'जग्गा दलाललाई पैसा मिलाईदिने ठाउँ बने सहकारी, कित्ताकाँट रोकिएपछि समस्याग्रस्त'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 09:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सरोकारवालाहरुले सहकारीहरु जग्गा दलाललाई पैसा मिलाईदिने ठाउँ बनेको र जग्गाको कित्ताकाँट रोकिएपछि समस्याग्रस्त बनेको निष्कर्ष निकालेका छन् । सहकारीका सञ्चालकहरुले सदस्यहरुबाट संकलन भएको रकम जग्गामा लगाउने र छोटो समयमा नै बढी नाफा कमाउने प्रवृतिले सहकारी संस्थाहरु समस्यामा परेको सरोकारवालाहरुले उल्लेख गरेका हुन्।

 बुधबारदेखि काठमाडौँमा सुरु सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीमा भनाई राखेका वक्ताहरुले सहकारीका सञ्चालकहरुले सदस्यहरुबाट लिएको बचत धमाधम जग्गामा लगाएको कारण सहकारी क्षेत्रमा समस्या आएको उल्लेख गरेका हुन्। सहकारीमा बचतको रुपमा आएको पैसा घरजग्गा लगानी भएको र पछिल्लो समय देशका अधिकाशं जिल्लाहरुमा कित्ताकाटा रोकिदा समस्या परेको वक्ताहरुले संकेत गरेका हुन्।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अहिलेसम्म समस्या ग्रस्त भएका सबै सहकारीको लगानी जग्गामा भएको दाबी गरे। ‘अधिकाशं सहकारी संस्थाले घरघडेरीमा लगानी गरेका छन्।’ उनले भने, ‘ऋणी सदस्यले मात्रै होईन कतिपय सहकारी आफैले घरघडेरीमा लगानी गरेका छन्।’ 

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा अहिले पनि समस्या नभएको बताए। रजिष्ट्रार घिमिरेले सहकारीको नाममा अरु नै संस्थाले सहकारीको बदनाम गरेको बताए। देशैभरी सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौँ बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल गर्न खोलिएका सहकारी कम्पनीले गर्दा समग्र सहकारी उद्योगमा नै समस्या आएको उनको भनाई छ।

उनको यो भनाईले घरजग्गाको कारोबार गर्न सदस्यबाट पैसा उठाउने उद्देश्य अनुसार नै कतिपयले सहकारी सञ्चालनमा ल्याएको शंका गर्न सकिन्छ। ‘अहिले जतिपनि सहकारीमा समस्या आयो भनिएको छ, प्रहरीले नियन्त्रणमा लिएका छन्। त्यी सबै सहकारीको नाममा अरु काम गरेका संस्था हुन्।’ उनले भने, ‘आफ्नो अनुकुल लगानी गर्न खोलिएका र सोही अनुसार चलेका सहकारी समस्यामा परेका हुन्।’

त्यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले सहकारीको पैसा घर, जग्गा र शेयर बजारमा लगानी भएको हुँदा समस्या बढ्दै गएको  टिप्पणी गरे। अहिले घरजग्गा र सेयर बजारमा आएको गिरावटको कारण सहकारीमा पनि समस्या देखिएको वक्ताहरुको भनाई छ। 

सहकारीका सञ्चालकहरुले संस्थाबाट लिएको साँवा ब्याज उठाउन नै गाह्रो पर्ने गरको गुनासो सहकारीका सीइओहरुले गरेका छन्। नेपाल बचत तथा ऋण सहकारी संघ(नेफ्स्कुन) का सीईओ प्रकाश प्रशाद पोखरेलले अन्य ऋणी सदस्यको तुलनामा सञ्चालकहरुले लिएको साँवा व्याज असुलि गर्न गाह्रो भएको गुनासो गरे । साँवा व्याज नउठेर समस्यामा परेका अधिकासं सहकारीमा ऋणीहरु सञ्चालक भएको पाईएको एक सहकारीका सीईओले बताए । उनले भने, ‘कर्जा असुलि नभएर समस्यामा परेका केही सहकारी हेर्दा ऋणीहरु सञ्चालक नै भएको पाईयो।’ 

उनले सहकारीमा सबै सदस्यहरुको नियन्त्रण अर्थात आपसी समझदारी हुनुपर्ने भएपनि  अधिकांश सहकारीका सदस्यलाई अहिले व्यवस्थापक तथा सञ्चालकहरुको बारेमा थाहा नै नहुने समेत बताए। यो प्रवृति सहकारीका लागि शोभनिय नहुने उनको तर्क छ। सदस्यहरुबाटै व्यवस्थापक तथा सञ्चालक हुने हुँदा सदस्य र नेतृत्वबीच प्रत्यक्ष सम्बन्ध हुनुपर्ने भएपनि अहिले त्यस्तो पाईदैन। यसको मुख्य कारण केही सहकारीका सञ्चालकहरु सदस्यबाट रकम ल्याउने र आफुलाग्नी लगानी गर्ने उद्देश्यमा निहित देखिएको उनको भनाई छ। 

सञ्चालकहरुकै यस्ता किसिमका बदमासिका कारण पछिल्ला दिनहरुमा नियामक निकाय स्थानीय, प्रदेश तथा केन्द्र सरकारले सहकारीका गतिविधिलाई नजिकबाट नियाल्न थालेका छन्। जसले गर्दा ललितपुर महानगरपालिकाले गत हप्तामात्रै केही संख्यामा सहकारी खारेज गरेको थियो भने काठमाडौँ महानगर पालिकाले पनि केही सहकारीलाई प्रहरी समक्ष कारबाहिका लागि पठाएको छ भने केही सहकारीका समस्यालाई समाधान गर्न अध्ययन नै गरिरहेको छ। 

देशव्यापी रुपमा सहकारीमा समस्या देखिएको छ, समस्या देखिएका अधिकांश संस्थामा सञ्चालकहरुले नै सदस्यको बचत हिनामिना गरि फिर्ता नदिएको पाईएको सरोकारवाला बताउछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved