दीपज्योतिबाट कुवेत गएका ७ नेपाली अलपत्र, नेपाल फर्कन खोज्दा पाएनन् पासपोर्ट

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Dec 18, 2023 | 10:11:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतको फार्मानियामा ७ जना नेपाली युवा अलपत्र परेका छन् । दिपज्योति म्यानपावर सर्भिसबाट रोजगारीका लागि कुवेत पुगेका युवाहरु अहिले अलपत्र परेका हुन् । 

अलपत्र पर्नेमा मकावनपुरको ईन्द्रसरोवार गाउँपालिकाका जिवन कुमार ठाकुर, मोरङको रंगेली नगरपालिकाका कमल बहादूर माझी, उदयपुरको चौदण्डीगढी नगरपालिकाका लाल बहादूर बस्नेत र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाका आशिस रिमाल रहेका छन् । त्यसैगरी, रामेछापको लिखु गाउँपालिकाका दावा तामाङ, मकवानपुरका राम बहादूर थिङ र सिन्धुपाल्चोकका धनराम तामाङ रहेका छन् ।

सो म्यानपावर मार्फत उनीहरुले गत मार्च महिनमा कुवेतस्थित ग्रुप बामा जेनरल ट्रेडिङ एण्ड कम्पनीमा सुरक्षा गार्डका लागि गएका थिए । दिनको ८ घण्टा काम १२० (कुवेती डिनार) केडी तलब सम्झौता बमोजिम उनीहरुले सो कम्पनी मार्फत काम गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता पत्रमा २ वर्षको कन्ट्र्याक छ । उनीहरु मार्च ११ तारिखदेखि सुरक्षा गार्ड काममा आवद्द भएका थिए । 

करिब ७ महिना काम गरेपछि आफुहरु काम बिहिन हुन पुगेको धनराम तामाङले बताए । ७ महिनासम्म पनि आफुहरुले सम्झौता भन्दा फरक १२ घन्टाको दरले काम गर्नुपरेको उनको भनाई छ । तलब भने ८ घण्टाको मात्र पाएको तामाङ बताउँछन् ।

उनका अनुसार अक्टोबर अन्त्यतिर उनीहरुलाई कम्पनीले काममा नआउन भन्यो । ग्रुप बामा कम्पनीले अर्काे कम्पनीसँग  कन्ट्र्याक गरेको र  उक्त दुई कम्पनी बीचको कन्ट्र्याक सकिएपछि आफुहरु अलपत्र परेको तामाङको भनाई छ । 

नेपाल फर्कन खोज्दा पाएनन् पासपोर्ट

अक्टोबरको अन्त्यतिर ग्रुप बामाले  अर्काे कम्पनीसँग कन्ट्र्याक सकिएकाले केही दिन रुममा नै  बस्न भनेको तामाङले बताए  । उनले  बिजपाटीसँग भने 'बामा कम्पनीले अर्काे कम्पनीसँगको कन्ट्र्याक सकियो अहिले काम छैन भन्यो, केहि दिन रुममै बस्नु भन्यो । अझै बोलाउछ कि भन्ने आशले हामी रुममा नै बस्यौँ ।’ १५ दिनसम्म पनि नबोलाएपछि कम्पनीमा बुझ्न गएको तामाङले बताए। 

तामाङका अनुसार कम्पनीमा जाँदा कम्पनीले काम नभएको भन्दै घर फर्किन आग्रह गरेको थियो। घर फर्किनका लागि उनीहरुले ३८ केडी एक जना बराबरको ७ जनाको लागि टिकट पनि काटे । तर, टिकट काटेपछि उनीहरुलाई कम्पनीले पासपोर्ट नै दिएन । टिकटको पैसा खेर गएको उनले गुनासो गरे । 

कम्पनीलाई नेपालबाट म्यानपावरले नेपाल नपठाउन भनेपछि पासपोर्ट नदिएको तामाङको बुझाई छ । उनका अनुसार नेपाल फर्केपछि म्यानपावरसँग क्षतिपुर्ति वापत रकम माग्ने डरले म्यानपावरले त्यस्तो जुक्ति लगाएको हुन सक्छ।

अर्को काममा लगाउने कोशिस

त्यसपछि कम्पनीले ७५ केडीमा क्लिनरमा काम गर्न भनेको उनीहरुको गुनासो छ। पहिलाको सम्झौता भन्दा अलग काम र कम तलब दिने भनेपछि सो काम गर्न मन्जुर नभएको उनले बताए । उनले भने 'हामीले सम्झौतामा १२० केडीमा काम गर्ने भनेर आएको । ७५ केडीमा त गर्न सकिदैन।’  यदि  सम्झौता अनुसार तलब दिएको भए  क्लिनरमा पनि काम गर्न तयार भएको उनको भनाई छ । 

सम्झौता अनुसारको तलब र काम नभएपछि उनीहरु अहिले कुवेतको फार्मानियामा अलपत्र अवस्थामा बसेका छन् । खान पनि समस्या भएको उनीहरुले बताएका छन् । 

म्यानपावर भन्छ 'व्यवस्था भईसक्यो'

यता म्यानवार भने उक्त अवस्थाको बारेमा  गम्भीर देखिदैन।  सम्झौता अनुसारको काम र तलब नपाएको प्रति म्यानपावर व्यवसायीलाई कुनै चासो नभएको पाइएको छ। 

 म्यानपावर कम्पनीका अध्यक्ष धर्मेन्द्र प्रसाद यादव ति नेपाली श्रमिकहरुलाई अर्काे ठाउँमा कामका लागि व्यवस्था गरिसकेको बताउँछन् । श्रमिकहरुलाई अहिले कुनै समस्या नभएको उनको दाबी छ। उनी भन्छन् 'अर्काे ठाउँमा उनीहरुको व्यवस्थापन भइसकेको छ । उनीहरु काममा जान मान्दैनन् त हामी के गर्नु ?’

छानबिन भईरहेको छ: विभाग 

वैदेशिक रोजगार विभागले भने त्यसबारेमा छनविन भइरहेको जनाएको छ । म्यानपावर कम्पनीलाई पनि सोधपुछ गरेको र कुवेत स्थित नेपाली दूतवासलाई पनि कम्पनी र श्रमिकहरुको बारेमा थप बुझ्नको लागि आग्रह गरिएको विभागका सूचना अधिकारी कविराज उप्रेतिले जानकारी दिए । दूतावसले अनुगमन गर्दा म्यानपावर दोषि देखिएमा विभागले आवश्यक कारवाही गर्ने उनले स्पष्ट पारे ।

पीडितलाई राहत र दोषिलाई कारवाही गर्ने उनको भनाई छ । तर, दूतवासले अध्ययन गरेर रिपोर्ट नबुझाएसम्म को दोषि भनेर भन्न नसकिने उनी बताउछन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved