कालीगण्डकीबाट २० लाखको सयपत्री फूल बिक्री

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Nov 13, 2023 | 09:08:29 AM मा प्रकाशित

laxmi  sunrise bank

‘फूलैफूलको पालिका’को पहिचान बनाउँदै गरेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले २० लाख रूपैयाँको सयपत्री फूल बिक्री गरेको छ । गाउँपालिका र कृषकहरूले उत्पादन गरेको फूल सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँमा निर्यात गरिएको थियो । पालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल बिक्रि भएको जानकारी दिए ।

पालिकाले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । प्रतिरोपनी ९ हजारका दरले अनुदान दिइएको र ६० रोपनी क्षेत्रफलमा फूल खेती गरिएको कृषि शाखा प्रमुख पौडेलले बिजपाटीलाई बताए । सयपत्री फूल बिक्रिबाट पालिकाले २५ लाख आम्दानीको लक्ष्य राखेको छ।

फूलखेतीका लागि पालिकाले अनुदानको साथै प्राविधिक र बजारीकरणमा समेत सहजीकरण गर्दै आएको बताएको छ । मिर्मी बहुमुखी क्याम्पस, ध्रुब ज्योती माध्यमिक विद्यालयले समेत फूल खेती गर्दै आएका छन् । मिर्मी बहुमुखी क्याम्पसकी स्ववियु सभापति मुना न्यौपानेले फूल खेतीबाट क्याम्पसले वार्षिक १५ देखि २० हजार अतिरिक्त आम्दानी गर्ने गरेको र क्याम्पसको सौन्दर्य वृद्धिमा समेत टेवा पुगेको बताइन्।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले फूलको बजार खोज्ने काम पालिकाले गरेकाले तिहारको समयमा फूल बिक्रीमा समस्या नरहेको बताए। 

गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले पालिका फूलमा आत्मनिर्भर भएको र कालीगण्डकीको फूल देशका ५ वटा प्रदेशमा निर्यात हुने गरेको बताए। बारीचौर होमस्टेबाट सुरू भएको फूलखेती अहिले पालिकाका सबै वडामा फैलिसकेको उनको भनाई छ। कृषकलाई फूलखेतीमा आकर्षित गर्न र व्यवसायिक बनाउन पालिकाले पनि १५ रोपनी क्षेत्रफलमा फूलखेती गरेको बताउँदै अध्यक्ष थापाले कृषकलाई आवश्यक पर्ने सबै प्रकारका आर्थिक, प्राविधिक र बजारिकरणमा सहयोग गरिएको जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved