
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इपिएस पास भएका नेपालीलाई कोरिया पठाउने निर्णय गरेपछि श्रम बजार तातेको छ । लकडाउनकै बीच सरकारले गरेको निर्णयलाई कतिपयकले अवैज्ञानिक समेत भन्न भ्याएका छन् ।
सरकारको यो निर्णयसँगै इपिएस पास गरेका र कोरिया जान नपाएका नेपाली भने खुशी भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने सरकारले निर्णय गरेपनि कहिलेबाट पठाउन सुरु गर्ने भन्नेबारे अन्यौलता नै रहेको बताएको छ । कहिलेबाट पठाउने भन्नेबारे मिति तय भईनसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
नेपाली पठाउनु भन्दा पहिले नै कोरिया सरकारसँग दुईपक्षीय वार्ता गर्नुपर्ने मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउँछन् । कस्तो कार्यविधि अनुसार नेपाली पठाउने भन्नेबारे मन्त्रिपरिषद्को लिखित निर्णय आएपछि मात्र थाहा हुनेछ ।
एक पटकमा कति जना कहिले पठाउने, देशका विभिन्न ठाउँमा रहेका उनीहरुलाई काठमाडौंसम्म कसरी ल्याउने, चार्टड फ्लाइट गर्ने कि लकडाउन खुलेपछि नियमित उडानमा पठाउने भन्नेबारे मन्त्रिपरिषद्को लिखित निर्णय आएपछि मात्रै थाहा हुने मन्त्रालयको भनाई छ ।