सरकारी तथ्यांकले नै भन्यो, ‘रियल इस्टेट र निर्माण क्षेत्र मन्दीमै छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 10:13:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा रियल इस्टेट र निर्माण क्षेत्रमा अपेक्षाकृत सुधार नआएको मात्रै नभई यी क्षेत्र मन्दीकै अवस्थामा रहेको सरकारी तथ्यांकले नै देखाएको छ । अर्थ मन्त्रालय लगायतका सरकारी निकायहरुले अर्थतन्त्र मन्दीको अवस्थाबाट बाहिर निस्किएको दाबी गरे पनि अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्र रियल इस्टेट र निर्माण क्षेत्र मन्दीमै रहेको देखिएको हो ।

तर, अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससँग तुलना गर्दा दुबै क्षेत्रको कारोबार भने केही बढेको पाइएको छ । 

केन्द्रीय तथ्यांक कार्यालयले गत मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) रिपोर्टमा निर्माण र रियल इस्टेट क्षेत्रमा अपेक्षाकृत सुधार नभएको देखाएको हो । कारोबारमा केही सुधारको संकेत देखिए पनि मुख्य अर्थतन्त्र चलायमान बनाउने यी दुबै क्षेत्रमा मन्दीकै अवस्थामा कायम रहेको तथ्यांक कार्यालयको रिपोर्टले देखाउँछ ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर २.२ प्रतिशत र रियल इस्टेट सम्बन्धि गतविधिको मूल्य अभिवृद्धिदर २.७ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको वृद्धि –८.८ प्रतिशत (ऋणात्मक) र रियल इस्टेट क्षेत्रको वृद्धि २.७ प्रतिशत रहेको थियो ।

निर्माण क्षेत्र र रियल इस्टेट गतिविधिमा सामान्य वृद्धिको छनक देखिए पनि यसले अझै पनि अर्थतन्त्र चलायमान बनाउने मुख्य पिल्लरका रुपमा रहेका निर्माण उद्योग र रियल इस्टेट क्षेत्र मन्दीकै अवस्थामा छन् भन्ने देखाउने व्यवसायीहरु बताउँछन् । एकातिर निर्माण व्यवसायीहरुले पूरानै कामको ५० अर्ब हाराहारी रकम पाउन बाँकी छ भने अर्कातिर सरकारले विकास बजेट खर्च गर्न नसक्दा नयाँ आयोजनाहरुको ठेक्का पनि लाग्न सकेको छैन । जसका कारण निर्माण उद्योग मन्दीमा छ । रियल इस्टेटमा पनि कुनै पनि ठूला हाउजिङ तथा अपार्टमेन्ट परियोजना आउन सकेका छैनन् । 

त्रैमासिक रुपमा तुलना गरेर हेर्दा आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ८.६ प्रतिशत, दोस्रो त्रैमासमा ४.१ प्रतिशत, तेस्रो त्रैमासमा १०.३ प्रतिशत र चौथो त्रैमासमा ५.४ प्रतिशत थियो । आर्थिक वर्ष २०७९÷०८० को पहिलो त्रैमासमा –६.८ प्रतिशत (ऋणात्मक), दोस्रो त्रैमासमा –८.८ प्रतिशत (ऋणात्मक), तेस्रो त्रैमासमा –४.२ प्रतिशत (ऋणात्मक) थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ प्रतिशत बढी र दोस्रो त्रैमासमा २.२ प्रतिशत मात्रै मूल्य अभिवृद्धिदर छ ।

घरजग्गा कारोबारका गतिविधिमा दुइ आर्थिक वर्ष नै करिब स्थिर मूल्य अभिवृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷०७९ को चारवटै त्रैमासमा रियल इस्टेट क्षेत्रको कुल मूल्य अभिवृद्धिदर १.६ प्रतिशत, २०७९/०८० चारवटै त्रैमासमा २.२ प्रतिशत वृद्धिदर देखिन्छ । चालु वर्षको पहिलो त्रैमासमा २.२ र दोस्रो त्रैमासमा २.७ प्रतिशतको वृद्धिदर छ । 

पछिल्लो साढे २ वर्षमा निर्माण क्षेत्र र रियल इस्टेट क्षेत्रले निकै उतारचढाव व्यहोरेको छ । जसका कारण सरकारी परियोजनाको विकास र निर्माणदेखि निजी लगानीको निर्माण समेत प्रभावित बनेको छ । जसका कारण निर्माण क्षेत्र र रियल इस्टेट क्षेत्र अझै पनि मन्दीकै अवस्थामा रहेको रियल इस्टेट व्यवसायीहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved