चुनाव नजिकिदै गर्दा इप्पानमा बढ्यो विवाद, निर्वाचन निर्देशिका माग्न जाँदा झण्डै हात हालाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 12:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो व्यवसायीहरुको संगठन स्वतन्त्र उर्जा उत्पादक संघ, इप्पानको आगामी नेतृत्त्व चयनको विषयमा विवाद बढेको छ । नेतृत्व चयनको लागि तयार पारिएको निर्वाचन निर्देशिकालाई लिएर विवाद बढेको हो ।

इप्पानको अध्यक्ष पदको लागि संस्थापन समुहबाट गणेश कार्की र किरण मल्लले उम्मेदवारी घोषणा गरेका छन् । गणेश कार्की हालको कार्यसमितिमा उपाध्यक्ष छन् भने मल्ल हालको कार्यसमितिमा छैनन् ।

विधानमा भएको व्यवस्थाको विपरित निर्वाचन निर्देशिका जारी गरिएको मल्ल समुहको आरोप छ । मल्ललाई चुनाव लड्नको लागि रोक्न निषेधको राजनीति गरेको र विधानले चुनाव लड्न पाउन व्यवस्था गरेकोमा निर्वाचन निर्देशिका मार्फत त्यसको अपव्याख्या गरेको आरोप मल्ल समुहले लगाएको छ ।

इप्पानको विधानमा पदाधिकारीको लागि उम्मेदवारी दिन कार्यसमिति सदस्य भई कम्तिमा एक कार्यकाल सम्पन्न गरेको हुनु पर्ने व्यवस्था छ । तर इप्पानले जारी गरेको निर्वाचन निर्देशिकामा भने अध्यक्ष पदमा उम्मेदवारी दिनको लागि बरिष्ठ उपाध्यक्ष सरहको योग्यता चाहिने उल्लेख छ । बरिष्ठ उपाध्यक्ष हुनको लागि पदाधिकारी भई एक कार्यकाल सम्पन्न गरेको हुनु पर्ने व्यवस्था विधानमा रहेको छ ।

विधानमा पदाधिकारीको लागि उम्मेदवारी दिन कार्यसमिति सदस्य भई कम्तिमा एक कार्यकाल सम्पन्न गरेको हुनु पर्ने व्यवस्था हुँदा हुदै निर्वाचन निर्देशिकामा बरिष्ठ उपाध्यक्ष सरहको योग्यता चाहिने उल्लेख गरिएपछि विवाद बढेको हो। मल्ल समुहले यसबारे जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको छ ।

मल्ल समुहले निर्वाचन निर्देशिका आफुहरुलाई हेर्न पनि नदिएको गुनासो गरेका छन् । सोमबार इप्पानको कमलादी स्थित कार्यालयमा मल्ल समुह निर्वाचन निर्देशिका लिनको लागि भन्दै गएको थियो । सो समयमा विवाद भएपछि झन्डै हात हालाहालको स्थित सिर्जना भएको मल्ल समुहका एक उम्मेदवारले बताए ।

इप्पान निर्वाचनको लागि आज जेठ ३० गते उम्मेदवारहरुले मनोनयन दाखिला गर्ने कार्यक्रम छ । उम्मेदवारी फिर्ताको लागि जेठ ३१ गते ३ बजेसम्मको समय तोकिएकोले अझै पनि सहमतिको प्रयास जारी गरेको संस्थापन पक्षले जनाएको छ । यस अघि पनि सहमति मै नेतृत्व चयन गरिएकोले यस पटक पनि सहमति मै नेतृत्व चयनको लागि प्रयास गरिने संस्थापन समुहले जनाएको छ । तर मल्ल समुह भने संस्थापक समुहले निषेधको राजनीति गरेको भन्दै चुनाव नै लड्ने तयारीमा रहेको बुझिएको छ । 

मतदान भने जेठ ३२ को लागि तोकिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved