बैंकको संचालक बन्न नयाँ व्यवस्था प्रस्ताव, ७० कटेकालाई बन्देज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 05:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाको संचालक बन्न नयाँ मापदण्ड प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको 'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक'मा नयाँ मापदण्ड प्रस्ताव गरिएको हो।

जस अनुसार अब संचालक बन्न २५ वर्ष पुरा भएको र ७० वर्ष ननाघेको हुनु पर्ने प्रस्ताव गरिएको छ । यस अघि अधिकतम उमेरहद नभएकोमा अब ७० वर्षको लिमिट प्रस्ताव गरिएको हो । साथै महिला शेयरधनी रहेको बैंक तथा वित्तीय संस्थामा महिला संचालक अनिवार्य हुनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै अब एक संचालक एक भन्दा बढी वित्तीय संस्थामा संचालक हुन नपाइने प्रस्ताव गरिएको छ । यस अघि पूर्वाधार विकास बैंकको हकमा यो छुट रहे पनि अब भने सो छुटलाई हटाउन प्रस्ताव गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको संचालक हुन निम्न योग्यता प्रस्ताव गरिएको छ । 

-मान्यताप्राप्त विश्वविद्यालयबाट तोकिए बमोजिमका विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, वा -मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बैङ्क वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका सङ्गठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको ।

तर “घ” वर्गको वित्तीय संस्थाको हकमा स्नातकोपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बैङ्क वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका सङ्गठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा सङ्गठित संस्थाको अधिकृतस्तरमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति सञ्चालक हुन बाधा परेको मानिने छैन ।

त्यस्तै संचालक समितिको बैठक हरेक महिना बस्नु पर्ने प्रस्ताव गरिएको छ । हाल भने वर्षमा कम्तिमा १२ वटा बैठक बस्नु पर्ने र दुई वटा बैठकबीचको समय २ महिना भन्दा बढी हुन नहुने व्यवस्था छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved