आजदेखि हवाई यात्रा गर्दा भ्याट लागु, यस्ता छन् ११ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 08:51:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज २०८० साउन १ गतेबाट नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसंगै आजबाट हवाई यातायात सेवामा  मूल्य अभिवृद्धि कर लाग्ने छ। आर्थिक ऐन, २०८० को व्यवस्था अनुसार हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लागेको हो  ।

यस्ता छन् यसबारे गरिएका ११ नयाँ व्यवस्था :

१. हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकोले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा बीस लाख रुपैयाँ नाघेको मितिले तीस दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्दछ ।

२. हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिनु पर्नेछ । विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ ।

३. दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको वा तिर्नु पर्ने कर दर्ता हुनुभन्दा एक वर्ष अघिसम्मको कट्टी गर्न पाउनेछ । यस्तो कर कट्टी दावी गर्नको लागि दर्ता भएको पन्ध्र दिनभित्र मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूची- १६ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।


४. हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १२ बमोजिम मूल्य अभिवृद्धि कर बाहेकको करलाग्ने मूल्यमा बीजक जारी गर्नु पर्नेछ । ट्राभल एजेन्सी व्यवसाय सञ्चालन गर्ने व्यक्तिले हवाई सेवा प्रदायकबाट टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्न बीजक जारी गर्नु पर्नेछ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेमा सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बीजक जारी गर्नु पर्नेछ । हवाई यातायात सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिशन रकममा हवाई सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बीजक जारी गर्नु पर्नेछ ।

५. आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ । अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्य स्थानसम्मको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ । त्यस्तो अन्तर्राष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जहासुकैबाट जुनसुकै माध्यम (अनलाइन माध्यम समेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले सो हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्दछ ।

६. दुबै तर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्ने छैन । नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने छैन ।

७. अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बीजक जारी गर्न स्वीकृति लिनु पर्ने छैन । तर विद्युतीय बीजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिनु पर्नेछ ।

८. हवाई टिकट बिक्रीमा संकलन गरेको करमा व्यवसायसँग सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा नेपालमा तिरेको कर घटाई बाँकी कर र सोको विवरण महिना समाप्त भएको पच्चीस दिनभित्र दाखिल गर्नुपर्दछ । तर वार्षिक एक करोड रुपैयाँभन्दा कमको कारोबार गर्ने व्यक्तिले चाहेमा चौमासिक रुपमा कर र सोको विवरण दाखिल गर्न सक्नेछ ।

९. मूल्य अभिवृद्धि कर लागू हुनुभन्दा पहिला हवाई टिकट बिक्री भएको तर मूल्य अभिवृद्धि कर लागू भए पछिको मितिमा यात्रा गर्नेको हकमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्ने छैन । तर त्यस्तो विवरण सम्बन्धित कार्यालयमा दिनु पर्नेछ ।

१०. बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले रकम फिर्ता पाउने भएमा बिक्री फिर्तामा देखाई हिसाव मिलान गर्नुपर्दछ । कुनै कारणवस खरिद भएका हवाई टिकट फिर्ता गर्नु पर्ने भएमा खरिद फिर्तामा देखाई हिसाव मिलान गर्नुपर्दछ । हिसाव मिलान प्रयोजनका लागि मूल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम डेविट / क्रेडिट नोट जारी गर्नुपर्दछ ।

११. हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि कर सम्बन्धमा मूल्य अभिवृद्धि कर ऐन, २०५२, मूल्य अभिवृद्धि कर नियमावली, २०५३ र मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ मा भएका प्रावधान आकर्षित हुनेछन् ।

यो पनि : यी हुन् आजबाट कार्यान्वयनमा आएका ४ नयाँ कर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved