बैंकमा थुप्रिएको पैसा लंकाको सुन जस्तै !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 08:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकमा थुप्रिएको पैसा लंकाको सुन जस्तै भएको प्रतिकृया सुन्न थालिएको छ। अरबौं रुपैयाँ थुप्रिन थालेपछि स्वयम बैंकहरु नै अधिक तरलता सर्वसाधारणको लागि लंकाको सुन जस्तै भएको बताउन थालेका छन्।

ब्याजको दर घटाउँदा पनि कर्जाको माग हुन छाडेको बताउदै एक विकास बैंकका सीइओले पैसा छैन भने प्रशस्त भएको तर कर्जा लिनै कोहि नआउने गरेको बताए । उनले अहिलेको यो परिस्थितिलाई ‘‘लंकामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखानसँग तुलना गरेका छन् ।

ति सीइओका अनुसार कर्जाको लागि आएका मागहरु पनि उत्पादनमुलक क्षेत्रमा नभई शेयर, घरजग्गा र गाडी कर्जा बढी छन् । उद्योग व्यवसायका लागि कर्जाको माग आउँन छाडेपछि बैंकहरु मार्जिन प्रकृतिकै क्षेत्रमा कर्जा बढाउन बाध्य भएका छन्।

नेपाल राष्ट्र बैंककाअनुसार पुष १८ गतेसम्म बैंक वित्तीय संस्थाहरुसँग ४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा योग्य पैसा छ। तर कर्जाको माग नआएपछि तरलता व्यवस्थापनको लागि राष्ट्र बैंकले बैंकबाट पैसा फिर्ता लैजान बाध्य भएको छ। अन्तर बैंक ब्याजदर पनि तोकिएको भन्दा तल अर्थात ३ प्रतिशतबाट तल जान थालेपछि निक्षेप संकलन उपकरणबाट राष्ट्र बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको छ। राष्ट्र बैंकले पुसको १९ दिनभित्र ९ पटक बोलकबोलमार्फत बैंक वित्तीय सँस्थाबाट पैसा खिचेको हो।

निक्षेप संकलन बढ्ने तर कर्जाको माग नआउने भएपछि बैंकहरुका लागि अधिक तरलता चिन्ता को बिषय बन्न पुगेको छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुमा अधिक तरलता हुनुमा भएकै व्यवसाय पनि २५ ३० प्रतिशतको क्षमता चल्नु र बजारमा माग नहुनु रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको भनाई छ।

त्यस्तै पुषको अन्तिम संघारमा बैंकहरुले नयाँ कर्जा प्रवाह भन्दा पनि पुरानै ऋण असुलीमा बढी ध्यान दिने भएकाले पनि कर्जा प्रवाहमा सुस्तता देखिएको बैंकरहरु बताउँछन्।

भएकै कर्जाको ब्याज कर्जा लिंदाको बेला भन्दा ४/५ प्रतिशतले अहिले पनि बढी भएकाले ऋणीमाथि कर्जाको भार उस्तै भएकाले थप ऋणको माग नभएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठको भनाई छ।

ब्याजको दर घट्यो भनिए पनि  अहिलेपनि कर्जाको ब्याज १३/१४ प्रतिशतसम्म रहेको र जबसम्म हिजो कर्जा लिंदाकै दरमा कर्जाको ब्याज पुग्दैन तबसम्म निक्षेपको ब्याज घटाएर कर्जाको माग नबढ्ने उनले बताए । कर्जाको ब्याज एकल अंकमा नआउँदासम्म बैंकमा थुप्रिएको पैसा उद्योगी व्यवसायीका लागि लंकामा सुन छ कान मेरो बुच्चो भने जस्तै भएको अध्यक्ष श्रेष्ठको बुझाई छ ।

निक्षेपको ब्याजदर ९ प्रतिशतमा आएपनि अधिकांश बैंक वित्तीय संस्थाले कर्जामा लिने ब्याजको दर अहिले पनि १४ प्रतिशतकै हाराहारीमा छ । यो भनेको विगतमा ८/९ प्रतिशतबाट बढाईएको दर हो । कर्जाको ब्याज ४/५ प्रतिशतले बढ्ने र व्यवसाय भने झन्डै आधाले घट्ने अवस्था बनेपछि अहिले कर्जा लिएर उद्योग व्यवसाय गर्नेहरु आर्थिक दबाबमा छन् ।

त्यस्तै कर्जा लिने आम सर्वसाधारण पनि कर्जा र महंगीको दोहोरो मारमा परेका छन्। हिजो महिनामा २० हजारले घर खर्च चल्नेमा अहिले महँगी बढेर महिनाकै ३०/३५ हजार खर्च हुने अवस्था छ । कर्जाको ब्याज पनि उत्तिकै बढेको छ, तर आम्दानी बढेको छैन । यसले गर्दा पनि कर्जा लिने आम सर्वसाधारण हिजोकै कर्जाको भारले थिचिएका छन्। जसले गर्दा समग्र बैंकिंङ उद्योगमा निक्षेप संकलन बढे पनि कर्जाको माग सुस्ताएको छ ।

हेर्नुस् भिडियो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved