सञ्चालककै कारण बदनामी कमाउँदै सहकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 01:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्देश्य अनुसार चल्न नसक्दा सहकारी क्षेत्र नागरिकको जीवनस्तर उकास्न सहयोग पुर्याउनुभन्दा बढी बदनामी कमाउन पुगेको छ ।  बचतकर्ताको रकम सञ्चालकहरुले नै प्रयोग गर्ने र समयमै दाखिला नगर्ने गलत प्रवृत्ति झाङ्गिँदै जाँदा कतिपय सहकारी संस्थामाथि ‘बदमासी’को विल्ला भिराइएको छ । 

केही सहकारीले राम्रै काम गरे पनि धेरै सहकारीका सञ्चालकहरुले सहकारीलाई आफू अनुकुल डोर्याउन खोज्दा राम्रो काम ओझेलमा परिरहेको छ । अझ भन्ने हो भने सहकारीले अनुत्पादक क्षेत्र (घर जग्गा) मा बढाउँदा त्यसले प्रतिफल दिनुको साटो सहकारीमाथि नै प्रश्न उठाइदिएको छ । 

यस क्षेत्रका जानकारहरु सञ्चालकको दबदबा र अनुत्पादक क्षेत्रको लगानीले केही सहकारीहरु समस्याबाट बाहिर आउन सकिरहेका छैनन् । 

बुधबारबाट काठमाडौँमा शुरु बचत तथा ऋण सहकारीका व्यवस्थापकहरुको राष्ट्रिय सम्मेलनमा विज्ञ तथा यस क्षेत्रका प्रतिनिधिहरुले सञ्चालकहरुको छोटो समयमा बढी नाफा कमाउने प्रवृतिले सदस्यहरुबाट सङ्कलित रकम जग्गामा लगानी गरेको पाइएकाले त्यसलाई निरुत्साहित गर्न सुझाएका छन् ।

उक्त विषयलगायत सामुन्य देखिएका समस्याबारे यस सम्मेलनमा व्यवस्थापकहरुले गम्भिर मन्थन थालेका छन् । 

घरजग्गामा पैसा फसिरहेका बेला कित्ता काट नै रोकिएपछि कारोबार नै ठप्प बन्न पुग्दा वित्तीय क्षेत्र नै प्रभावित भइरहेको छ । त्यसले जग्गामा लगानी भएको पैसा चल्न पाएन र अन्य वित्तीय संस्थासँगै सहकारीमाथि पनि सङ्कट पैदा भएको हो ।

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडी भन्छन्, ‘अधिकांश सहकारी संस्थाले घर–घडेरीमा लगानी गरेका छन्, ऋणी सदस्यले मात्रै होइन कतिपय सहकारी आफैँले घर घडेरीमा लगानी गरेका देखिए, त्यसैले समस्या पारिदियो ।’ 

देशैभरी सेवा केन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौँ बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल गर्न खोलिएका सहकारी संस्थाले गर्दा समग्र सहकारी उद्योगमा नै समस्या आएको हो ।  यसरी खोलिने सहकारीमा मुख्य सञ्चालकहरुको स्वार्थ जोडिएको हुन्छ । 

सहकारी विभागका रजिष्टार नमराज घिमिरेको भनाइमा नाम सहकारी तर काम अर्कै गर्नेले सहकारी कै बदनाम हुन पुगेको छ । ‘अहिले जति पनि सहकारीमा समस्या आयो भनिएको छ, प्रहरीले नियन्त्रणमा ल्याएका छन्, त्यी सबै सहकारीको नाममा अरु काम गरेका संस्था हुन्’, उनले भने, ‘आफ्नो अनुकुल लगानी गर्न खोलिएका र सोही अनुसार चलेका सहकारी समस्यामा परेका हुन् ।’

सहकारीका सिइओहरु सञ्चालकहरुले संस्थाबाट लिएको सावाँ ब्याज उठाउन गारो हुने गुनासो गर्छन् । एक सिइओले भने, ‘कर्जा असुली नभएर समस्यामा परेका केही सहकारी हेर्दा ऋणीहरु सञ्चालक नै भएको पाइयो ।’ 

नेपाल बचत तथा ऋण सहकारी सङ्घ (नेफ्स्कुन) का सीइओ प्रकाशप्रसाद पोखरेलले अन्य ऋणी सदस्यको तुलनामा सञ्चालकहरुले लिएको सावाँ व्याज असुल गर्न गाह्रो हुने गरेको सम्मेलनमै खुलाए । सहकारीले बदनामी कमाउनमा स्वयं सञ्चालक उद्दत रहेको पोखरेलको भनाइले पुष्टी गर्छ । 

नेपाल राष्ट्र बैंकको निष्कर्ष पनि सहकारीहरु अनुत्पादक क्षेत्रमा जानु रहेको छ । सहकारीको पैसा घर, जग्गा र शेयर बजारमा लगानी हुँदा समस्या बढ्दै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको भनाइ छ । 

सहकारीमा सबै सदस्यहरुको नियन्त्रण अर्थात आपसी समझदारी हुनुपर्छ ।  अधिकांश सहकारीका सदस्यलाई व्यवस्थापक तथा सञ्चालकहरुको बारेमा थाहा हुँदैन । यो प्रवृति सहकारीका लागि शोभनीय हुँदै होइन । सहकारीका सञ्चालकहरु सदस्यबाट रकम ल्याउने र आफ्नो अनूकुलमा लगानी गर्ने उद्देश्यको निहित स्वार्थले त्यो अबस्था आएको हो । 

सञ्चालकहरु नै उद्देश्य भनद बाहिर गएर लगानी गर्न थालेपछि नियामक निकाय स्थानीय, प्रदेश तथा केन्द्र सरकारले सहकारीका गतिविधिलाई निगरानी गर्न थालेको छ । 

ललितपुर महानगरपालिकाले गत हप्तामात्रै केही सङ्ख्यामा सहकारी खारेज गरेको थियो भने काठमाडौँ महानगरपालिकाले पनि केही सहकारीलाई प्रहरी समक्ष कारबाहीका लागि पठाएको छ । केही सहकारीका बारेमा अध्ययन भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved