जापानले नेपाल सहितका देशबाट कामदार लाने बताएसंगै त्यसबारे चर्चा ह्वात्तै बढेको छ । जापान जान चाहनेहरु यसको प्रक्रिया बारे जान्न उत्सुक छन् । तर हालसम्म यस बारे कुनै सरकारी निर्णय भएको छैन । नेपाली कामदार विदेशमा काम गर्न जाँदा धेरै भेदभाव सहन्छन्, गाली गलौज सहन्छन् र जिन्दगी खतरामा पारेर काम गर्छन्। तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई जापानी सरह सुविधा दिन प्रतिबद्धता व्यक्त गरेको छ।
आवश्यक प्रक्रिया अगाडि बढाउन जापानले नेपाललाई पनि मस्यौदा 'प्रस्ताव मेमोरेन्डम अफ को–अपरेसन' (एमओसी) पठाएको छ। यहि मस्यौदामा भेदभाव नगरिने उल्लेख गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सचिव महेश दाहालका अनुसार जापानका अधिकारीहरू यहि जनवरी १६ तारिख आउनेछन्। त्यसबेला जापानी पक्षसँग कुराकानी गरेपछि धेरैकुरा स्पष्ट हुनेछ।
नेपाल लगायत नौवटा मुलुकबाट जापानमा झण्डै साढे तीनलाख विदेशी कामदार भित्र्याउने निर्णय संसदबाट अनुमोदन गरेको जापानले कामदारलाई शून्य खर्चको अवधारणामा जापान ल्याउनेगरी काम अगाडि बढाइने बताइएको छ। बीचमा दोश्रो व्यक्ति नराखी प्रतिस्पर्धी आधारमा कामदार रोज्ने प्रस्ताव जापानको रहेको बताइएको छ।
जापानको प्रस्तावमा नेपाल सरकारले अध्ययन र गृहकार्य गरिरहेको छ। प्रारम्भिक प्रस्तावमा जापान जान चाहनेहरूसँग के हुनुपर्छ भन्ने प्रष्ट उल्लेख गरिएको छ। प्रस्ताव बमोजिम जापानले दुई प्रकारका कामदार लिन खोजेको देखिन्छ। कुनै विषयमा ज्ञान र सीप भएका दक्ष कामदार एवम् अति दक्ष क्षमता भएका कामदार। कामका लागि जापानले १४ वटा क्षेत्र पहिचान गरेको छ। हेरचाह गर्ने क्षेत्र, भवन निर्माण, मसिनरी पार्ट्स र टुल्स, इलेक्ट्रोनिक्स–इलेक्ट्रिकल, सार्वजनिक निर्माण, पानी जहाज निर्माण, सवारी साधन मर्मत, हवाई उड्डयन र विमानस्थल सरसफाइ, होटल रेस्टुरेन्ट, कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्य सम्बन्धी सप्लाई चेनहरू छन्।
दुई पक्षबीच सरकारी स्तरमा सम्झौता भएपछि मात्र कामदार जापान पठाउने प्रक्रिया अगाडी बढ्ने छ ।