ऋणको भारी बोकेर पलायन भए भाडामा व्यवसाय गर्नेहरु, काठमाडौँका सटरमा बग्रेल्ती ‘टु–लेट’का पर्चा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2023 | 04:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बसुन्धरामा सिन्धुपाल्चोकका कपडा व्यवसायीले सटर छाडेर हिंडेपछि घरभेटी महेन्द्र श्रेष्ठले गत माघमै ‘सटर भाडामा’ लेखेर एउटा पर्चा टाँसे । 

आफू नहुँदा मान्छे आइहाले भने सम्पर्क गर्नसक्ने ठानेर उनले नम्बर पनि सार्वजनिक गरे । वैशाख लाग्न लागिसक्यो त्यो सटर उघार्ने मान्छे अहिलेसम्म फेला पारेका छैनन् । सटर अघि आएर कोही मान्छे ठिङ्ग उभियो भने पनि भाडामा लिन आएका हुन् की झैँ लाग्छ र हौसिन्छन्, फोनको घण्टी बजिहाल्छ की भनेर गोजीबाट मोबाइल निकाल्न थाल्छन् । जब उभिएको मान्छे गन्तव्यतर्फ लाग्छ, अनि उनको अनुहारमा बादल मडारिन्छ र ओइलिन्छन् ।

भाडामा लिनेहरुको पीडा र बाध्यता पनि घरभेटीको भन्दा कम छैन । सिन्धुपाल्चोक फर्किएका ती कपडा व्यवसायी नजिकैका दुई सहकारीमा एक सय, दुइ सय रुपैयाँ बचत गर्थे । डेढ लाख बचत रकम सहकारीले फिर्ता दिन नसकेपछि उनले पसल नै छाडेर हिडेका उनलाई चिन्नेहरु बताउँछन् ।

बसुन्धरामै खाजा घर चलाउने तेह्रथुमकी लिम्बु थरकी महिलाले पनि सटर भाडा तिर्न सकेकी छैनन् । भाडा तिर्न नसकेकै कारण उनी अर्को सस्तो सटरमा सरिन्, त्यहाँ पनि व्यापार छैन । व्यापार नभएपछि सहकारीमा राखेको ३० हजार रुपैयाँ झिकेर बालबच्चाको शैक्षिक सत्रको अन्तिम परीक्षा शुल्क बुझाइन् । बाँकी बचत फिर्ता पाउन सकिनन् । ऋण देउ न त भन्दा पनि सहकारीले ऋण दिनु त परैको कुरा, उल्टै ‘फिक्स डिपोजिट’ माग्न थालेका छन् । 

यस्ता उदाहरण काठमाडौँमा धेरै छन् । ठाउँठाउँमा टु–लेट वा सटर भाडामा लेखेर सटर बन्द गरिएका घरहरु बजारमा थुप्रै देखिन थालेको छ । यो क्रम अझै बढ्दो छ । उपत्यकामा पसल/व्यवसाय गर्दै आएकाहरु हरेक दिन एक/दुई सय रुपैयाँ सहकारीमा बचत गर्थे । सटरमा पसल राख्नेहरुले त झन दुई/तीन वटै सहकारीमा दैनिक बचत गर्थे ।  उनीहरुले असन, इन्द्रचोक, महाबौद्ध र न्यूरोड क्षेत्रबाट सामान ल्याएर बिक्री गर्थे । बिक्री गरेको नाफाबाट थोरै रकम सहकारीमा राख्थे ।

पछिल्लो समय काठमाडौँमा सटरहरु खाली हुने क्रम दिनदिनै बढिरहेको छ । दरबारमार्ग, न्युरोडजस्ता मुख्य व्यापारिक क्षेत्रमै सटर खाली देखिन्छन् । व्यवसायीहरु ऋणको भारी बोकेर उपत्यकाबाटै पलायन हुन थालेका छन् । कोरोना महामारीमा समेत खाली नभएका सटरहरु अहिले खाली छन् । बन्द रहेका सटरमा ‘सटर भाडामा’ लेखिएका पर्चा टाँसिएका छन् । तर, भाडामा लिन कोही आउने छाँट नदेखिएको घरभेटीहरु बताउँछन । 

सानो–सानो रकम आर्जन गर्नेहरुले आफ्नो रकम बैंकमा नभइ सहकारीमा राख्थे । सहकारीहरुले पनि सयौँ पसलबाट सङ्कलन गरेको निक्षेप रकम तीनै पसलहरुमा ऋण लगानी गरेका हुन्थे । आर्थिक मन्दीसँगै व्यापार नचल्दा एक लाख, दुई लाख ऋण लिएकाहरुले सहकारीको ऋण तिर्न सकेनन् । ऋण नउठेपछि सहकारीहरुले पनि बचत फिर्ता गर्न सकेनन् । जसका कारण कयौँ सटरका व्यवसायीहरु पलायन भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ सहकारीले भनेको समयमा बचत रकम फिर्ता दिन नसकेपछि बचतकर्ता साना खुद्रा व्यवसायीहरुको अर्कोतिरको व्यवहार बिग्रिएकाले कयौँ व्यवसायीहरुले सटर छोडेको बताउँछन् । 

‘सटरमा व्यापार गर्नेहरुले एक/दुई लाख ऋण लिन्थे, ५० हजार एक लाख बचत गर्थे, तर ऋण फिर्ता नभएपछि सहकारीले बचतकर्ताको बचत फिर्ता नसक्ने अवस्था आयो, बचत रकम फिर्ता नभएपछि होलसेलबाट उधारोमा सामान लगेको पैसा तिर्न, बालबच्चाको स्कुलको फी तिर्न, सटर भाडा तिर्न नसक्ने भएपछि कयौँ व्यवसायीले काठमाडौँ छोडिसके’, श्रेष्ठ भन्छन् ।

कतिको सङ्ख्यामा व्यवसायीहरु पलायन भए भन्ने तथ्याङ्क भने कोहीसँग पनि छैन । ठमेलका ह्याण्डिक्राफ्टदेखि न्यूरोडका कपडा पसल रहेका व्यापारिक भवनकै सटरसमेत अहिले बन्द छन् । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले त चेम्बरको ७२औँ वार्षिक साधारणसभामा साना व्यवसायीहरु चेपुवामै परेको गुनासो सुनाए । 

प्रधानमन्त्रीकै अगाडि उनले काठमाडौँ उपत्यकासहित देशैभरीका सहरहरुमा सटर खाली हुने क्रम बढिरहेको सङ्केत गरे । उनले कोरोना सुरु हुनुभन्दा अगाडि व्यवसायिक भवन बन्ने क्रममै बुकिङ भइसक्ने भए पनि अहिले बनेका व्यवसायिक भवनहरु खाली हुने क्रम बढिरहेको बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved