आर्थिक वर्षको अन्तिम दिनः आज सरकारी खाताबाट भूक्तानी नहुने, आजसम्म कति भयो बजेट खर्च ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 16, 2023 | 10:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार ३१ गते, चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन । आजबाट आर्थिक वर्ष सकिने भएपनि सरकारको भूक्तानी भने हिजो शनिबारसम्म मात्रै भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले केन्द्र सरकारलाई अत्यावश्यक भूक्तानी रकमान्तरको समय आर्थिक वर्ष सकिनु अघिल्लो दिनसम्म दिएकाले शनिबारसम्म भूक्तानी भएको छ । 

यहीँ नियमावली अनुसार आर्थिक वर्षको अन्तिम दिन कुनै पनि प्रकारका भूक्तानी गर्न पाइँदैन । ‘हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भूक्तानी निकास दिइने छैन’ नियमावलीको नियम ३० मा भनिएको छ । यस प्रावधान अनुसार आज असार ३१ गते कुनै पनि भूक्तानी नहुने भएको हो ।

सोही नियमावलीअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको छ । 

आज आर्थिक वर्षको अन्तिम दिन भूक्तानी नहुने भएपछि चालु आर्थिक वर्षको कारोबार शनिबार नै सकिएको छ । शनिबार मात्रै ९ अर्ब १८ करोड ७१ लाख रूपैयाँ भुक्तानी भएको छ । शनिबार भएको बजेट खर्च सबै पुँजीगत खर्च हो । 

यो सँगै चालु आर्थिक वर्षमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्बको बजेट ल्याएकोमा ७९.६६ प्रतिशत मात्रै खर्च भएको हो । 

गत जेठ १५ गते बजेट आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा चालु आर्थिक वर्षको बजेट खर्चको संशोधित अनुमान १५ खर्ब ५ अर्बमा झारिएको थियो । संशोधित अनुमान अनुसारको बजेट खर्च पनि हुन नसकेको हो । 

आर्थिक वर्ष २०७९/०८० मा चालु खर्च १० खर्ब ६ अर्ब ८० करोड रूपैयाँ पुगेको छ । 

पूँजीगत खर्च भने जम्मा ६१ प्रतिशत मात्रै भएको छ । ३ खर्ब ८० अर्ब ३८ करोड रूपैयाँ विकास बजेट छुट्याइएकोमा २ खर्ब ३२ अर्ब ६८ करोड मात्रै खर्च भएको छ । यो विनियोजनको ६१.१७ प्रतिशत मात्रै हो । 

ऋण तिर्न प्रयोग हुने वित्त व्यवस्थापन शीर्षकमा १ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल खर्चको १७ प्रतिशत आसर महिनामा मात्रै खर्च भएको छ । कुल विनियोजनको ६१.१७ खर्च भएको पूँजीगत खर्चमध्ये पनि ३४ प्रतिशत भूक्तानी भने असारमा मात्रै भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved