नेपालमा पहिलो पटक वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा गणना, के पर्छ असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 06:54:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पहिलो पटक वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा गणना गरेको छ। यसअघि कुल निष्क्रिय कर्जा गणना हुँदै आएकोमा नेपाल राष्ट्र बैंकले पहिलो पटक खुद निष्क्रिय कर्जा गणना गरेको हो। 

कुल निष्क्रिय कर्जाबाट नोक्सानी बापतको रकम घटाएर खुद निष्क्रिय कर्जा निकालिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। बैंकहरुको खराब कर्जा बढ्यो भनेर नकारात्मक टिप्पणी भएपछि बैंकहरुमा निष्क्रिय कर्जाको वास्तविकता देखाउनलाई खुद निष्क्रिय कर्जा निकालिएको राष्ट्र बैंकको भनाई छ। 

राष्ट्र बैंकले निकालेको आँकडाअनुसार बैंकहरुको औषत खुद निष्क्रिय कर्जा अनुपात १.१३ प्रतिशत देखिएको छ। जबकि कुल निष्क्रिय कर्जा अनुपात मात्रै गणना गर्दा यसको अनुपात ३.६३ प्रतिशत देखिएको थियो। 

कुल निष्क्रिय कर्जामा त्यसको नोक्सानी बापतको रकम व्यवस्था (प्रोभिजनिङ) गरेपछि बाँकी रहने कर्जालाई खुद निष्क्रिय कर्जा भनिन्छ। अर्थात कुल निष्क्रिय कर्जामा नोक्सानी बापत व्यवस्था गरिएको रकम घटाएर आउने योगफल नै खुद निष्क्रिय कर्जा हो। बैंकहरुले आफ्नो कमाईबाट नै कर्जा नोक्सानी बापतको रकम व्यवस्था गर्ने गर्दछन। 

कुल आम्दानिबाट विभिन्न शिर्षकको खर्च तथा नियामकीय व्यवस्था बापतको रकम घटाउदा कर्जा नोक्सानी बापतको रकम पनि घटाउने गरिन्छ। तर कुल निष्क्रिय कर्जामा कर्जा नोक्सानी बापतको रकम घटाएर खुद निष्क्रिय कर्जाको आँकडा निकाल्ने अभ्यास थिएन। जसले गर्दा कुल निष्क्रिय कर्जालाई नै आधार मानेर बैंकहरुको वित्तिय अवस्थाको विश्लेषण हुने गरेको थियो। 

नेपाल राष्ट्र बैंकको यो अभ्यासलाई बैंकिंङ क्षेत्र सुरक्षित छन् भनेर आम सर्वसाधारणलाई विश्वस्त पार्न चालिएको कदमको रुपमा लिइएको छ। छिमेकी देश भारत पाकिस्तान लगायतका देशहरुमा पहिल्यै देखि खुद निष्क्रिय कर्जा गणना गरेर आंकडा सार्वजनिक गर्ने गरिएपनि नेपालमा त्यस्तो अभ्यास थिएन। 

तर पछिल्लो समय कुल निष्क्रिय कर्जाको आंकडा बढ्दै जाँदा यसलाई देखाएर बैंक वित्तिय सँस्था डुब्नै लागे भन्ने भाष्य बनाउने क्रम बढेपछि राष्ट्र बैंकले पनि खुद निष्क्रिय कर्जाको आंकडा पहिलो पटक सार्वजनिक गरेको हो। राष्ट्र बैंकको यो कदमलाई जानकार तथा विज्ञहरुले सकारात्मक भनेका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० बाणिज्य बैंकले चालू आर्थिक वर्षको पुष मसान्तसम्म १ खर्ब ९१ अर्ब ५६ करोड ४३ लाख रुपैयाँ कर्जा नोक्सानी बापत प्रोभिजनिङ गरेका छन्। निष्क्रिय कर्जा बापतको रकम उठ्दै जाँदा यस्तो रकमलाई बैंकहरुले आम्दानिमा जोड्दै लैजान पाउँछन्। जसले गर्दा जति बढी प्रोभिजन गरिएको हुन्छ त्यसले तत्काललाई बैकको नाफा कम देखिएपनि अन्तत त्यो बैंककै आम्दानी हुने गर्दछ। यस अवधिसम्म बैंकहरुको बैंकहरुले  ४४ खर्ब ९५ अर्ब ५८ करोड कर्जा लगानी गरेका छन्। 

बैंकहरुले कर्जालाई असल, सुक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब गरेर पांच भागमा वर्गिकरण गरेका हुन्छन्। जसमा असल कर्जामा १.२५, सुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराब कर्जामा शत प्रतिशत बराबरको रकम प्रोभिजन गर्नुपर्ने हुन्छ।  निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब वर्गका कर्जा पर्दछन्। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved