
तिहारको मुख्य दिन आज नेपालभर भाइटिका पर्व मनाईदैछ। दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर भाईटिका मनाउने गरिन्छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु सनातनीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
यमपञ्चक समेत भनिने तिहारको आजको दिन दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक देवमणि भट्टराईको भनाई छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा तय गरेको छ। यद्दपि भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नहुने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीको भनाई छ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने बताइन्छ। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।