खाँण र रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणबाट छुटकारा पाउने सम्भावना न्युन !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 12:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र नेकपा (एमाले) का निलम्बित सचिव तथा पूर्व उउप्रधान एबं उर्जामन्त्री टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणको सङ्गठित ठगी सम्बन्धमा लागेको आरोपमाथि अहिले छानबिन भइरहेको छ । 

उनीहरु अहिले प्रहरी हिरासतमा छन् । अर्थमन्त्रीसमेत रहेका काँग्रेस प्रवक्ता प्रकाशशरण महतले उक्त घटनामा मिडिया ट्रायल भइरहेको र घटनामा संलग्न भएका खाँणले आफू निर्दोश सावित गर्ने जिकिर लिएकाले उनलाई निलम्बन नगरिएको सार्वजनिक अभिव्यक्ति दिएर पार्टीको लज्जालाई ढाक्न खोजिए पनि त्यसबाट प्रहरीको स्वतन्त्र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको स्पष्ट छ । 

तर बीजपाटीमा प्राप्त सूचनाअनुसार प्रारम्भिक बयानका आधारमा भन्ने हो भने उनी र पक्राउ परेका टोपबहादुर रायमाझी उक्त आरोपबाट छुटकारा पाउने सम्भावन अत्यन्त न्युन देखिएको छ । शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय एक अधिकारीले पूर्वमन्त्रीहरुले जसरी घटनाक्रमलाई मोड्न खोजे पनि र सूचनाहरुलाई लुकाउन खोजे पनि अन्य आरोपीका बयान, प्रहरीसँगको तथ्य र प्रमाण तथा गिरोहसँगको सम्पर्क सञ्जाल र उनीहरुको आफ्नै बयानले आरोप पुष्टी गर्ने आधारहरु प्रशस्त देखिने बिजपाटीलाई बताए । 

उक्त घटनामा पूर्वगृहमन्त्री खाँडलाई नक्कली काममा नीतिगत सहयोग गरेको र अन्य व्यक्तिमार्फत रकम लेनदेन गरेको आरोप छ भने रायमाझीलाई गिरोह मन्त्रालयसम्म जोड्न आवश्यक सहयोग गरेको आरोप छ । उनको छोरामार्फत रकम लेनदेन भएको तथ्यसमेत प्रहरीले फेला पारेको छ । रायमाझीले अञ्जानबस गिरोहलाई सहयोग गरेको सार्वजनिक गरिसकेका छन् ।

उक्त घटनामा मुछिएपछि वैशाख २७ गते र रायमाझी वैशाख ३१ गते पक्राउ परेका थिए । जिल्ला सरकारी वकीलको कार्यालयले उनीहरुसँग बयान लिइसकेको छ । उक्त घटनामा मन्त्रीद्धय र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १४ जना पक्राउ परेका छन् । उनीहरुमाथिको अनुसन्धान करिबकरिब अन्तिम चरणमा पुगेको छ ।

शरणार्थी प्रकरणमा उनीहरु यसरी जोडिए 

 नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने योजना बुन्ने मुख्य व्यक्ति मोरङ घर भइ ललितपुर बस्ने केशव दुलाल हुन् । उनी विसं २०६६, २०६७ मा सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा स्वकीय सचिव थिए । त्यही बेला नै उनले शरणार्थीको प्रशासनिक कामबारे जानकारी लिएका थिए । 

प्रमाणिकरणमा छुटेका शरणार्थीलाई पुन प्रमाणिकरण गरेर अमेरिका पठाउने कुरा थाहा पाएपछि उनने नक्कली व्यत्तिm खडा गरेर पैसा कमाउने योजना बनाए । त्यसपछि ललितपुरकै सानु भण्डारीसँग छलफल गरे । उनीहरुबीच यसका लागि गृह मन्त्रालयको सहयोग चाहिने निष्कर्ष बन्यो । त्यसपछि उनीहरु गृहका अधिकारीको सम्पर्कमा पुगेका थिए । 

उनीहरु टोपबहादुरमार्फत तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईको पहुँचमा पुगेका थिए । यो बीचमा गिरोहहरुले अरु पनि एजेन्ट तयार पार्दै शरणार्थी बन्नेको खोजीमा परिचालन भएका थिए । 

यो कुरा राइमार्फत तत्कालिन गृहमन्त्री थापामा पुगेको थियो । थापाले ग्रिन सिग्नल दिएपछि काम अघि बढेको र शरणार्थी बन्नेहरुबाट १५ देखि ४० लाखसम् असुलेर रकम उच्च तहका अधिकारीहरुमा पुर्याउने काम भएको थियो । 

रकम वितरण भइसकेपछि गृहमन्त्री थापा मन्त्रीबाट बाहिरिएपछि प्रक्रिया ठप्प भयो । पैसा बुझाएकाहरु शशङ्कित भए । उनीहरुले गिरोहसँग पैसा फिर्ता मागेको अनुससन्धानमा खटिएका एक प्रहरी अधिकृत बतउँछन् । उच्च तहमा पैसा बुझाइसकेकाले फिर्ता नहुने गिरोहले बताएपछि पीडितहरु अख्तियार र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए । 

त्यसको कपि गृहमासमेत पुगेपछि तत्कालिन गृहसचिव टेकनारायण पाण्डेको सम्पर्क गिरोहसँग भयो पैसाको लोभमा पाण्डेले प्रक्रिया अघि बढाउन सहमति जनाए । उनले त्यसबेलाका गृहमन्त्री बालकृष्ण खाँणलाई पनि पैसा दिनुपर्ने सुनाएका थिए । गिरोहहरु सहमत भए । 

त्यसबेला पैसा लेनदेनमा गृहसचिव आफैँ र खाँडका स्वकीय नेरेन्द्र केसी परिचालित भएका अनुसन्धान अधिकारीहरु बताउँछन् । उनकै पालामा सरकारी लोगो र कागजात दुरुपयोग गरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको थियो । अनि पाण्डेले आथिृक लाभ लिएका बताइन्छ ।

आरोपी सानु भण्डारीले गृहमन्त्री खाँण र पाण्डेलाई एक करोड २५ लाख बुझाएको बयान दिएका एक प्रहरी अधिकृतले बताए । यता राईले आफ्ना छोरा निरजको प्रयोग गरेर काठमाडौँका विभिन्न होटलमा पुगी साँढे ५ करोड बुझेका अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उता रायमाझीका छोरा सन्दीपले पनि त्यसैगरी पैसा बुझेका थिए । गिरोहले सन्दीपको नाममा काटेको डेढ करोडको चेक प्रहरीले बरामद पनि गरिसकेको छ । उक्त प्रकरणको सहयोगी भूमिका खेल्नेमा रायमाझी देखिएका छन् । 

उनी केशव दुलालसहितका गिरोहसँग हेलिकप्टरमा विभिन्न ठाउँमा घुमेको फोटो नै सार्वजनिक भएको थियो । रायमाझीले पनि आफूले त्यो समूहलाई नजानेर सहयोग गरेको सार्वजनिक गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved