैसा दिनेगरेको आरोप छ। उक्त आरोप पुष्टि हुनेगरि तिलकका ब्यवसायिक पार्टन बन्न बाध्य बनाइएका नेपालगंजकै ईँट्टा उद्योगी रामाशंकर बर्माले बिजपाटीकर्मीलाई देखाएको प्रमाणले पुष्टि हुन्छ। 

यसबारे बिजपाटीमा पहिलो समाचार प्रकाशन भएपछि बिजपाटीको सम्पर्कमा आएका बैंकका सीईओ दिनेश भन्छन्, 'तिलक मेरो मिल्ने साथी हो । साथीले २/४ पैसा कमाउँछ भने कमाओस भनेर मैले सहयोग गरेको हो । तर त्यसको सजायँ अहिले बैंकले र मैले भोग्नुपरिरहेको छ ।'

यसबारे बिजपाटीले थप सिरिजमा समाचार लेख्दै जानेछ । 

समाचार प्रकाशित भएपछि  सम्पर्कमा आएका व्यक्तिहरुको भनाईलाई स्थान दीइएको छ। र यस समाचारसँग सम्बन्धित कागजात र अन्य प्रमाण बिजपाटी डटकमसँग सुरक्षित छ। -सम्पादक

यसअघि - 

कर्णाली डेभलपमेन्ट बैंकमा यसरीगरिन्छ 'निमुखा' प्रयोग गरेर अर्बौंको अपचलन

[Exclusive]कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौंरकम जोखिममा 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved