विद्युत व्यापारका लागि निजी क्षेत्र योग्य भइसके, सरकारले बाटो खोलोस्: इप्पान अध्यक्ष आचार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 12:16:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् । इप्पानको २१ औं साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि बताए ।

‘अनेकौ बाधा व्यवधानका बाबजुद देश उज्यालो बनाउनका लागि ऊर्जामा लगानी गर्ने निजी क्षेत्रका साथीहरूप्रति आभारी छु ।‘ आचार्यले भने ।

जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकोले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यले बताए ।

‘पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ ।‘ आचार्यले अगाडि भने ।

नेपालको विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा, ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन, ११ हजार मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको आचार्यले बताए ।

आजको दिनमा खपत बढाउनु भने चुनौती रहेको आचार्यले बताए । औद्योगिक, सिंचाई, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा खपत बढाउनु पर्ने उनले बताए ।

विद्युत उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए ।

‘एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरू आज १०० मेगावाटको आयोजना बनाइरहेका छन् । अब निजी क्षेत्रले जत्रो आयोजना पनि बनाउन सक्छ । सरकारले सहयोग गरिदिनुपर्‍यो ।‘ आचार्यले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण यो पटक ऊर्जा केन्द्रित भएको पनि आचार्यले बताए । ‘विगतका भ्रमण राजनीतिक केन्द्रित हुन्थे । यसपटक आर्थिक मुद्दामा केन्दरित भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीको लागि खुशीको कुरा हो ।‘ आचार्यले भने ।

‘भारतमा १० हजार मेगावाट विद्युत निर्यातको समझदारी भएको छ । तर, यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको पाइन्छ । हामी सकारात्मक छौ । हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज ४०० मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत पनि निर्यात हुनेछ ।‘ उनले भने ।

‘जसरी उत्पादनमा निजी क्षेत्र नआउँदा सम्म विद्युत उत्पादन बढेन, त्यसैगरि व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न सक्दैन । हामी विद्युत व्यापार गर्न योग्य छौ, तयार छौ । सरकारले अनुमति दिएर वातावरण बनाइ दिनुपर्छ ।‘ उनले भने ।

नियर्यात गर्न पाइयो भनेर खुशी भएर मात्र पुग्दैन । देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको आचार्यले जोड दिए ।

‘समृद्ध नेपाल निर्माणमा अघि बढीरहेका छौ । त्यसको आधार ऊर्जा नै हो । । देशभित्र मात्रै नभएर देशबाहिर बंगलादेशसम्म जाने वातावरण बनाउँ । ७ मन्त्रालय, २२ विभाग र २०० टेबलमा जानुपर्ने अवस्था अन्त्य गरौ ।‘ उनले भने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved