नेपालीको श्रम गन्तव्य युरोपतर्फ ‘सिफ्ट: जर्मनी र रोमानिया कसरी जाने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 11:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको मुखमा सरकारले युरोपका दुई देशसँग श्रम सम्झौता गर्यो । असोज १९ गते रोमानियासँग श्रम सम्झौता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज २३ गते जर्मनीसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकको अबको गन्तव्य युरोपेली देश भएको संकेत गरेको छ ।

त्यसो त, औपचारिक श्रम सम्झौता नभएपनि अहिलेसम्म रोमानियामा २० हजार बढी नेपालीहरु गइसकेको बताइन्छ । भारतको नयाँदिल्ली पुगेर भिसा लगाएर रोमानिया जाने नेपालीहरु बढिरहेको सरकारी अधिकारीहरु नै बताउँछन् । 

जर्मनीमा पनि पढ्न जाने नेपालीहरुको संख्या अधिक छ । नेपालीहरु युरोपेली देशमा आकर्षित भइरहेका बेला सरकारले औपचारिक श्रम सम्झौता नै गरेर नेपालीका लागि अबको श्रम गन्तव्य मलेसिया र खाडीका देशबाट युरोपतर्फ ‘सिफ्ट’ भएको प्रष्ट संकेत गरेको छ ।

विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको जर्मनीमा कसरी जाने ?

जर्मनी विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको देश हो । अमेरिका, चीन र जापान पछि सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनी हो । युरोपको सबैभन्दा बढी जनसंख्या भएको देश पनि जर्मनी नै हो ।

बलियो अर्थतन्त्र, सामाजिक सुरक्षाको ग्यारेन्टी, स्तरीय ‘लाइफस्टाइल’ र मानवअधिकारप्रति पूर्ण प्रतिवद्धता जर्मनीका विशेषता हुन् । यस्तो विशेषता भएको देशमा आउँदो माघ÷फागुनबाटै नेपाली श्रमिकहरु जान सक्ने गरी प्रक्रिया टुंगो लगाउने काम भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेका अनुसार जर्मनी जान ‘डच’ भाषा आधारभूत रुपमा सिकेको हुनुपर्नेछ । सुरुमा जर्मनीले नेपालीहरुलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजानेछ । यस्तो प्रशिक्षण अवधि १ वर्षको हुनेछ । त्यहाँ गएर १ वर्ष ट्रेनिङ गरिसकेपछि मात्रै त्यहाँको श्रम बजारमा योग्य मानिनेछ ।

त्यहाँ गएर गर्नुपर्ने कामका सन्दर्भमा भने कामका विशेष क्षेत्र तोकिन बाँकी छ । यसका लागि जर्मन सरकारले आफ्नो देशमा चाहिएको जनशक्ति माग गर्ने, त्यसका लागि योग्यता समेत तोक्ने भएकाले कामदारको माग आएपछि मात्रै क्षेत्र तय हुने श्रम मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा रोमानियाको भिसा सेन्टर खोल्ने तयारी

रोमानिया युरोपको १२औँ ठूलो देश हो । यो देश युरोपको सबैभन्दा गरिब देशमा पर्ने भएपनि यो देशका नागरिकको वार्षिक औसत प्रतिव्यक्ति आय १८ हजार अमेरिकी डलर छ । जबकी, नेपालको जम्मा १४ सय अमेरिकी डलर मात्रै छ ।

अहिले पनि रोमानिया नेपालीहरुको रोजाईमा परिरहेको गन्तव्य हो । तर, श्रम सम्झौता नहुँदा नेपालीहरुले रोमानियाको ‘लेवर राइट्स’ (श्रमिक अधिकार) पाइरहेका छैनन् । अब श्रम सम्झौता भएकाले रोमानिया जाने नेपालीहरुले श्रमिक अधिकार पाउने श्रम मन्त्रालय बताउँछ ,

त्यसो त, नेपालमा रोमानियाको दूतावास नहुँदा नेपालीहरु भिसा लगाउन भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता छ । यो समस्या समाधानका लागि नेपाल पक्षले रोमानियालाई काठमाडौँमा भिसा सेन्टर खोल्न अनुरोध गरेको छ । श्रम मन्त्रालयका अधिकारीहरुका अनुसार रोमानिया नेपालमा भिसा सेन्टर खोल्न सकारात्मक देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved