कहिले खुल्छ दशैँको लागि अग्रिम टिकट बुकिङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 04:40:12 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं नजिकिएसँगै काठमाडौँमा रहेकाहरुलाई दशैँमा घर जानको लागि अग्रिक टिकट बुकिङको चासो बढेको छ । ढिलो हुँदा नपाइने हो कि भन्ने चिन्ताले आम नागरिकहरुमा अग्रिम टिकट बुकिङ खुल्ने समयको पर्खाइमा छन् ।

तर सरकारले भने हालसम्म पनि अग्रिम टिकट बुकिङबारे छलफल समेत गरेको छैन । सरकारले अग्रिम टिकट बुकिङ खुलाउनु अगाडी बृहत छलफल कार्यक्रम संचालन गर्ने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्वमा यातायात सेवा सुव्यवस्थित बनाउन असोज ५ गते बृहत बैठक बस्ने बताएका हुन् ।

दशैँ तिहार लगायतका चाडपर्वको बेला यात्रुहरुलाई सास्ति नहुन सरकार, ट्राफिक प्रहरी प्रदेश सरकार, स्थानीय सरकार र यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेको भन्दै उनले बृहत छलफल गर्ने बताएका हुन् । चाड पर्वको बेला नाफाको लागि भन्दा पनि सेवाको भावले सेवा दिन उनले यातायात व्यवसायीलाई अनुरोध गरेका छन् । जसकालागि सरकार तथा मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता समेत मन्त्री ज्वालाले व्यक्त गरे। 

यातायात व्यवस्था विभागले पनि दशैमा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुहरुको लागि अग्रिम टिकट बुकिङबारे निर्णय भइनसकेको जनाएको छ । यातायात व्यवसायी लगायात सबै सरकारवालासँग छलफल गरेर मात्र टिकट बुकिङका लागि मिति तय गर्ने विभागका सुचना अधिकारी इश्वरी दत्त पनेरुले बिजपाटीलाई जानकारी दिए । 

अग्रिम बुकिङको बारेमा हालसम्म कुनै छलफलनै नभएको उनले पनि स्वीकार गरेका छन् । यद्यपि दशै आउनुभन्दा १५ दिन अगाडिदेखि नै बुकिङ खुल्ला हुने उनले प्रष्ट पारे । 

उनले भने,'अहिले यसबारे छलफल भएको छैन, हामी छिट्टै  सबै सरोकारवाला निकायसँग सहमति गरेर निर्णय गर्छौँ । तर, दशै सुरुहुनु भन्दा १५ दिन अगाडि नै बुकिङ खुल्ला गर्छौ।’

यता यातायात व्यवसायीले भने यथास्थितिमा दशैंमा सेवा दिन जटिल हुने गुनासो गरेका छन् । प्रतिकुल बाटो, यातायात भाडादर र ट्राफिक व्यवस्थाले गदा यात्रुलाई सेवा दिन गाह्रो पर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।  उनले मुग्लिन पोखरा, नारणगढ बुटवल, ढल्केबर, कोशी ब्यारेक लगायत विभिन्न सडकहरुमा समस्या भएकाले सेवा दिन जटिल भएको बताए । 

उनले प्रश्न गर्दै भने,'बाटो बिग्रिएर मुग्लिन देखि पोखरा पुग्न १० घण्टा लाग्छ । नारायणगढ देखि बुटवलको हालतपनि त्यस्तै छ । पश्चिम भेगको बाटोहरुमा पनि धेरै समस्या छ । यस्तो अवस्थामा हामिले कसरी सेवा दिने ?' 

उनले चाडपर्वको बेला ट्राफिकले जथाभावि चेकिङ गरेर दुख दिने गरेको पनि बताए । यस्तै, गएको चैत महिनासम्म सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने भएतापनि हालसम्म समायोजन नभएको भन्दै उनले गुनासो गरे ।  

गत बर्ष असोज एक गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको थियो । सो वर्ष असोजको १९ गते दशैको टिका रहेको थियो । यस वर्ष दशै ढिला भएकोले अग्रिम टिकट बुकिङ पनि ढिलो नै हुने देखिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved