मूर्तिकला रामबहादुरको जीउने आधार : पैसाकै लागि परदेश जानुनपर्ने गतिलो उदाहरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2023 | 08:21:28 PM मा प्रकाशित

nepal oil ltd

शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन। सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो । 

“विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भने, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनि बताउँछन्। “काम गर्न भ्याइ नभ्याइ छ,” उनले भने, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।”

मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्ट बताउँछन्। घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई पछुतो छैन । 

“उच्च शिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,” बिष्टले भने, “मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिए, अहिले यही पेशा प्यारो लागेको छ, पढाई पूरा गर्न नसकेको पछुतो छैन ।”

नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको बिष्टले बताए। मूर्ति बनाउने तालिम भने उनले लिएका छैनन्। अरुले बनाएका मूर्ति हेर्दै सिक्दै गएको उनको  भनाइ रहेको छ । 

“काम गर्दै जाँदा सीप निर्खादै गए, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्न भए,” बिष्टले भने। आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको बिष्टले बताए ।” काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको कार्य गरेवापत रु दुई हजार पाँच सयप्रति वर्गफिटका दरले उनले ज्याला लिन्छन।

बिष्टले मूर्ति बनाउनका लागि रु १० हजारदेखि रु ८० हजारसम्म रकम लिन्छन । “मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,” उनले भने, “हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।” सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उहाँले प्रशिक्षण पनि दिँदै आएका छन्। 

मूर्ति बनाउने कार्यबाट आएको रकमले बिष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेशाबाट आएको रकमले उनले घरघरेडी पनि जोडेका छन्। 

बिष्ट भन्छन, “यस पेशालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु ।” पैशाकै लागि विदेशिने युवालाई उनि स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिन्छन।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved