मेरो आमाबुबाको अन्तरजातीय बिबाह भएको हुनाले २ वटा संस्कृति अनुसार तिहार मनाउँछौ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 10:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अलिशा शाह 

बत्ती नै बत्तीको पर्व तिहार निजिकिएको छ । मलाई  तिहार भन्ने बित्तिकै आफ्ना बाल्यकालको याद आउँछ । आफूले बाल्यकालमा गरेको रमाईलोको याद आउँछ । म काठमाडौँमा जन्मिएकी हुँ । मेरो दाजुभाइहरु नभएका कारण मामाघरमा गएर मामा र आन्टीको छोराहरुलाई मैले टिका लगाउने गरेकी थिएँ । तर, अहिले २ जना भाइबाहेक सबै जना बाहिर हुनुहुन्छ । 

हामीले दुइ वटा संस्कारबाट तिहार मनाउछौँ । मेरो आमाबुबाको अन्तरजातीय बिबाह भएको हुनाले मेरो आमा नेवारको छोरी हो । आमाको संस्कारबाट पनि तिहार मनाईन्छ र बुबाको संस्कार अनुसार पनि तिहार मनाउँछौ ।

म सानैदेखि चित्रहरु बनाउने भएकोले लक्ष्मी पूजाको दिन रङ्गोली आफैँले बनाउने गर्थे । हाम्रो घरमा चाडपर्व आउँदा रङ्गोली अनिवार्य थियो । बाल्यकालमा आमाले नै सबै मालाहरु गासिदिनु हुन्थ्यो । अहिले चाहिँ सबै काम आफै गर्नुपर्छ । माला पनि आफै गाँस्छुु । गास्छु के भन्नु कामको व्यस्तताले गर्दा सबै मालाहरु बजारबाट नै किन्ने गरेकी छु ।

बाल्यकालको तिहारमा जुन उत्साह हुन्थ्यो अहिले त्यस्तो उत्साह हुँदैन । बाल्यकालमा फुर्सदिलो भइन्थ्यो अहिले व्यवहारिक भइएको छ । सानोमा सबै कुराको व्यवस्था आमाबुबाले मिलाइदिनु हुन्थ्यो । अहिले सबै कुराको व्यवस्था आफैँले मिलाउनु पर्छ । बाल्यकालमा सबै साथीहरु भेला भएर बाजा बजाउँदै देउसी भैलो खेल्न गइन्थ्यो । कसले गीत गाउने, कसले नाँच्ने भनेर बाल्यकालमा सिसाको बोतल बजाएर भैलो खेल्न जान्थ्यौँ । अहिले चाँहि कोही कता, कोही कता भएका छौँ । ठूलो भएपछि चाँहि अरुको घरमा जान पनि लाज लाग्दो रहेछ । त्यहीँ भएर अहिले देउसी भैलो खेल्न नै कम भएको छ । 

बाल्यकालमा भाइमसलाहरु सबै आमाले तयार गरिदिनु हुन्थ्यो । अहिले चाँहि भाइहरु पनि ठुला भए । म पनि कमाउने भए अहिले चाँहि भाइहरुको माग अनुसार नै सबै कुराको तयारी गर्ने गरेकी छु । 

बाल्यकालमा रमाइलोको लागि धेरै खेलहरु खेल्ने गरिन्थ्यो । त्यतिबेला पटाका धेरै पाउँदैन थियो । हामी चाँहि रकेट पड्काउँथ्यौँ । एकचोटी रकेटलाई बालेर उडाको घरको छतबाट तल झरेर सिधै हजुरबुबको सुरुवालमा छिरेको थियो । त्यो रकेटको आगो निभ्यो र मात्र नत्र त्यो त्यहीँ पड्किन्थ्यो होला । र एकचोटी भाइले पटाका हातमा नै पड्काएर अस्पताल लैजानु परेको थियो । तिहार भन्ने वित्तिकै त्यो पलको धेरै याद आउँछ मलाई । र, रमाईलोको लागि सबै जना भेट हुँदा तास पनि खेलिन्थ्यो । अहिले पनि तिहारमा सबै जना भेट हुँदा परिवारमै बसेर तास खेल्छौ । 

बाल्यकालमा फुर्सदिलो भइन्थ्यो, त्यहीँ अनुसार तिहार मनाइन्थ्यो । अहिले चाँहि तिहारको अघिल्लो दिनसम्म पनि हामी व्यस्त नै हुन्छौ । ४ ओटा शोरुममा पूजा गर्नुपर्छ । कर्मचारीहरुलाई पनि तलब दिनु पर्छ । त्यहि अनुसारको जति सकिन्छ, त्यति नै रमाइलो गरेर तिहार मनाउने गरेको छु । पहिला आफू खुसी भएर तिहार मनाइन्थ्यो भने अहिले हामीले अरुलाई खुसी बनाएर तिहार मनाउने बेला आएको छ । आफ्नो करियर सुरु गरेपछि चाँहि चाडपर्वको लागि समय घटेको जस्तो हुँदो रहेछ । किनकी धेरै व्यस्त भइन्छ ।

बाल्यकालमा आमाले धनतेरशमा घरमा आवश्यक सामानहरु किनेर ल्याउनु हुन्थ्यो । मैले चाँहि कहिले सिक्का नै लिन्छु कहिले चाँहि तामाको भाडा लिने गरेकि छु । यसपालीको तिहार विशेष छ । किनकी अष्ट्रेलीयाबाट दिदी आउनु भएको छ । सबै जना मिलेर घरमै रमाईलो गर्ने प्लान गरेका छौँ । 

तिहार भनेको हिन्दु धर्मावलम्बीहरुको महान चाड हो । यो पर्वमा जति व्यस्त भएपनि आफ्ना लागि समय निकालेर सबैको भेट हुन्छ र रमाईलो गरिन्छ । यो पर्वले सबैलाई एकै ठाउँमा ल्याउन सहयोग गर्छ । 

अन्त्यमा, यो एउटा सांस्कृतिक पर्व हो यसलाई त्यससरी नै मनाऔ । विकृति नफैलाउँ । आजकाल चार्डपर्व भन्ने वित्तिकै जाड रक्सी धेरै खाने जुवा तास धेरै खेल्ने गरेको पाईन्छ । चाडपर्व आयो भन्दैमा समाजमा हानी हुने कुराहरु धेरै खाने र खेल्ने गर्नु हुँदैन । देखासीखी गरेर धनको खर्च पनि गर्नु हुँदैन । पटाकाहरु व्यवस्थित तरिकाले पड्काऔँ, । सकेसम्म नपड्काएकै राम्रो किनकी घरपालुवा जनावरहरुलाई हानी गर्न सक्छ भन्दै सबैलाई तिहार दिपावलीको शुभकामना दिन चाहन्छु । 

अलिशा शाह राइनो नेपाल लेदर क्राफ्टकी निर्देशक हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved