के अर्थतन्त्र मन्दीबाट उठेर ठिकठाकको अवस्थामा पुगेको हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2024 | 12:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता बाहिर हुँदा अर्थतन्त्र मन्दीमा छ भन्न नछुटाउने सांसदहरु मन्त्री भएपछि वा आफ्नो दल सरकारमा सहभागी भएपछि अर्थतन्त्र ठिकठाक छ भन्न थालिहाल्छन् । वर्तमान अर्थमन्त्री वर्षमान पुनले पनि अहिले अर्थतन्त्र लयमा फर्किएको भन्न थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थिले अर्थमन्त्री हुनासाथ अर्थतन्त्र मन्दीमा छ भन्ने वास्तविकता स्वीकार नगर्नुले सुधारका प्रयत्नहरु हुन्छन् भनेर आशा गर्न नसकिने आशय व्यक्त गरेका छन् ।

‘नयाँ अर्थमन्त्रीज्यू पनि अर्थतन्त्र ठीकठाक छ भन्न थालि सक्नु भएछ, अब ठिक छ भने त सुधार आवश्यक नहोला’ महानिर्देशक अवस्थिले लेखेका छन् ।

उद्योगी व्यवसायीहरुका अनुसार राष्ट्र बैंकले महँगी, बाह्य क्षेत्र र तरलतालाई मात्रै आफ्नो ‘म्यान्डेट’ मानेर यी क्षेत्र ठिक देखाएर समग्र अर्थतन्त्र नै ठिकठाक छ भनिरहेको र अर्थ मन्त्रालयले पनि राष्ट्र बैंककै दाबीलाई सत्य देखिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्ता महँगी ५.१ प्रतिशत छ । विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म १८४४ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै, बैंकमा लगानीयोग्य रकम पनि ५ खर्ब हाराहारी रहेको जनाइएको छ ।

यसैलाई देखाएर अर्थमन्त्री र अर्थ मन्त्रालयका अधिकारीहरु अर्थतन्त्र ठिकठाक अवस्थामा रहेको भनिरहेका छन् । तर, बजार चलायमान बनाउने केही क्षेत्र हेर्दा मात्रै पनि अहिले अर्थतन्त्रले लय गुमाएको प्रष्ट हुन्छ । 

सहकारी क्षेत्र

पछिल्लो समय सहकारी संस्थाहरुमाथि विभिन्न कोणबाट प्रहार भइरहेका छन् । केही सहकारीका सञ्चालहरुको बद्मासीका कारण ८ खर्ब पूँजी परिचालन गर्ने र ७३ हजार सदस्य जोडिएको सिङ्गो सहकारी क्षेत्र नै बद्नाम बनेको छ । तर, सरकारले सहकारी समस्या समाधानका लागि हालसम्म ठोस पहल चालेको छैन । 

लघुवित्तमा पनि यस्तै हालत छ । सहकारी र लघुवित्तमा बचत राख्ने सदस्य र काम गर्ने कर्मचारीसँग अहिले पैसा छैन । मध्यम वर्गका मानिसहरुको बढी कारोबार हुने यी दूबै वित्तीय क्षेत्र अहिले विश्वास गुमाउने सम्मुखमा पुगिसकेका छन् । जसका कारण सहकारी र लघुवित्तमा बचत घट्दो छ भने प्रवाह भएको कर्जा पनि उठ्न सकेको छैन । अमूक अराजक समूह ऋण तिर्नुपर्दैन भन्ने भाष्य स्थापित गराउन उद्दत हुँदा पनि सरकारले कुनै ‘एक्सन’ लिन सकेको छैन ।

यसले सहकारी र लघुवित्त सबैभन्दा अफ्ट्यारोमा परेका छन् ।

सेयर बजार

डिम्याट खाताको संख्या ६२ लाख पुगिसकेकोले जनसंख्याको ठूलो तप्का सेयरबजारसँग जोडिएको छ । तर सेयर बजारले पनि अर्थमन्त्रालय र राष्ट्र बैंकप्रति अविश्वास कायम राखेको अवस्था छ । डिम्याट खाता खोलेका ६२ लाखमध्ये प्राथमिक बजारसहितलाई आधार मान्दा १५ देखि २० लाख मान्छे सक्रिय छन् । उनीहरुले सेयर किनबेच गरेरै औसतमा दैनिक चार पाँच हजार कमाइ गर्ने गरेको भए पनि अहिले त्यो अवस्था नहुँदा सेयर बजारका ‘एक्टिभ ट्रेडर’सँग पनि पैसा नभएको जानकारहरु बताउँछन् ।

‘सेयर धितो कर्जाका प्रावधानले एक्टिभ ट्रेडरहरुलाई साँच्चै मर्का पारेको छ, अर्थ मन्त्रालयले पनि उनीहरुमा विश्वास जगाउन सकेन’ एक जना जानकार भन्छन्, ‘एउटा निर्णय हुनासाथ एक घण्टामा त्यसको नतिजा देखिने ठाउँ हो सेयर बजार, तर यहीँ क्षेत्र अहिले उपेक्षित बनेको छ ।’

अटोमोबाइल्स क्षेत्र

कोरोना कालदेखि थलिएको अटोमोबाइल्स क्षेत्र अहिलेसम्म अपेक्षाकृत रुपमा चलायमान हुन सकेको छैन । इलेक्ट्रिक गाडीको ब्यापार केही बढेको देखिए पनि समग्र अटोमोबाइल्स क्षेत्र अझै पनि संकुचनकै अवस्थामा छ । विशेषगरि मोटरसाइकल र स्कुटरको व्यवसायमा अस्वभाविक गिरावट आएको छ ।

‘युवाहरु विदेश पलायन हुने क्रम बढ्दा बाइक र स्कुटर चढ्ने मान्छे नै भएनन्’ एक जना व्यवसायी भन्छन्, ‘बाइक किनेर केही वर्ष कुदाएपछि मात्रै मान्छे गाडीमा अपग्रेड हुने हो, तर अहिले त बाइक र स्कुटरको डिमाण्ड नै कम छ ।’

होटल रेष्टुरेन्ट 

बाइक र स्कुटर जस्तै होटल तथा रेष्टुरेन्ट पनि युवाहरुको ‘मुभमेन्ट’ बढ्दा चल्ने व्यवसाय हो । तारे होटलबाहेक र खासगरि लाइभ म्युजिकसहितका रेष्टुरेन्ट तथा मध्यम खालका होटलहरुको व्यवसाय युवाहरुको कारण चलेको थियो । तर, युवाहरु पलायन हुने क्रम बढेसँगै रेष्टुरेन्ट र होटलहरुको व्यवसाय पनि सुकेको छ ।

‘भर्खर कमाउन थालेका २५ देखि ३५ वर्षका युवाहरु दिनभरी काम गर्ने, छुट्टि भएपछि साथीभाइसँग गफगाफ गर्न रेष्टुरेन्टमा साँझैसम्म बस्ने गर्थे’ दरबारमार्गका एक जना रेष्टुरेन्ट सञ्चालक भन्छन्, ‘पहिलाको तुलनामा अहिले व्यवसाय आधा पनि छैन ।’

पर्यटन

पर्यटनमा आधारित तारे होटल तथा एयरलाइन्स क्षेत्रको पनि हालत ठिक छैन । संख्यात्मक रुपमा विदेशी पर्यटकको आगमन बढेको देखिए पनि सन् २०१९ कै अवस्थामा फर्किन अझै केही समय लाग्ने वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की बताउँछन् । उनका अनुसार, अहिले एडभेन्चर टुरिजम खस्किएको छ । 

‘एडभेन्चर टुरिजम गर्ने भर्खर भर्खर कमाउन सुरु गरेका २५ देखि ४० वर्ष उमेर समूहका युवाहरु हुन्, अहिले उनीहरुकै आम्दानी खस्केको छ, कतिपय विदेशिएका छन्’ उनी भन्छन्, ‘यसले पनि पर्यटन गतिविधि बढ्न सकेको छैन । तर, अहिले बढेको देखिएको विदेशी पर्यटकको आगमनलाई निरन्तरता दिन सकियो भने सन् २०२४ को अन्त्यसम्म हामी सन् २०१९ को अवस्थामा फर्किन सक्छौँ भन्ने हाम्रो आँकलन छ ।’

तारे होटलहरुको पनि अकुपेन्सी ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । काठमाडौँ पछिका मुख्य गन्तव्य पोखरा र चितवनमा अहिले होटलहरुले पर्यटक तान्न छुटका अफरहरु ल्याउँदा पनि अपेक्षाकृत अकुपेन्सी पाएका छैनन् ।

रियलस्टेट

घरजग्गा व्यवसाय पनि अहिले खासै चलायमान हुन सकेको छैन । २०७५ सालमा कित्ताकाट रोकिएपछि निरन्तर ओरालो लागेको घरजग्गा कारोबार अहिले पनि पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । फागुन महिनामा त झन माघको तुलनामा कारोबार नै घटेको छ । माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएकोमा फागुनमा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएका छन् ।

नेपाल जग्गा तथा अवास विकास महासंघका अनुसार घर कर्जाको जोखिम भार बढी हुनु र काठमाडौँ उपत्यकामा घर किन्न बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्न पाउने कर्जाको सीमा थोरै हुनुले घरजग्गा कारोबार बढ्न नसकेको हो । यो समस्या कायम रहेसम्म तराइका खेतीयोग्य जमिनको खण्डीकरण बढ्ने रियलस्टेट व्यवसायीहरु बताउँछन् ।

निर्माण क्षेत्र

घरजग्गा कारोबार घट्नु र सरकारले पूर्वाधार विकासका काम गर्न नसक्नुले अहिले निर्माण व्यवसायी र निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु थला परेका छन् । घरजग्गा कारोबार बढ्दा सिमेन्ट, डण्डी, पाइप, इँटा, बालुवा, क्रसर जस्ता उद्योगहरु चल्ने भए पनि अहिले यो क्षेत्र खासै चलायमान छैन । साथै, सरकारले विकास बजेट खर्च गर्न सकेको अवस्थामा मात्रै ति उद्योगहरु फस्टाउँछन् । 

तर, अहिले सरकारले विकास बजेट खर्च नै गरेको छैन । अर्कोतिर, निर्माण व्यवसायीले काम सकेका आयोजनाको समेत ४५ देखि ५० अर्ब भूक्तानी पाएका छैनन् । यद्यपी, अर्थ मन्त्रालयले ४० अर्ब तत्काल निकासा गर्ने प्रक्रिया सुरु गरेको छ ।

यसैबीच, सरकारले उद्योगी व्यसायीमाथि गरेको धरपकडले पनि उद्योगीहरुले लगानीको अनुकुल वातावरण देखिरहेका छैनन् । 

‘मिनबहादुर गुरुङको केश आयो, त्यस लगत्तै अरुण चौधरीको केश आयो, यस्ता धेरै उद्योगी व्यवसायीमाथी धरपकड भयो, यसले लगानीको योजना बनाएका उद्योगीहरु पनि आफ्नो प्लान स्थगित गर्न बाध्य भएका छन्’ एक जना उद्योगी भन्छन्, ‘कुलमान उद्योगमा बत्ती काट्ने, प्रहरी सेन्टिमेन्टलाई हेरेर उद्योगी व्यवसायी समात्ने, सीआईबी धमाधम उद्योगी व्यवसायीलाई पक्रेर प्रेस मिट गरिहाल्ने जस्ता हर्कतले उद्योगी व्यवसायीमा साँच्चै निराशा बढाएको छ ।’

उनका अनुसार यी नै कारणले गर्दा अहिले कुनै पनि ठूलो उद्योग वा प्रोजेक्ट पाइपलाइनमा छैनन् ।

‘काम गर्ने वातावरण नै भएन, बैंकमा पैसा हुँदा पनि किन लगानी बढेन भन्दा यस्तै यस्तै कारणले गर्दा लगानीकर्ताहरु निरुत्साहित बन्न पुगे, अहिले आइएमई ग्रुप (चन्द्र ढकाल)को पाथिभरा केवलकार बाहेक अरु कुनै पनि ठूला प्रोजेक्ट पाइपलाइनमा छैनन् । त्यो पनि बन्न नदिन अनेक चलखेल भइरहेकै छन्’ उनले भने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved