‘नयाँ आयोजना बनाउन हकप्रद निष्काशन गरिएको हो, छुजुङ्गखोला बनेपछि राम्रो लाभांश दिन्छौ’

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Nov 27, 2023 | 04:30:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 घलेम्दी हाइड्रोपावर लिमिटेडले मङ्सिर १० गतेदेखि हकप्रद बिक्री गरिरहेको छ । कम्पनीले  १ः२ अनुपात अर्थात २०० प्रतिशतले हुन आउने १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता सेयर निष्काशन गरेको हो ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५९ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी  गर्ने कम्पनीले जनाएको छ। 

यसै प्रसङ्गमा कम्पनीको अवस्था, छुजुङ्ग खोला आयोजना, कम्पनीका भावी योजनाका विषयमा बिजपाटी डटकमले कम्पनीका संचालक नारायणबाबु अधिकारीसँग कुराकानी छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

घलेम्दी हाइड्रोको अयोजना कस्तो अवस्थामा छ ?

कम्पनीले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ मा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ ।  घलेम्दी हाइड्रोको आयोजना आर्थिक वर्ष २०७३/७४ देखि नै सम्पन्न भएको हो । तर हाम्रो पुरै बिजुली बिक्री भईरहेको छैन । अहिले हिउँद महिना सुरु भईसक्दा पनि प्राधिकरणले पूर्ण क्षमातामा आयोजना संचालन गर्न दिएको छैन । प्राधिकरणले उत्पादित बिजुलीको ५० प्रतिशत मात्र खरिद गरिरहेको छ । हामीले ७७/७८ मा ६ करोड ९१ लाख, ७८/७९ मा ९ करोड १८ लाख , र ७९/८० मा ९ करोड हाराहारीको विद्युत बिक्री गरेका थियौ । हाम्रो आधा पनि बिजुली बिक्री भएको छैन  दानाबाट बर्दघाट प्रसारण लाइन सुचारु भएपछि हाम्रो पुरै बिजुली राष्ट्रिय प्रसारण लाइनमा जान्छ । यो वर्षको अन्त्यमा प्रसारण लाइन बनेर पुरै बिजुली बेच्न सक्नेमा आशावादी छौ ।

हकप्रद बिक्री सुरु भएको छ, पुरै हकप्रद बिक्री हुनेमा आशावादी हुनु हुन्छ ?

हाम्रो सबै शेयर डिम्याट भएको छैन । अहिले २६६ जना शेयरधनीको ३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर डिम्याट भएको छैन । सोहि कारण ८० प्रतिशतसम्म हकप्रद बिक्री हुन्छ भन्ने अनुमान छ । कतिपय शेयरधनी नेपाल बाहिर हुनुहुन्छ, शतप्रतिशत हकप्रद बिक्री नहुन सक्छ । शेयर डिम्याट नगराएका शेयरधनीले पनि हकप्रद भर्न सक्ने व्यवस्था गरेका छौ । म्याग्दीमा पनि फारम बुझाएर हकप्रद भर्न सक्ने व्यवस्था गरेका छौ । म्याग्दीमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, प्रभु बैंकका शाखाबाट फारम भरेर हकप्रद भर्न सक्ने व्यवस्था गरेका छौ ।  अहिले विदेशमा भएकाको शेयर डिम्याट भएको छैन । म्यादी मै सकेसम्म बढी आवेदन पर्ने गरि व्यवस्था गरेका छौँ ।

हकप्रदको रकम के मा कति खर्च हुन्छ ?

हकप्रदबाट ११० करोड रकम उठ्छ । सबै रकम नै सांग्रिला उर्जा लिमिटेडमा लगानी गर्छौ। त्यसो हुँदा नै सांग्रिला उर्जा लिमिटेडमा घलेम्दीको ६० प्रतिशत शेयर लगानी हुन्छ । सांग्रिला उर्जा लिमिटेडले ६३ मेगावाटको छुजुङ्गखोला जलविद्युत आयोजना निर्माण गर्ने छ ।  

कस्तो आयोजना हो छुजुङ्गखोला ?

सो आयोजना अर्धजलासययुक्त आयोजना हो, ४ महिना हामीले पिकिङमा चलाउन सकिन्छ । यस आयोजनाको बाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर पनि बढी हुन्छ । प्रति मेगावाट लागत १४ करोड  ७६ लाख रहेको छ । २०८४ सालमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।  

घलेम्दीको ऋण कतै छ, कहिलेसम्म तिर्ने योजना छ ?

हाम्रो ऋण ९४ करोड रहेको छ । तर अहिले छुजुङ्गखोला आयोजना निर्माण सम्पन्न गर्ने हो भने त्यसबाट आएको लाभांशले नै हामीलाई ऋण तिर्न पुग्छ । सोहि कारण हामीले ऋण नतिरेर छुजुङ्गखोलामा लगानी गर्ने छौ । अब यो वर्ष देखि हामीले सबै बिजुली बेच्न सक्छौ । आम्दानी बढेपछि  ऋण तिर्न समस्या हुदैन ।

घलेम्दीको लाभांश कहिले आउछ ?

छुजुङ्गखोला निर्माण सम्पन्न भए पछि मात्र लाभांश दिन सक्छौ । ८४ साल अगाडी लाभांश दिन गाह्रो छ । यो वर्ष आयोजना पूर्ण क्षमतामा चलाउन सक्छौ । ८४ सालपछि घलेम्दीको लाभांश र शांग्रिलाको लाभांश गरि धेरै नै राम्रै लाभांश दिन सक्छौ। 

घाटामा रहेको कम्पनीको २ सय प्रतिशत हकप्रद किन भर्ने ?

छुजुङ्गखोलाको रुपमा हामीले राम्रो आयोजना अगाडी बढाउँन लागेका छौ । अहिले छुजुङ्गखोला आयोजना बनाउन हकप्रद निष्काशन गरिएको हो । छुजुङ्गखोला आयोजना बनेपछि ८४ सालपछि निरन्तर राम्रो आम्दानी र लाभांश पाउन सकिन्छ । घलेम्दीको आफ्नो आम्दानी र छुजुङ्गखोलाको आम्दानीले सिनर्जी इफेक्ट हुन्छ  । शेयरधनीले राम्रो लाभांश पाउँछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved