सहकारीकै कर्मचारीले नक्कली चेक बनाएर ग्राहकको रकम झिके

झलक दवाडी

झलक दवाडी

Mar 05, 2023 | 05:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका एक महिला कर्मचारीले नक्कली चेक बनाएर ग्राहकको खाताबाट रकम झिकेकी छिन् । धनगढी निवासी लक्ष्मीकुमारी जेठारा थापाको खातामा रहेको ४५ हजार रुपैयाँ सहकारीकी कर्मचारी मञ्जु शाहीले चेक किर्ते गरेर निकालेकी हुन् ।  

घरमा आएर नाम एउटै परेकाले आफ्नो बहिनी लक्ष्मीको पैसा तपाईको खातामा गएको रहेछ भन्दै नक्कली चेक बनाएर रकम निकालेको पीडित लक्ष्मीकुमारीले बताइन् । उनले नक्कली चेकमार्फत पैसा निकालेपछि घरमै आएर यदी बैंकबाट फोन आयो भने मैले आफैँले निकालेको हो भनिदिनु है भनेर भनेको लक्ष्मीकुमारीले बिजपाटीलाई बताइन् । त्यसरी पैसा निकालेको भन्ने वित्तिकै शङ्का लागेर सहकारीमा गएर बुझ्दा ४५ हजार झिकेको फेला परेको पीडित जेठाराले बताइन् । 

जेठारा सहकारीको स्थापना गरेको दिनदेखि शेयर सदस्य रहँदै आएकी थिइन् । श्रीमानको नाममा रहेको खाता श्रीमानको मृत्युपछि उनले आफ्नो नाममा सारेकी थिइन् । सहकारीमा बचत गर्दै केही समयपछि साँवा, ब्याज एकमुस्ट निकाल्ने गर्दै आएकी जेठाराले आफूले चिनेकै र विश्वास गर्दै आएकी सहकारीकै कर्मचारीले आफ्नो खाताबाट रकम गायब बनाएको थाहा पाउँदा उनी झसङ्ग भइन् । 

‘नियमित बचत गर्दै आएकी मैले पोहर सालदेखि मैले सहकारीमा कुनै पनि कारोबार गरेको थिइन’, उनले भनिन्, ‘एक्कासी सोमबार शाहीले आफ्नै घरमा आएर तपाइँको खातामा त एक रुपैयाँ पनि रहेनछ भन्दा म झस्किए’, जेठाराले भनिन् । उनले त्यो समयमा मन्जु शाहीको व्यवहार फरक पाएपछि शङ्का लागेर सहकारीमा गएर हेर्दा रित्तो खाता देखिन् ।

त्यसपछि स्टेटमेन्ट निकाल्न खोज्दा शाहीले मानिनन् । पछि केरकार गरेर एक दिनको मात्रै स्टेटमेन्ट दिइन् । जेठारा चित्त नबुझी कार्यालय प्रमुखमा पुगेपछि बल्ल स्टेटमेन्ट पाएर हेर्दा ४५ हजार पैसा भिकेको पाइयो  । जेठाराले शाहीले नै किर्ते गरेर पैसा निकालेको पाइएको उनले बताइन् ।

घटना बाहिर नल्याउन उनले पीडितलाई धेरै फोन गरेर भेट्न गरेको आग्रहलाई जेठाराले अस्विकार गर्दै घटना छानविनको माग गरिन् । ‘पछि सबै कुरा बाहिर आएपछि किर्ते गरेर निकालेको पैसा फेरि खातामै हालिदिएकी छिन्’, जेठाराले बिजपाटीसँग भनिन् । शाहीले आफूले अनैतिक काम गर्न नखोजेको उल्लेख गर्दै पीडितसँग माफी समेत मागेकी छिन् । ‘गल्ती भयो माफी मागें तपाईंसँग’, जेठारासँग शाहीले माफी मागेको भिडियो बिजपाटीसँग सुरक्षित छ । 

भिडियोमा शाहीले भनेकी छिन्, ‘मैले अनैतिक काम गर्न खोजेको होइन, कुनै नराम्रो व्यवहार देखाएको पनि छैन । आजसम्म दिदीबहिनी जस्तो भएर बसेको थियौँ, यो सहकारीमा काम गर्न लागेको १५ वर्ष भयो कसैले यस्तो आरोप लगाएको थिएन, यो घटना घट्नु रहेछ, मलाइ छाप लाग्नु रहेछ यो संस्थाबाट, मैले माफी मागे तपाइँबाट, कान समाते, अबदेखि म तपाइँहरुको टचमा रहने छैन’, शाहीले माफी मागेको भिडियोमा उल्लेख छ । 

पीडितलाई यसरी गुमराहमा पारिन् शाहीले

शाहीले घरमा आएर जेठारालाई तपाइँसँग गोप्य कुरा गर्नुछ भनिन् । ‘लिक त हुन्न नी, शाहीको प्रश्नमा जेठाराले जवाफ दिइनन्, ‘किन लिक हुनु, हुन्न ।’ ‘बहिनी तपाइँको नाम पनि लक्ष्मी, मेरो बहिनीको नाम पनि लक्ष्मी, त्यसैले मेरो बहिनीको नाममा आएको पैसा तपाइँको खातामा गयो’, शाहीले गुमराहमा पार्दै आफ्नो प्रपञ्च सुनाइन् ।

‘के त्यो पैसा निकाल्न म जानुपर्छ ?’ जेठाराले जिज्ञासा राखिन् । ‘नाई, तपाइँ जानु पर्दैन, मैले कर्मचारीलाई लगाएर निकालेँ, बैंकबाट फोन आयो भने चार्हीँ मेरो पैसा हो निकालेँ भनिदिनु है’, शाहीले थामथुम पार्न कोशिष गर्दै भनिन्, ‘यो कुरा बाहिर नजाओस् है ।’

शाही निलम्बित

हिमशिखर सहकारीका प्रबन्ध निर्देशक महेन्द्र शाहीले सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गर्दै किर्ते गरेर ग्राहकको रकम चोरी गरेको थाहा पाउन साथ शाहीलाई निलम्बन गरेको बताए । 

‘कर्मचारीले बदमासी गरेको थाहा पाउने वित्तिकै सञ्चालक समितिको बैठक बसेरै उनलाई (मन्जु शाही ) निलम्बन गरेका छौँ, पीडित सदस्यले दिएको उजुरीका आधारमा छानबिन समिति गठन गरेर अनुसन्धानसमेत अगाडि बढाइसकेका छौँ’, उनले भने, ‘संस्थाकै कर्मचारीले यस्तो हर्कत गर्नु दुःखको हो ।’ प्रबन्धक शाहीले कर्मचारीसँग बजान लिएको र पीडित महिलासँग भने सोमबार सोधनपुछ गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved