मिनबहादुर पक्राउको ‘साइड इफेक्ट’: १७ सय सप्लायर्स प्रभावित, के होला ६ बैंकको १० अर्ब ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 03, 2023 | 10:02:45 AM मा प्रकाशित

laxmi  sunrise bank

भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेपछि उनीसँग जोडिएका व्यवसायीको हालत खराब हुने अवस्था सिर्जना भएको छ। यसअघि पनि सोही प्रकरणमा समातिएर धरौटीमा रिहा भएर हालसम्म मुद्दा खेपिरहेका गुरुङ पुनः सोही प्रकरणमा किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । असार मसान्तको मुखैमा गुरुङ पक्राउ परेपछि उनीसँग व्यवसायका क्रममा जोडिएका अन्य व्यवसायीहरु समेत प्रभावित बन्ने खतरा बढेको छ ।

काठमाडौँका एक जना सप्लायर्सले गुरुङसँग साझेदार सुरु गरेको एक दशक भइसक्यो । आजसम्म उनले भाटभटेनीसँगको कारोबारमा गुरुङकै हस्ताक्षर भएको चेक बुझ्दै आएका थिए । तर, यसपटक पैसा उठाउने बेलामा गुरुङ थुनिएपछि उनको कम्पनीको असार मसान्तको ‘क्लोजिङ’ प्रभावित हुने भएको छ ।

त्यसो त, मिनबहादुर गुरुङले खडा गरेको व्यवसायिक सम्राज्य उनको पारिवारिक विरासतको जग पनि हो । भाटभटेनीमा गुरुङकी श्रीमति सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामना गुरुङले सघाइरहेका छन् । आर्थिक कारोबार भने गुरुङको एकल निर्णयबाट हुन्थ्यो । भाटभटेनीले सप्लायर्सलाई तिर्नुपर्ने पैसा तिर्दा चेकमा पनि गुरुङ आफैँ हस्ताक्षर गरेर दिन्थे । 

‘भाटभटेनीसँग कारोबार गरेको यत्तिका वर्ष भयो, मैले आजसम्म अरु कसैले हस्ताक्षर गरेर दिएको चेक पाएको छैन, मिनबहादुर गुरुङकै हस्ताक्षर हुन्थ्यो’ एक जना सप्लायर्स भन्छन् ।

भाटभटेनीले देशभरीका १ हजार ७ सय सप्लायर्सबाट सामान लिँदै आएको छ । २५ वटा आउटलेट छन् । जनकपूरमा आजभन्दा १२ दिन अगाडी मात्रै २५औँ आउटलेट खुलेको छ । ६ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

‘१७ सय सप्लायर्सले वार्षिक क्लोजिङको अडिट गराउनुपर्ने बेलामा सबैभन्दा बढी पैसा उठाउन बाँकी भाटभटेनीका सञ्चालकको हातमा हत्कडी लाग्यो’ एक जना सप्लायर्स भन्छन्, ‘व्यवसायीलाई समातेर नेतालाई तर्साएर सत्ता टिकाउने दाउ हो, अरु केही पनि होइन ।’

यसअघि पनि यहीँ मुद्दामा धरौटीमा छुटेका थिए गुरुङ

बालुवाटारको जग्गा प्रकरणमा गुरुङ यसअघि पनि पक्राउ परेर मुद्दा खेपेर धरौटीमा रिहा भएका पात्र हुन् । २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित १७५ जनाविरुद्द १२३ रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले गुरुङविरुद्द मुद्दा दायर गरेपनि विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो । अदालतको आदेश अनुसार धरौटी बुझाएर उनी रिहा भए ।

तर, फेरि अहिले सोही मुद्दामा गुरुङ समातिएपछि भने आलोचना भइरहेको छ । उद्योगी व्यवसायीहरुले व्यवसायीलाई समातेर बालुवाटार जग्गा प्रकरणमा नाम जोडिएका नेताहरुलाई तर्साउने र सरकार टिकाउने प्रधानमन्त्री प्रचण्डको ‘प्रपञ्च’का रुपमा बुझेका छन् । 

‘नीतिगत निर्णय गर्नेले चाहिँ सधैँ उन्मुक्ति पाइरहने, तर नाफाका लागि व्यवसाय सञ्चालन गरेर ट्याक्स तिर्ने र हजारौँलाई रोजगारी दिने व्यवसायी चाहिँ सधैँ तारो भइरहने ?’ एक जना व्यवसायी प्रश्न गर्छन् ।

६ वटा बैंकको १० अर्ब कर्जा कसरी उठ्ला ?

मिनबहादुर गुरुङलाई नजिकबाट चिन्नेहरु उनलाई भाटभटेनी समूहका ‘सिङ्गल म्यान आर्मी’का रुपमा चिन्छन् । सानादेखि ठूला सबै निर्णय उनको तहबाट मात्रै हुन्छ । झन आर्थिक कारोबार त उनले अरुको जिम्मामा छोडेकै थिएनन् । त्यसैले असार मसान्तकै मुखममा गुरुङको हिरासत बसाईँले भाटभटेनीसँग जोडिएका अन्य २ हजार व्यवसायी तथा उद्यमीको आर्थिक अवस्था बिग्रने संकेत गरेको छ ।

भाटभटेनीका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाले १० अर्ब बढी कर्जा लगानी गरेको बताइन्छ । भाटभटेनीमा १० अर्ब कर्जा लगानी गर्न स्ट्याण्डर्ड चार्टड बैंकले अगुवाइ गरेर ६ वटा बैंकबाट लगानी जुटाएको बताइन्छ ।

अब, गुरुङ लामो समय हिरासतमा बस्ने अवस्था आयो र भाटभटेनीको व्यवसाय ओरालो लाग्यो भने यो १० अर्ब रुपैयाँको साँवा र ब्याज भूक्तानीमा पनि समस्या पर्ने अवस्था आउँछ ।मिनबहादुर पछिका निर्णायक पात्रका रुपमा देखिएका छोरा कल्याण र भाइ पहलमानको नाम पनि ललिता निवास प्रकरणमा जोडिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved