
साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १५.६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि बजार २४.५८ अंकले घटेको थियो ।
त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक इन्डेक्स सेन्सेक्स पनि ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ ।यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता अघिल्लो कारोबार दिन आइतबार भने ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।
नेप्सेमा रहेका १३ उपसमूहमध्ये विकास बैंक बाहेक सबै उपसमूह राताम्मे भएका छन् । विकास बैंक उपसमूह ०.२३ प्रतिशतले बढेको छ ।
यसैगरी, यो दिन सबैभन्दा बढी वित्त उपसमूह १.९६ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा लघुवित्त उपसमूह १.८१ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसमूह १.६८ प्रतिशतले घटेको छ । यसैगरी, निर्जीवन बीमा उपसमूह १.०८ प्रतिशतले घटेको छ ।
यसैगरी, यो दिन सर्वाधिक कमाउने कम्पनीमा बोटलर्स नेपाल तराई लिमिटेड रहेको छ । उक्त कम्पनीको शेयरमूल्य यो दिन ९.०३ प्रतिशतले बढेको छ।त्यस्तै यो दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ८.५२ प्रतिशतले बढेको छ ।
उता यो दिन नै सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.१३ प्रतिशतले बढेको छ ।
यसैगरी, दिब्यश्वरी हाइड्रो पावरको शेयरमूल्य पनि ४.९२ प्रतिशतले बढेको छ । यस्तै, यो दिन पोखरा फाइनान्स र डोल्टी पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।पिपुल्स पावर कम्पनीको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ६.३० प्रतिशतले घटेको छ । त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य चाहिं ५.८७ प्रतिशतले घटेको छ ।
त्यस्तै, यो दिन सर्वाधिक कारोबार सिटीजन्स लाइफ इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कम्पनीले सोमबार नै २६.९८४१ बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । त्यस्तै नेपाल फाइनान्सको १० करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ । उता पोखरा फाइनान्सको भने ९ करोडभन्दा बढीको कारोबार भएको छ ।