नेपाल–बंगलादेशबीच ऊर्जा सचिवस्तरीय पाँचौं बैठक आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 09:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ । विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।

६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुने ऊर्जा मन्त्रालयलेले जनाएको छ। जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ। 

यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबरको बिजुली नेपालले बंगलादेशमा बेच्ने सहमति भएको थियो। यसै अनुरुप गत फागुनमा भारतको राजस्थानमा भएको १० औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालको ५० मेगावाट बिजुली बंगलादेशसम्म निर्यात गर्न दिन भारतीय पक्ष सहमत भएको थियो। 

यसै अनुरुप लिखु ४ को बिजुली बेच्न भारतसमक्ष नेपाल सरकारले प्रस्ताव गरेको थियो। तर यसमा अहिलेसम्म भारतले स्वीकृति दिएको छैन । पटक–पटक हुने सरकार परिवर्तनका कारण यसअघि भएका सम्झौता नेपालले कार्यान्वयनमा ल्याउन नसकेको उद्यमीहरु बताउँछन्।

गत भदौमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय चौथो बैठकले दुई देशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले भारतसँग पहल गर्ने सहमतिसमेत भएको थियो। तर, गत फागुनको नेपाल–भारत सचिवस्तरीय बैठकमा यसबारे कुनै सहमति हुन सकेन।

बैठकमा ऊर्जा व्यापारका विषयमा प्राथमिकताका साथ छलफल हुने मन्त्रालयले जनाएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा आइतबार दुई देशका निजी क्षेत्रबीच भएको छलफलमा पनि विद्युत व्यापारको विषयले प्रवेश पाएको थियो। मन्त्री साउदले आइतबार नै प्रधानमन्त्री शेख हसिनासँग भेट गरेर विद्युत व्यापारका बारेमा छलफल गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved