व्यवसायीको ब्याजदर विरोधी आन्दोलन र बैंकको पेल्ने नीति दुबै गलत : डा. गान्धी पण्डित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 07:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले उद्योगी व्यवसायीहरुको ब्याजदर विरोधी आन्दोलन र बैंकको पेल्ने नीति दुबै गलत भएको बताएका छन् । 

बैंकहरुले धितो लिलामीमा मात्रै केन्द्रित नभइ उद्यम व्यवसायमा भएको लगानी क्यास (नगद) मै फिर्ता लिने वातावरण खोज्नुपर्ने उनको भनाइ छ ।

प्राडा गान्धीलाई बिजपाटी डटकमसँगको कुराकानीमा अचल सम्पत्ति लिलामी गरेर बैंक तथा वित्तीय संस्थाले ‘नन् पर्फमेन्स एसेट’ थुपार्न नहुने सुझाव दिएका छन् ।

प्रणालीमा लगानीयोग्य रकम नहुँदा तरलता सङ्कट टार्न बैंकहरुले प्रणालीमा पैसा आउँछ की भनेर निक्षेपमा बढी ब्याज दिइरहेको र त्यस्तो पैसा लगानी गर्नुपर्दा कर्जाको ब्याज पनि बढिरहेको पाडा पण्डितको भनाइ छ । उनले विगतमा ८/९ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज अहिले दोब्बर भएकाले विगतको योजना अनुसारको रकमले नपुग्ने हुँदा अहिले उद्योगी व्यवसायीहरु मर्कामै रहेको पनि प्रष्ट्याए ।

‘बजारमा पैसा आओस् भनेर बचतमा धेरै ब्याज घोषणा गर्नु परेको छ, यसरी नै भए पनि थोरैथोरै पैसा आएको छ, यो पैसा फेरि कर्जाका रुपमा लगानी हुँदा निक्षेप लिँदा दिएको ब्याजको तुलनामा केही प्रतिशत बढी त ब्याज लाग्ने नै भयो’ प्राडा पण्डितले स्पष्ट पार्दै भने, ‘बैंकहरुको खर्च बढेकाले बेस रेट बढेको छ, बेस रेट नै बढेपछि विगतमा लिएको कर्जाको पनि ब्याज बढ्ने भयो ।’

‘पुरानो कर्जाको पनि ब्याज बढेकाले हिजो १ सय तिर्ने गरी कसैले योजना बनाएर कर्जा लिएको थियो भने अब २ सय चाहिने भयो । २ सय कमाइ हुने ठाउँ छैन । व्यापार छैन । व्यापार नभएपछि आम्दानी छैन । आम्दानी नभएपछि बैंकको किस्ता तिर्न सकेको छैन । फेरि बैंकसँगै थप वर्किङ क्यापिटल चाहियो भन्नु परिरहेको छ, पूरानै पैसा नउठेपछि वर्किङ क्यापिटल थप्न बैंकहरुले सक्ने अवस्था छैन । यसरी समस्या भइरहेको छ’, उनले थपे ।

यसको असर साना ठूला सबै उद्योगी व्यवसायीदेखि उपभोक्तासम्म परेको उनको बुझाइ छ । यस्तो बेलामा व्यवसायी र बैंकहरु संयमित हुन नसके बजारमा पैसा नहुने र बैंकहरुसँग पनि लिलामी गरेको धितो (नन् पर्फमेन्स एसेट) मात्रै हुने जोखिम रहेको रहेको उनले बताए । लिलामीको सम्पत्तिको कुनै मूल्याङ्कन पनि नहुने र चाहिएको बेलामा बिक्री पनि नहुने भएकाले यो क्रम बढ्दा बैंकिङ प्रणाली र अर्थतन्त्र नै दुर्घटना पर्ने जोखिम बढी हुने उनको भनाइ छ ।

‘धितो लिलामी गर्दै गएपछि बैंकहरुसँग घर, जग्गा मात्रै हुन्छ । यस्तो सम्पत्ति चाहिएको बेलामा बिक्री हुँदैन, अहिलेको अर्थतन्त्र खराब अवस्थामा रहेका बेला किन्ने व्यक्ति र संस्था पनि भेटिदैनन्’, उनी थप्छन्, ‘उता निक्षेप लिन निक्षेपकर्ताहरु आइरहेका हुन्छन्, यता बैंकहरुको नन् पर्फमेन्स एसेट सेल भएको हुँदैन । यस्तो अवस्था आउन सक्छ । धितो लिलामी गर्दैमा आफू सुरक्षित हुन्छु भनेर बैंकहरुले पनि सोच्नु भएन ।’

उनले बजारमा नगद प्रवाहमै ‘ब्रेक’ लाग्ने गरी धितो लिलामीमा केन्द्रित नहुन पनि बैंकहरुलाई सुझाएका छन् । ‘एकाध सम्पत्ति लिलामी हुनु समस्या होइन, कर्जा असुलीका लागि गर्नुपर्छ ’, उनले भने, ‘सयौँ ऋणीहरुको सम्पत्ति लिलामी गर्दै जाँदा नगद प्रवाहमा नै ब्रेक लाग्छ ।

प्राडा पण्डितले राष्ट्र बैंकले लिलामीलाई घटाउने र रोक्ने गरी नीतिगत सुधार गर्नुपर्ने पनि सुझाव दिएका छन् । ‘भविष्यमा समस्या आउन सक्छ भन्न खोजेको मैले, लिलामी गर्दागर्दै सबै बैंकसँग जग्गा मात्रै हुने स्थिती नआओस्’, उनले थपे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved