कता पुग्यो मञ्जुसहित डामिएका ‘हाइ प्रोफाइल’तर्फको अनुसन्धान ? यी हुन् फरारहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 06:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिहरुका विषयमा नेपाल प्रहरी र सरकारले अनुसन्धान तिब्र पारिएको र संलग्न रहेका कोही पनि व्यक्ति नछुट्ने बताइरहेका बेला घटनाक्रमले भने अलिकति फरक मोड लिएको तथ्यहरु बहिरिएका छन् ।

उक्त प्रकरणमा राजनीतिक नेतृत्व नै आफ्ना व्यक्तिहरुको संरक्षणमा बाहिरी र भित्रीरुपबाट सक्रिउ भएर लागिरहेका छन् भने घटनालाई कसरी ट्वीष्ट गर्न सकिन्छ भनेर लाग्ने राजनीतिक समूह पनि सक्रिय भएका देखिएको छ ।

नागरिकस्तरबाट भने घटनाका दोषी पक्राउ गर्न कुनै कसर बाँकी राख्न नहुने भनी दवाव आइरहेको छ । मिडियामा सार्वजनिक समाचारहरुका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै आफ्नालाई जोगाउने खेलमा लागेका छन् ।

यता नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघि पक्राउ पूर्जी जारी गरिएका आफ्ना सचिव टोपबहादुर रायमाझीका पक्षमा खुलेरै वकालत गरेका थिए । यद्यपि पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनी गलेका भए पनि अझै घुमाउरो पाराबाट आफ्ना नेता कर्यकर्ताहरु जोगाउनेतर्फ उद्दत नै देखिएका छन् । प्रहरी श्रोतबाट प्राप्त जानकारी अनुसार टोपबहादुर रायमाझीको खोजीमा अनुसन्धानमा सिआइवी टोलीसमेत परिचालित छ ।

उक्त घटनाका पीडितले २०७८ जेठमा उजुरी दिए पनि प्रहरीले १० महिनापछि २०७८ चैतमा मात्रै गिरोहको एक समूहलाई पक्राउ गर्न सफल भएपछि घटना सरकारी अधिकारी र नेताकै संलग्नतामा योजनाबद्धरुपमा भएको खुलेको हो ।

उक्त घटनाको विषय अख्तियारसम्म पनि पुगेको थियो । करोडौँको चलखेल भएको भन्दै अख्तियारमा उजुरी दर्ता प्रयास भएको थियो । तत्कालिन गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राईसँग तपाईकै नाम तोकेर यसरी पैसा असुल भएको भनी परेको भनी उजुर पुगेको थियो ।

तर राईले थामथुम पारेर पठाइदिएका बताइन्छ । त्यहाँबाट अनुसन्धान अघि बढ्न नसकेपछि पीडितहरु महानगरीय अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए । घटनामा ८०० जति पीडित भएको बताइएपनि १०६ जनाले मात्रै जाहेरी दिएका छन् । उनीहरुको जाहेरीमा २३ करोड २५ लाख ठगी भएको उल्लेख छ । 

यसकारण मञ्जु र आरजूलाई चोखो मान्न सकिन्न

यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु र काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले साँढे ८ करोड लिएको भनी सार्वजनिक भएको अडियो प्रकरणले उनीहरु अनुसन्धानको घेरामा पर्नुपर्ने स्पष्ट छ ।

मञ्जु भने प्रहरीले पक्राउ गर्ने डरले संसदको शुन्य समयमा बोल्न नाम टिपाएर पनि सम्पर्कविहीन भएकी छिन् भने आरजू अझै प्रतिवादमै उत्रिरहेकी छिन् ।

उनले साइबर व्यूरोमा फेक अडियो बनाएर सार्वजनिक गरेको भन्दै उजुरी नै दिएकी छिन् । मिडियाहरमा आएर आफू त्यसघटनामा कुनै संलग्न नभएको भन्दै चोखो भएको दावी पेश गरिरहेकी छिन् । 

प्रहरी श्रोतका अनुसार उनीहरुमाथिको बलियो प्रमाणको खोजीमा प्रहरी लागिरहेकै छ । यद्यपि अब प्रहरीले खोजी सूचिमा रहेकाहरुमा मात्रै अनुसन्धान केन्द्रित पार्ने हो की भन्ने आशंका देखिएको छ । 

बादल, न्यौपाने र राई छुटाए अपुरो हुनेछ प्रहरीको अनुसन्धान

बीचपाटीले यसअघि लेखेको समाचारमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनलाई गृहमा ल्याउने पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि अनुसन्धान गर्नैपर्ने दावी पेश गरेकोे केही दिनमा खाँण पक्राउ परेका थिए । किनकी पाण्डे २०७८ साल साउन २७ देखि २०७९ असोज २ सम्म गृहसचिव बनेर बसेका थिए । उनलाई सचिवका रुपमा ल्याउने खाँण विसं २०७८ साल असार २९ देखि २०७९ साल पुस ११ सम्म गृहमन्त्री भएका थिए । 

नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको हकमा पनि त्यही अबस्था हो । खाँड अघि बादल गृहमन्त्री थिए । उनी विसं २०७४ फागुन ११ देखि २०७८ असार २८ सम्म लामो समय गृहमन्त्री भए । त्यही बेला हाल प्रहरी हिरासतमा रहेका ईन्द्रजीत राई सुरक्षा सल्लाहकार नियुक्त भएका थिए । 

त्यहीबेला राईले रकम लेनदेन गरेको आरोप छ । त्यसो त गृहमन्त्रीका छोरा प्रतिक पनि घटनामा मुछिएका छन् । उनलाई पक्राउ पूर्जी नै जारी भइसक्यो । यसअघि नै राईका छोरा नीरजमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । त्यसकारण पनि अर्का तत्कालिन गृहमन्त्री बादलमाथि पनि अनुसन्धान जरुरी छ । 

तत्कालिन गृहसचिव पाण्डे गृहमा जानु अघि महेश्वर न्यौपाने गृहसचिव थिए । न्यौपानेले निक्कै लामो समय २०७६ माघ २१ देखि २०७८ असार २७ सम्म गृह मन्त्रालय सम्हालेका थिए । त्यसबेला गृहमन्त्री रामबहादुर थापा बादल नै थिए । न्यौपाने आउनु अघि बादलले अर्का तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई पनि गृहसचिवका रुपमा वेहोरे । बालकृष्ण खाँणले भने न्यौपानेलाई हटाएर पाण्डेलाई सचिवका रुपमा ल्याएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि यही घटनाक्रमको समयमा गृह सचिव भएर बसेका थिए । उनले विसं २०७४ साल चैत २६ देखि २०७६ माघ २० सम्म गृहसचिव भएर बसे । यो घटनाको शुरुवात यही समय २०७६को शुरुवातबाटै भएको बताइन्छ । त्यही बेला नै कार्यदल बनाए रकाम अघि बढाइएको थियो । २०७७ पछि भने सङ्गठित रुपमै पैसा असुलीको समेत काम भएको थियो । त्यसैले पनि राई र न्यौपानेलार्इ अनुसन्धान गर्नबाट अलग राख्न सकिन्न ।

 यी हुन् फरार सूचीमा परेकाहरु 

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझी र पक्राउ परेका डा राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ । 

घटनामा मुछिएपछि प्रहरीले पछिल्लो २ दिनमा थप दुई जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालिन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक र कांग्रेसका नेता पूर्वसभासद आङ्टावा शेर्पा रहेका छन् । रायमाझी भारत पुगेको सूचना प्राप्त भएपछि सिआइवीको एक टोली त्यसतर्फ गएको प्रहरी श्रोतको दावी छ । 

पूर्वगृहमन्त्री र सचिवसहित १२ जना थप चार दिन हिरासतमा 

नक्कली भुटानी शरणार्थी प्रकरणको सङ्गठित ठगीमा मुछिएका १२ जनामाथि अनुसन्धान गर्न काठमाडौँ प्रहरीले चार दिनको म्याद पाएको छ । 

आज पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनालाई अदालतमा पेश गरिएकोमा सबैलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ । 

परिसरका प्रहरी उपरीक्षक सिताराम रिजालले सङ्गठित अपराधमा अनुसन्धान भइरहेकाले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार रहेको उल्लेख गर्दै आज म्याद थपका लागि पेश गरिएकामा ४ दिनमो म्याद प्राप्त भएको बताए । अबको चार दिनमा करिबकरिब अनुसन्धान सक्ने तयारी प्रहरीको छ । 

यस घटनाको अनुसन्धानमा प्रहरीले ५१ दिन खर्चिसकेकाले अब उसका सामु ९ दिनमात्रै अनुसन्धानको समय बाँकी छ । त्यसपछि सरकारी वकीलको कार्यालयलाई प्रतिवेदन बुझाउने छ भने सरकारी वकीलले मुद्दा दर्ता गर्नेछ । 

उक्त घटनामा जोडिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी वैशाख २७ गते र तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई वैशाख १९ गते  र बहालवाला सचिव (तत्कालिन गृहसचिव) टेकनारायण पाण्डे वैशाख २० गते पक्राउ परेका थिए । 

यस्तै यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरिएको थियो । यसअघि प्रहरीले उक्त घटनाका मुख्य गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved