भिजिट भिसालाई सहज बनाउन नयाँ व्यवस्था ल्याउँदै मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 12:28:42 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले भिजिट भिसालाई सहज बनाउने तयारी गरेको छ । बिचौलियाको सेटिङ बढेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले यसलाई सहज बनाउने तयारी गरेको हो । 

यसबारे बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बैठक समेत बसेको थियो । भिजिट भिसामा विदेश जानेलाई हाल लागू गरिएको १७ बुँदे मापदण्डलाई खारेज गरी केही दिनमै नयाँ कार्यविधि लागू गर्न लागिएको र सो कार्यविधि टुङ्गो लगाउन बिहिबार बैठक बसेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा श्रममन्त्री शरतसिंह भण्डारी, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीहरु सहभागी थिए । 

अहिलेको प्रावधानले समस्या बढाएको निष्कर्ष उक्त छलफलले  निकालेको हो । भिजिट भिसाको विदेश जान झन्झटिलो प्रावधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगठित रूपमा सेटिङ मौलाएको खुलेपछि गृहले खुकुलो मापदण्ड बनाई यसमा सुधारको प्रयास गरेको छ । 

छलफलमा अध्यागमन विभागले १७ बुँदे खारेज गरी ७ बुँदे कार्यविधि लागू गर्ने प्रस्ताव गरेको छ । भिजिट भिसालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ मापदण्डको प्रस्ताव गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले प्रस्ताव गरेको मापदण्डलाई परिमार्जन गरी गृह मन्त्रालयले केही दिनभित्रै स्वीकृत गरी कार्यान्वयन गर्न लागेको छ । 

अध्यागमन र एयरलाइन्सका कर्मचारीसँग सेटिङ गरी हजारौँ नेपालीलाई खाडी देशमा पुर्‍याइएको हालैको प्रहरी अनुसन्धानमा खुलेको छ । दिनमा दुई सयभन्दा धेरै वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जाने र अध्यागमनमा प्रतिव्यक्ति औसतमा ५० हजार रुपैयाँ घुस लेनदेन हुने गरेको अनुसन्धानले देखाएको छ । जसमा अध्यागमन अधिकृत नरवीर खड्कासमेत पक्राउ परेका छन् । अध्यागमनमा काम गरेका अधिकृत ताराबहादुर कुँवर फरार छन् भने अन्य केही कर्मचारीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । संगठित रूपमै अध्यागमनमा बिचौलियाले सेटिङ मिलाएको प्रहरीको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved