कानुनको धज्जी उडाउँदै राष्ट्र बैंक: ३ संस्थामा गैर कानुनी लगानी, आफ्नै ऐन पनि मान्दैन

चन्दा कार्की

चन्दा कार्की

Dec 04, 2023 | 11:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले नियम विपरित विभिन्न संस्थामा लगानी गरेको पाईएको छ । राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार केन्द्रीय बैंकले विभिन्न ८ संस्थामा लगानी गरेको देखिन्छ । जसमध्ये ५ संस्थामा आफ्नै ऐनको विपरित लगानी गरेको पाइएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ (२.क) मा राष्ट्र बैंकको आफ्नो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने व्यवस्था छ ।

यस व्यवस्थाको विपरित केन्द्रीय बैंकले कृषि आयोजना सेवा केन्द्र लिमिडेट, राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड), राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्र लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्यस्ट (एनबीआई) तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी गरेको देखिन्छ । यद्यपि एनबीआई र नेप्सेमा राष्ट्र बैंकको शेयर स्वामित्व हाल १० प्रतिशत तल रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

यी संस्थाका अलावा राष्ट्र बैंकले निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र कर्जा सुचना केन्द्रमा पनि लगानी गरेको छ । यी तीन कम्पनीमा भने बैंकको १० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कुन संस्था कति छ लगानी ?

राष्ट्र बैंकले कृषि आयोजना सेवा केन्द्र लिमिडेटमा ६२.५ प्रतिशत लगानी गरेको देखिएको छ । यस संस्थामा राष्ट्र बैंकको सुरुवाती लगानी ५० लाख रुपैयाँ रहेको छ भने सेयर स्वामित्व खुलाइएको छैन । राष्ट्र बैंक ऐनमा कुनै कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्रै राष्ट्र बैंकले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले आफ्नै ऐनको धज्जी उठाउँदै ऐनमा व्यवस्था गरेभन्दा ६ गुणा बढी लगानी गरेको हो ।

त्यस्तै राष्ट्र बैंकले साबिकको राष्ट्रिय बीमा संस्थानमा ५५.५६ प्रतिशत लगानी गरेको छ । संस्थानका कुल सेयरमध्ये १ लाख ५ हजार ६६७ कित्ता सेयर राष्ट्र बैंकको स्वामित्वमा रहेको छ । राष्ट्र बैंकको यस वित्तीय प्रतिवेदन अनुसार २०८० असार ३१ सम्म संस्थानमा राष्ट्र बैंकको सुरुवाती लगानी १० लाख रुपैयाँ रहेको छ भने फेयर भ्यालू अनुसार ३४ करोड ८८ लाख ५५ हजार ४७८ रुपैयाँ रहेको देखिन्छ । 

त्यस्तै, राष्ट्र बैंकले राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्रमा पनि कम्पनीको कुल पुँजीको ३१.५२ प्रतिशत लगानी गरेको देखिन्छ । यस संस्थामा राष्ट्र बैंकको शुरुवाती लगानी २५ लाख रुपैयाँ रहेको छ । यस संस्थामा पनि कम्पनीको शेयर संख्या भने खुलाइएको छैन् । 

त्यस्तै वार्षिक प्रतिवेदन बमोजिम एनबीआइमा राष्ट्र बैंकले १५.२९ प्रतिशत अर्थात ४७ लाख ५० हजार १५० रुपैयाँ लगानी गरेको देखिन्छ । जसमा केन्द्रीय बैंकको शेयर संख्या ४७ हजार ५०१ कित्ता रहेको छ  भने फेयर भ्यालू १ करोड ८८ लाख २८ हजार ९३ रुपैयाँ छ । यसको शेयर स्वामित्व भने राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा घटाएको छ । २०७९ को असार मसान्तमा एनबीआईमा राष्ट्र बैंकको ७६ करोड ४५२ कित्ता शेयर रहेको थियो । 

त्यस्तै दोस्रो बजारमा शेयर किनबेच गर्ने एक मात्र निकाय नेप्सेमा केन्द्रीय बैंकको १४.५९ प्रतिशत अर्थात ९ लाख ५० हजार ६३७ कित्ता शेयर लगानी रहेको छ । जसको शूरुवाती लागत ३३ लाख १७ हजार ७२३ रुपैयाँ देखिन्छ भने फेयर भ्यालू ५८ करोड ९८ लाख ७९ हजार ७६४ हुन आउँछ । नेप्सेमा पनि राष्ट्र बैंकले आफ्नो लगानी क्रमिक घटाउँदै लगेको छ । राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागका निर्देशक मुकुन्दकुमार क्षेत्री यी दुई संस्थामा हाल राष्ट्र बैंकको लगानी कुल पूँजीको ९.५ प्रतिशत मात्रै रहेको बताउँछन् ।

राष्ट्र बैंक ऐन विपरित लगानी गरेका यी संस्था बाहेक राष्ट्र बैंकको अन्य तीन संस्था पनि लगानी रहेको छ । जसमध्ये कर्जा सुचना केन्द्रमा १०.०३ प्रतिशत अर्थात ४ लाख १४ हजार २८७ कित्ता शेयर स्वामित्व छ । यस संस्थामा पनि राष्ट्र बैंकले आफ्नो लगानीलाई कम गर्दै लगेको देखिन्छ । यस संस्थामा यसअघि २०७८/७९ मा राष्ट्र बैंकको ४३ लाख ७४ हजार ४०० शेयर लगानी थियो ।

राष्ट्र बैंकको नेपाल क्लियरिङ हाउस लिमिटेडमा १० प्रतिशत अर्थात ७ लाख ८३ हजार ३७५ कित्ता शेयर स्वामित्व छ । जसमा राष्ट्र बैंकको शुरुवाती लगानी १ करोड ५० लाख रुपैयाँ रहेको छ । अहिले कम्पनीका राष्ट्र बैंकको लगानी १८ करोड १६ लाख १ हजार ९९३ रुपैयाँ पुगेको छ । 

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषमा राष्ट्र बैंकको लगानी १० प्रतिशत रहेको छ । शुरुवाती लगानी ६० करोड ७५ लाख ९४ हजार रहेको यस संस्थामा केन्द्रीय बैंकको शेयर हिस्सा १ करोड कित्ता रहेको छ । २०८० असार मसान्तमा कम्पनीमा राष्ट्र बैंकको शेयर लगानी बढेर २ अर्ब ३१ करोड ५० लाख १२ हजार पुगेको देखिन्छ । 

राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार केन्द्रीय बैंकको विभिन्न ८ संस्थामा गरेको लगानी फेयर भ्यालू अनुसार ३ अर्ब ६६ करोड ७६ लाख १८ हजार ४५७ पुगेको देखिन्छ जसको शुरुवाती लगानी ६४ करोड २४ लाख ७६ हजार १६९ रुपैयाँ हो ।

राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री भने राष्ट्र बैंकको १० प्रतिशत शेयर लगानी गरेको संस्था अब साबिकको राष्ट्रिय बीमा संस्थान अर्थात हालको राष्ट्रिय जीवन बीमा कम्पनी मात्रै रहेको बताउँछन् । उनका अनुसार अहिले नेपाल स्टक एक्सचेञ्ज र एनबीआईको शेयर स्वामित्व घटाएर ९.५० प्रतिशतमा आइसकेको छ । प्रकाशित वित्तीय विवरण असार मसान्तसम्मको मात्रै भएको भन्दै त्यसयता यी दुई कम्पनीको शेयर स्वामित्व घटिसकेको उनको भनाई छ । 

यता, सबैभन्दा बढी प्रतिशत शेयर हिस्सा ओगटेको भनिएको कृषि आयोजना सेवा केन्द्र साथै राष्ट्रिय उत्पादकत्व र आर्थिक विकास केन्द्र भने हाल खासै अस्तित्वमा नरहेको उनको दाबी छ । सञ्चालनमा नरहेका यी कम्पनीको शेयर सरकारलाई हस्तान्तरण गर्न लागिएको उनले बताए । उनका अनुसार हालको राष्ट्रिय जीवन बीमा कम्पनीहरुको भने ५५.५६ प्रतिशत शेयर अर्थात उक्त कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार नै राष्ट्र बैंक भएको हुँदा उक्त कम्पनीको सम्बन्धमा के गर्ने भन्ने निर्णय नभएको उनी बताउँछन् ।

'सबैभन्दा ठूलो शेयर होल्डर नै राष्ट्र बैंक हो, त्यसै कसैलाई जिम्मा लगाउने कुरा पनि भएन । बोलकबोल गर्न पनि सजिलो छैन् ।'  बिजपाटीसँग उनले भने, 'के गर्ने भन्ने निक्र्यौल भइसकेको छैन् ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved