३१ महिनामा पूरा हुने डिपिआर छ वर्षमा पनि बनेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 08:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एकतिस महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत आयोजनाको काम सुरू गरिएकामा छ वर्ष बित्दा पनि काम पूरा हुनसकेको छैन।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।

पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

 विद्युत उत्पादन गृहमा माटो जाँचका लागि खनिएको सुरूङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ।

अब तीन सय ५५ मिटर सुरूङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जिनियर पदम थापाले बताए।

आयोजनको वातावरणीय प्रभाव मूल्यांकन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डिपिआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उनले जानकारी गराए

उक्त नगरपालिकाको वडा ७ स्थित दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ को अँधेरी खोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ।

उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभाननजिकै भूमिगत पावर हाउस निर्माण गरिने जनाइएको छ।

बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरूङ र दुईदेखि तीन किलोमिटरसम्मका तीन वटा सहायक सुरूङ बनाइने भएको छ। पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइने छ।

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ। आयोजनामा चारवटा टर्बाइन राखिने छन्।

प्रत्येक टर्बाइनबाट १०४ दशमलव २५ मेगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा एक हजार दुई सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ।

आयोजनाबाट उत्पादित विद्युत चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत् कोहलपुर सबस्टेसनमा जोड्ने योजना छ। आयोजनास्थलबाट कोहलपुरसम्म एक सय १२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ।

आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved