कतार अमिरको नेपाल भ्रमणले मध्यपूर्वको लगानी भित्र्याउने बाटो खुल्नेछः आर.के. शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 05:41:23 PM मा प्रकाशित

गैरआवासी नेपाली (एनआरएन) अभियान्ता आर.के. शर्माले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणले बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई थप उर्जा प्रदान गर्ने बताएका छन् । कतारमा लामो समयदेखि व्यवसाय गर्दै आएका एनआरएन अभियन्ता शर्माले बिजपाटी सँगको कुराकानीमा बैशाख ११ र १२ गते राजकीय भ्रमणमा आउन लागेका कतारी अमिरको नेपाल आगमनले लगानी सम्मेलन सफल बनाउन योगदान पुग्ने बताएका हुन् ।

उनले अहिले विश्व भरी लगानी गर्ने लगानीकर्ताहरुमा कतारका लगानीकर्ताहरु अग्रणी स्थानमा रहेको भन्दै अमिरको नेपाल भ्रमणले कतारका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘कतारका अमिर आउँदै हुनुहुन्छ, मध्यपूर्वका देशबाट नेपालमा हुन लागेको यो नै अहिलेसम्मको ठूलो भ्रमण हो’ शर्माले भने, ‘मध्यपूर्वका देशहरुले अहिले अन्तराष्ट्रिय रुपमा लगानी बढाइरहेका छन्, यस्तो लगानी गर्ने देशमा कतार अग्र स्थानमै छ, अब अमिरको नेपाल भ्रमणले पनि कतारका लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहन गर्नेछ, समग्रमा मध्यपूर्वकै लगानी आकर्षित हुने बाटो खुल्ने विश्वास गर्न सकिन्छ ।’

उनले कतारका अमिर नेपाल आउनु भनेको कतारसहितका देशमा नेपालको पर्यटनको प्रचार हुनु समेत भएको बताउँदै यो राम्रो सुरुवात हुने र यसले भविष्यमा लगानी आकर्षित गर्ने बाटो खुल्ने विश्वास व्यक्त गरेका छन् ।

‘कतारका अमिरको नेपाल भ्रमणका क्रममा नेपालले के के विषय उठान गर्दा राम्रो हुन्छ र नेपालले के कसरी लाभ लिन सक्छ भन्ने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूसँग पनि हामीले छलफल गरेका छौँ, उहाँ विदेशी लगानी भित्र्याउन प्रतिवद्ध हुनुहुन्छ’ शर्माले थपे, ‘मध्यपूर्वका देशले अहिले विश्वभरी नै लगानी बढाइरहेका छन्, कतार पनि नेपालमा लगानी गर्न इच्छुक छ । हामीले नै पहल जारी राख्न सक्यौँ भने कतारले पूर्वाधारसहित नेपालका विभिन्न क्षेत्रमा मनग्य लगानी गर्न सक्ने देखिन्छ ।’

शर्माले नेपालमा लगानी गरेर नाफा लैजान सकिँदैन भन्ने भाष्य गलत भएको समेत बताएका छन् ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved