
चाडपर्व सुरु भएसँगै भारतीय बजारमा
किनमेलका लागि नेपालीहरूको भरिभराउ छ । विगत वर्षहरूमा जस्तै यस बर्षपनि नेपालीहरू
किनमेलका लागि भारतीय बजार सम्म पुगेका हुन् । कैलाली र कञ्चनपुरबाट नजिकै रहेका
भारतीय बजार बनगाँउ, तिकुनीया, कजरीया पलिया, सुडा
तथा बनबाँसामा किनमेलका लागि नेपालीहरू पुग्ने गरेका हुन् ।
धनगढी बजार भन्दा केही सस्तोमा सामान
पाइने भन्दै धेरै उपभोक्ता भारतीय बजारसम्म पुग्ने गरेको बताउँछन् । चाडपर्व सुरु
भएसँगै थुप्रै नेपालीहरू नजिकै रहेको भारतीय बजारमा जाने गरेका हुन् ।
गौरीफन्टानाका हुँदै उनीहरू भारतीय बजारमा खाद्यान्न, दाल, चिनी देखि लत्ताकपडा किन्न जाने
गरेका हुन् ।
धनगढी ०३ विशालनगरकी सुशिला कार्कीले
केही सामान सस्तो पाइने भएपछि दसैंको समान किन्न वनगाउँ बजार आएको बताइन् ।
नेपालभन्दा भारतीय बजारमा सामान
सस्तो पाइने भएकाले उतै जाने गरेको उनी बताउँछिन् । ‘चिनी, दाल, कपडा धनगढी बजारको भन्दा केही सस्तो पाइन्छ’, उनले भनिन् ।
चाडपर्व आएपछि वनगाउँ बजारसम्म
पुग्ने गरेको उनको भनाइ छ । धनगढी ७ की सबिना चौधरीले पनि दसैंमा बच्चाहरूका लागि
तथा घरपरिवारको लागि लुगा किन्न बनगाउँ बजार गएको बताइन् । ‘धनगढीमा एक हजार पर्ने
सुटलाई चार, पाँच सय सम्म दिन्छन्’, उनले भनिन् ।
सस्तो कपडा पाइने भएपछि साथीहरूसँग
वनगाउँ बजार आएको उनले बताइन् । धनगढी बजारमै सस्तोमा सामान पाइने भइदिए दुःख गरेर
भारतीय बजार सम्म पुग्नु नपर्ने उनको भनाइ छ । दसैंमा मात्र होइन तिहार, छठ तथा
विवाह भोजका लागि सामान किन्नु पर्ने भएमा धेरै नेपालीहरू भारतीय बजारमा जाने
गरेका छन् ।
धनगढी उपमहानगरपालिका ३ का राजु
कटुवाल भने पैसा बचाउन बनगाउँ जाने गरेको पक्षमा छैनन् । उनी भन्छन्,‘कहिले २० रुपैयाँ जोगाउन ३० मिनेट हिँड्नुपर्छ,
कहिले ३० मिनेट जोगाउन २० रुपैयाँ तिर्नुपर्छ । नत पैसा ठुलो नत समय नै । सबैभन्दा
ठुलो आवश्यकता हो ।´
उनले पैसा बचाउन भन्दा पनि फराकिलो
बजारमा मनलाग्दो चिज किन्न सकिने भएर जाने गरेको हुनसक्ने बताए । दसैंको सामाग्री
किनमेल गर्न नेपालीहरु दैनिक हजारौंको संख्यामा भारतीय बजार जानेको भिड छ ।
‘केही रुपैयाँ सस्तो सामान पाउने
भन्दै नेपालीहरू भारतीय बजार जान्छन् । तर गुणस्तरमा ध्यान दिँदैनन् ’, किराना व्यवसायी संघ कैलालीका अध्यक्ष लक्ष्मण
राज पन्तले बताए । ‘हामीले भन्सार कर तिरेर सामान ल्याउने हुँदा केही महङ्गो हुन्छ,
तर ग्राहकलाई मार पर्ने गरी महङ्गो हुँदैन,’
उनले भने । अखाद्य बस्तुहरू नेपालीहरूले उपभोग गर्न बाध्य हुने गरेको उनको भनाई
छ । चिनी मात्रै केही सस्तोमा पाइने भएपनि अन्य बस्तुको मुल्यमा खासै फरक नरहेको उनले बताए । ‘नेपाली बजारमा
चिनीको मूल्य ७९ रुपैयाँ प्रतिकेजी छ । भारतीय बजार वनगाउँमा ७७ रुपैयाँ
प्रतिकेजीका दरले चिनी किन्नकै लागि २ घण्टा लाइन बस्ने गर्छन्´, उनले भने । नेपालीहरूको करोडौं रुपैँया
भारतीय बजारमा जाने गरेको उनको भनाइ छ ।
‘नेपालमा पाइने सामान गुणस्तरीय हुने
गरेको भएपनि तर नबुझेरै धेरै नेपालीहरू सस्तो पाउने भरमा भारतीय बजार सम्म पुग्ने
गरेका छन्,’ अध्यक्ष पन्तले भने । केही सामान
नेपाली बजारमा महँगो हुने गरेको भए पनि गुणस्तरीय हुने गरेको उनले बताए ।
चाडपर्व तथा कुनै भोज भतेरमा
नेपालीहरू सस्तो पाउँने आशामा भारतीय बजार पुग्ने गरेका छन् । केही साना व्यापारीहरूले
पनि फलफूल तथा तरकारीहरू भारतबाट ल्याउने गरेका छन् । यसरी भारतबाट आउने सामानमा
गुणस्तरीय भने नहुने कैलाली उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले खाद्यान्न तथा अन्य
सामानहरूमा गुणस्तरीयता भने नहुने बताए ।
‘धनगढी बजार छोडेर भारतीय बजार जाँदा
नेपाली बजारमा पनि असर पर्छ’, उनले
भने । यसका लागि भन्सार कार्यालय कैलालीले पनि कडाइ गर्नुपर्छ । भारतीय बजारमा
नेपाली उपभोक्ता जाने गरेमा यसले नेपालको अर्थतन्त्रलाई पनि असर पर्ने बताए ।
भन्सारबाट यसरी भित्रिने सामानमा प्रशासनको ध्यान जानुपर्ने उनको भनाइ छ । यस्तै
उनले यसमा भन्सार कार्यालय कैलालीले के कस्ता बस्तु कसरी आइरहेका छन् भन्ने कुरामा
ध्यान दिनुपर्ने बताए ।
भारतीय बजारमा कैलाली र कञ्चनपुरबाट
मात्रै नभएर सस्तो सामान पाउने भन्दै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरू
भारतीय बजार सम्म जाने गरेका छन् ।
झलक दवाडी/धनगढी