दिदीबहिनीले दाजुभाइको दीर्घ जीवन र उन्नतिको लागि कामना गर्ने तिहार चाड साँच्चै नै अद्भूत छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 10:12:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना राणा 

हाम्रो बाल्यावस्थामा आजको जस्तो आधुनिकता थिएन । चाडपर्वहरु मनाउँदा घरहरु भरिभराउ हुन्थे । एक खालको ‘जोइन्ट फ्यामिली’ हुन्थ्यो । आजभन्दा ३०/३५ वर्ष अगाडी काठमाडौँको वातावरण नै अर्कै थियो । हामी सानो हुँदा तिहार मनाउने, भाइटिका लगाउने, लक्ष्मी पूजा गर्ने भनेको केवल रमाइलो मात्रै थियो । तिहार भन्नासाथ म आफ्नो बाल्यकालको स्मृतिमा फर्किने गर्छु । त्यतिबेला रमाउने र खुशी हुने भन्ने मात्रै हुन्थ्यो । कुनै पनि जिम्मेवारी बोध हुँदैनथ्यो, तिहारको महत्व पनि बुझेका हुँदैनथ्यौँ ।

तर, उमेर र जिम्मेवारी बढ्दै गएपछि चाडपर्वको महत्व पनि आफैँ बुझिँदै गइँदो रहेछ । दिदीभाई र दाजुबहिनीहरुको यो खालको ‘बन्डिङ’को विशेष महत्व रहेछ । दिदीबहिनीले दाजुभाइको पूजा गरेर उनीहरुको दीर्घ जीवनको लागि, उनीहरुको राम्रो स्वास्थ्यको लागि, उन्नति र प्रगतिको लागि कामना गर्ने कुरा साँच्चै नै अद्भूत लाग्छ । बाल्यकालमा दाइभाइको पूजा किन गरिरहेको छु भन्ने जानकारी हुँदैनथ्यो, त्यो केवल रमाइलोमा मात्रै सिमित थियो । तर, जब म ‘म्याचुअड’ हुँदै गएँ, तब यसको महत्व अध्ययन गर्न थाले । बुझ्दै जाँदा यो साँच्चै नै अनुकरणीय, मौलिक र अद्भूत लाग्यो । सँगै, बुझ्दै गएपछि म बढी उत्साहित पनि भएँ । दाजुभाइप्रतिको माया पनि बढ्दो रहेछ । 

अहिले म हरेक वर्ष मेरो भाइ, मेरो काकाको छोरा र मेरा मामाका दुइ भाइ छोरा गरी ४ जना भाइहरुलाई टिका लगाउँछु । बाल्यकालमा तिहारको महत्व बोध नहुँदैदेखि टिका लगाइरहेको छु, जब महत्व बोध हुँदै गयो, तब अझ बढी उत्साहका साथ उनीहरुको दीर्घायू, राम्रो स्वास्थ्य र उन्नति प्रगतिको कामना गरेर टिका लगाउने गरेको छु ।

हामी बाल्यावस्थामा हुँदाको तिहारको अनुभव र अहिलेका बालबच्चाको तिहारको अनुभव फरक हुन्छ । म आजभन्दा ३५ वर्ष अगाडी फर्केर हेर्दा त्यतिबेला काठमाडौँको अवस्था अहिले जस्तो थिएन । अहिले काठमाडौँ भनेको अवसरको खोजी गर्ने शहर बनेको छ । हामी सानो छँदा सबै कुरा घरघरमै बनाइन्थ्यो, अहिले किनमेल गरिन्छ । 

काठमाडौँमा पहिला पहिला घरमा काम गर्ने मान्छे राख्ने चलन पनि थियो । त्यतिबेला घरमा काम गर्नेहरुलाई काममा लगाउनेहरुले चाडवाडमा खासै वास्ता गर्दैनथे, छुट्टि पनि दिँदैनथे । काम गर्नेहरु पनि अहिले जस्तो गाउँ जाने गर्दैनथे । अहिले अवस्था फेरिएको छ । कतै घरमा काम गर्ने मान्छे राखेका छन् भने पनि चाडवाड भनेको उनीहरुको पनि हो, उनीहरु पनि रमाउन पाउनुपर्छ भनेर समयमै छुट्टि दिने गरिन्छ । देशको अवस्था परिवर्तन हुँदै जाँदा, अर्थतन्त्रको आकार बढ्दै जाँदा हरेक नागरिकको कर्तव्य पनि बढ्दै जान्छ । अहिले कर्तव्य बढेको अनुभूति सबैले गर्न थालेको जस्तो लाग्छ ।

सँगै, म पर्यटन व्यवसायमा भएको हुनाले मान्छेहरुमा आन्तरिक घुमफिर गर्नुपर्छ भन्ने कुरा पनि बढेको पाउँछु । दशैँ तिहारको बिदामा देशको कुनै गन्तव्यमा घुम्न निस्कने भन्ने नयाँपन सुरु भएको छ । छुट्टिको समयलाई ‘फेमिली होलिडे’का रुपमा लिने चलन सुरु भएको छ । आजभन्दा ३० वर्ष, ३५ वर्ष अगाडी ‘होलिडे’मा घुम्न जानुपर्छ भन्ने सोच नै थिएन ।

मैले पनि यसपालीको तिहार चाहिँ अलिकति फरक तरिकाले मनाउने योजना बनाएको छु । हरेक वर्ष भाइहरुलाई घरमै टिका लगाउँथे भने यसवर्ष चाहिँ हामी चितवन जाँदैछौँ । विगतमा घरमा जम्मा भएर टिका लगाउँथ्यौँ, एक छाक खाना खाएर छुट्टिन्थ्यौँ । यसपाली चाहिँ २÷३ दिन नै सँगै हुने गरी योजना बनाएको छु । यो दुइ तीन दिन खाजा, खाना दाइभाइसँगै खाएर उनीहरुसँग अलि बढी समय बिताउने योजना छ । यसका लागि मैले सुरुमा उनीहरुलाई तिमीहरुको फुर्सद छ कि छैन भनेर सोधेँ । उनीहरु पनि खुशी भए । यसरी यसवर्षको तिहार चाहिँ मैले फरक तरिकाले मनाउँदैछु ।

तिहारमा भाइहरुलाई दिने मसला बनाउने काम पनि सुरु गरिसकेको छु । मसला, मिठाई र फलफूल दिने चलन हुन्छ । हाम्रो मौलिक संस्कृति अनुसार भाइपूजामा चाहिने अझ महत्वपूर्ण कुरा चाहिँ ४ वटा चिज छन् । बिमिरो, नरिवल, हाँडे ओखर र कटुस । यी चार कुरा पूजाकै लागि चाहिन्छ । अर्को मैले नछुटाउने मखमलीको माला हो । तिहारमा प्रयोग हुने हरेक वस्तुको आ–आफ्नै महत्वसहितको कथा नै छ । मखमलीको फूल किन प्रयोग गर्ने भन्दा त्यो कहिल्यै ओइलाउँदैन । मेरा दाजुभाइको उमेर पनि सधैँ यस्तै होस् भनेर कामना गर्दै मखमली फूलको माला लगाइदिने गरिन्छ । 

भाइहरुलाई राखेर तेल र पानीले छेकेर घुमेपछि त्यो घेरा तोडेर शत्रु आउन सक्दैनन् भन्ने विश्वास छ । यसरी सबै कुराहरुको आफ्नै महत्व दर्साइएको छ । त्यहीँ भएर म पनि विधिपूर्वक भाइहरुलाई तेल लगाइदिएर, पूजा गरेर टिका लगाउँछु ।

अर्को कुरा तिहार भन्ने बित्तिक्कै मलाई लक्ष्मीपूजा एकदमै रमाइलो लाग्छ । मैले घरमा गाइ पालेको छु । जनै पूर्णिमामा गुरुले हातमा बाँधिदिएको रक्षाबन्धन लक्ष्मी पूजाको दिन गाइको पुच्छरमा बाँधेमा मोक्ष प्राप्त हुने जनविश्वास छ । मैले पनि रक्षाबन्धनको दिन बाँधेको डोरो फुकाएर लक्ष्मी पूजाका दिन गाइको पुच्छरमा बाँध्नका लागि राख्ने गर्छु । हरेक वर्ष उक्त डोरो गाइको पुच्छरमा बाँध्छु ।

मलाई जनावरहरुमा कुकुर मनपर्ने जनावर हो । तिहारमा कुकुर पूजा पनि राम्रोसँग गर्छु । 

तिहार भनेको दुःख बिर्सिएर दाजुभाइसँग रमाउने समय पनि हो । उनीहरुसँग यसो रमाइलोका लागि तास खेल्ने जस्ता रमाइला कामहरु पनि गरिन्छ ।

सँगै, मलाई अहिले हाम्रा चाडपर्वहरु आधुनिकताका नाममा मौलिकता हराउँदै गए कि भन्ने पनि लाग्छ । तर, अर्को कुरा विदेशमा बस्ने नेपालीहरुले त्यहाँ चाडवाड मनाएको हेर्ने पनि गर्छु । सामाजिक सञ्जालमार्फत धेरै कुरा सिक्न र हेर्न पाइन्छ । विभिन्न देशमा पुगेका नेपालीहरुले दशैँ तिहार मनाएको देख्न पाउँदा निकै राम्रो लाग्छ । अमेरिका, अष्ट्रेलिया लगायतका देशमा गएकाहरु सुरुसुरुमा मलाई अब नेपाली संस्कृति किन चाहियो भन्या जस्तो गर्छन् । तर, कालान्तरमा आफ्नो संस्कृतिमा फर्किएकै हुन्छन् । त्यो देखिएको छ । यसरी हाम्रा चाडहरु विश्वका विभिन्न देशमा मनाइँदा ति देशहरुमा पनि हाम्रा चाडवाडहरुको महत्व फैलिरहेको छ । म टुरिजम इन्डष्ट्रिमा छु, नेपालीहरुले दशैँ तिहार मनाएको हेर्न मात्रै आउने पर्यटकहरु पनि देखेको छु । काठमाडौँमा इन्द्रजात्रा मनाइन्छ, सानो हुँदा इन्द्रजात्राको रमाइलो हेर्न मात्रै कुदिन्थ्यो, अहिले यसको महत्व बुझेर सहभागी भइन्छ ।

अन्तितमा, म अहिलेका बच्चाहरुलाई बुझाउन पनि किताब पढेर हुन्छ कि, सामाजिक सञ्जालमा खोजेर हुन्छ कि चाडवाडमा गर्ने पूजाको महत्व र विधिबारे खोजी गर्छु । किनकी, अहिलेका बच्चाहरुलाई मन्दिर जाउ, देवताको पूजा गर भन्यो भने किन गर्ने भनेर प्रश्न सोध्छन् । विगतमा मन्दिर गएर पूजा त गरिन्थ्यो, तर अविर, अक्षता, फूल, पैसा मुर्तिभरी छरिन्थे । त्यसो गर्दा पूजा त भयो होला, तर मुर्तिको संरक्षण त भएन नि । राम्रोसँग अविर, फूलहरु राख्ने, दक्षिणा दान पेटीमा राखिदिने चलन सुरु भएको छ । यसो हुँदा पूजा पनि भयो, मुर्तिको संरक्षण पनि भयो । यस्ता जनचेतना पनि जगाउँदै जानुपर्नेछ । र, आफ्ना सन्नतिहरुलाई तिहार जस्ता चाडपर्वको महत्व पनि बुझाउँदै लैजानुछ ।

साथै, दशैँ र तिहार भनेका हाम्रा महत्वपूर्ण चाड हुन् । हाम्रा पूर्वजहरुले मनाउँदै आएका यस्ता चाडपर्वहरु भनेका हाम्रो नेपाली समाजका पहिचान पनि हुन् । दशैँमा ठूलाबडाको आशिर्वाद लिएको र तिहारमा दाजुभाइ र दिदीबहिनीको आत्मीयता हेर्न पनि विदेशीहरु आउँछन् । उनीहरुलाई हाम्रा चाडवाडहरु ‘युनिक’ लाग्छन् । हाम्रा चाडवाडले समाजको एकता, परिवारको एकता र भगवानप्रतिको आस्थासमेत जगाउँछन् । त्यसकारण युगौयुगसम्म हाम्रा चाडवाडले महत्व पाइरहुन् भन्ने आशा पनि व्यक्त गर्दछु । अहिलेको आर्थिक मन्दीको चपेटाबाट नेपाल र नेपालीले चाँडै मुक्ति पाउन सकुन् भन्दै लक्ष्मी मातासँग प्रार्थना पनि गर्दछु । र, सबै दिदीबहिनी दाजुभाइमा शुभ–दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सिर्जना राणा होटल अन्नपूर्णकी कार्यकारी निर्देशक हुन् 

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved