मेरो तिहार आधा घरमा र आधा मामा घरमा हुन्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 09:56:22 AM मा प्रकाशित

laxmi  sunrise bank

समता पन्त (भट्ट)

मेरो नाम समता पन्त हो । मेरो जन्म काठमाडौँ ठमेलमा भएको हो । म अहिले नेपाल बैंकमा कामु सीईओको रुपमा कार्यरत छु । मेरो संयुक्त परिवार थियो र अहिले पनि छ । काकाको छोरा छोरीसँग एकदम आत्मियता भएर हामी हुर्कियौ । मेरो आफ्नो दाजुभाईहरु छैनन् । मैले काका, मामा र फुपुको छोराहरुलाई तिहारको टिका लगाउँछु । बाल्यकालमा तिहारको लागि विद्यालय बिदा भएदेखि नै हामी सबै जना सँगै बस्ने तासहरु खेल्ने गरेर रमाइलो गथ्र्यौँ ।

हाम्रो ४ तले ठूलो घर थियो । त्यो घर अहिले पनि छ । सानामा त्यो घर सफा गर्ने काम सबै हाम्रो हुन्थ्यो । र चामलको पिठो घोलेर अइपन हाल्ने काम हामी नातीनातीनाको हुन्थ्यो । त्यतिबेला रमाइलो अर्कै हुन्थ्यो । जिम्मेवारी केही पनि बोक्नु परेको थिएन । हाम्रा परिवार ठुलो भएकाले बच्चाहरु नै १०–११ जना हुन्थ्यौ । त्यसैले तिहार धेरै रमाइलो हुन्थ्यो । 

अहिले चाहिँ छोराछोरीको रमाईलो हेर्ने बेला आयो । अहिले आफूलाई जिम्मेवारी बढी हुन्छ, अफिस पनि भ्याउनु पर्यो । त्यसले गर्दा किनमेल कहिले गर्ने होला कसरी भ्याउने होला भन्ने स्थिति हुँदो रहेछ ।  हामीले बाल्यकालमा गरेको रमाईलो अहिले हाम्रो छोराछोरीले गर्ने गरेका छन् ।

बाल्यकालमा सबैजना मिलेर देउसी भैलो खेलिन्थ्यो । र उठेको पैसाले पछि तिहार सकिएपछि पिकनिक गइन्थ्यो । अहिले पनि नखेल्ने भन्ने हैन । मेरो बिबाह गरेर आएको परिवार पनि ठुलो छ । नन्द आमाजु मात्र ४ जना हुनुहुन्छ । उहाँहरु असाध्यै रमाइला खालका हुनुहुन्छ । उहाँहरु असाध्यै रमाइलो गर्न मन पराउने भएकाले घरमा लक्ष्मी पूजा गरिसकेपछि आफूले चिनेको ठाउँमा भैलो खेल्न जान्थ्यौ । लगभग दुई वर्ष अगाडीसम्म त्यस्तो गथ्यौँ । तर, २ वर्षदेखि छुटेको छ । 

अहिले जिम्मेवारी बढेको छ । घर सफा गर्नेदेखि सबै काम आफैँले भ्याउनु पर्छ । त्यसैले अहिले मेरो छोरा र छोरीको लागि चाहिँ विशेष तिहार भएको छ । मेरो २ ओटा छोरा र एक जना छोरी छन् । मेरो छोरीले त अहिले नै देखि मलाई तिहारमा के गिफ्ट दिने भनेर भन्न थालिसकेकी छे । 

मैले सानो देखि नै दाजुभाइहरुलाई सामान्य लुगा र खानेकुराहरु दिने गरेकी छु । लुगा भन्दा पनि उनीहरुलाई मनपर्ने खानेकुराहरुलाई नै प्राथमिकता दिने गरेकी छु । किनकी आफूले ल्याएको लुगा उनीहरुलाई मन पर्छ कि मन पर्दैन जस्तो लाग्छ र आँट गर्न सक्दिनँ । त्यसैले सकेसम्म उनीहरुले खाने र खेर नजाने खालका मिठाइ, फलफूल र भाइमसलाहरु दिँदै आएकी छु । 

मैले टिका आधा घरमा आधा मामा घरमा लगाउने गरेकी छु । घरमा फुपुको छोराहरुलाई लगाएर मामाघर नजिकै भएकाले मामाको छोराहरुलाई लगाइदिन जाने गरेकी छु । 

बाल्यकालमा एकदम सम्झन लाएक क्षणहरु त केही पनि छैन । बाल्यकालको जुन सम्झना छ जि मेरो लागि त्यो नै विशेष छ । बाल्यकालका भाइबहिनीहरु मध्ये अहिले कोहि कता कोहि कता पुगेका छन् । तिनीहरुसँग कहिले भेट होला जस्तो हुन्छ । तर, अब त्यो सम्भव छैन । हाम्रो घरमा ठूलो बारी थियो सयपत्री फूलहरु पनि त्यहीँ रोप्ने गरिन्थ्यो । त्यो बेलाको त्यो सम्झना नै अर्कै छ । 

२ वर्ष अगाडी दशै र तिहारको बीचमा रारा जाने भनेर हामी सम्पूर्ण परिवार रारा गयौँ । तिहारको सपिङ चाँहि रुपडियामा गर्ने भन्ने कुरा भयो । त्यो दिन चाँहि त्यहाँ के को चुनाव रहेछ । हामी एक दिन बसेर किनेर आएका छौँ । यहाँ आएर किन्दा नि हुन्थ्यो, त्यहाँ भन्दा काठमाडौँमा सस्तो हुन्थ्यो । तर, हामी एक दिन बसेर किनमेल गरेका छौँ । त्यो दिन सम्झेर अझै पनि हाँस उठ्छ । 

पहिला पहिला चाँहि सामान किन्न असन जाने गर्थे । अहिले चाँहि सबै सामानहरु आफ्नो घर नजिकैको होलसेल पसलबाट खरिद गर्ने गरेकी छु ।

धनतेरसमा सानो सुन किन्ने गरेकु छु । त्यो भएन भने चाँदी भएपनि किन्ने गरेकी छु ।  

मेरो माइतमा त काग पूजादेखि नै छोरी चेलीले ५ दिनसम्म ढोकामा पिनाको दियो बाल्ने चलन थियो । मलाई त्यो नै विशेष क्षण लाग्छ । पहिला र अहिलेमा फरक छ । पहिला रमाइलोको लागि चाडपर्व खुल्ला रुपले मनाउने गरिन्थ्यो अहिले धेरै जिम्मेवारी बढेका कारण पहिलाजस्तोे हुँदैन रहेछ । 

यो दशै तिहार भनेको हाम्रो प्रमुख चाड हो । यसलाई कहिले पनि मास्न दिनु हुँदैन । हाम्रो पहिचान भनेकै दशै तिहार हो । यो पर्वलाई जसरी हुन्छ मनाएर हामीले हाम्रो संस्कृतिलाई जोगाएँदै जानुपर्छ । हुनत अहिले आको परिवर्तनले यो चार्डपर्व अझ राम्रो हुँदै जान्छ भन्ने मैले सोचेकी छु । 

लक्ष्मी पूजा सबैको विशेष हुन्छ । हाम्रो त झन विशेष हुन्छ । हामीले लक्ष्मी पूजामा लक्ष्मीलाई एकदम मनपर्ने अनर्सा (अनरसा) बनाउनु नै पर्ने हुन्छ । मखनाको खिर चडाएर १६ वटा दियो बालेर घरमा लक्ष्मी पूजा गर्ने गरेका छौँ । अफिसको लक्ष्मी पूजामा कहिले पनि बसेकी छैन । लक्ष्मी पूजाको लागि हामीले प्रत्यक शाखा कार्यालयमा बजेट दिने गरेका छौँ । प्रमुख कार्यालयमा ढुकुटी नहुने भएका कारण पूजा गर्दैैनौ । 

सानोमा तास खेलिन्थ्यो अहिले सबैजना भेला भको बेलामा कौडा खेलिन्छ रमाइलोका लागि । अहिले मेरो छोराछोरीले तास खेल्छन् । सम्पुर्ण परिवार भेट भएपछि टिकाको दिन कौडा खेल्ने गरेका छौँ । यो रमाइलोको लागि खेल्ने हो । यसलाई घरबार नै बिग्रने गरेर खेल्नु हुँदैन । यो अति बढि नै भएका कारण सरकारले निषेध लगाएको हो । यसलाई रमाइलोका लागि १/२ घण्टामात्र खेल्यौ रमाइलो हुन्छ, त्यो पनि परिवारका सदस्य मात्रै बसेर ।

म सबैलाई के भन्न चाहान्छु भने तिहार एउटा सांस्कृतिक पर्व हो यसलाई त्यसरी नै मनाऔँ । विकृति नफैलाउँ । सकेसम्म पैसाको महत्व बुझ्नु पर्छ । म बैंकिङ क्षेत्रमा पनि भएको भएर सबैले अनावश्यक खर्च नगरौँ भन्न चाहन्छु । पैसाले पैसा नै तान्छ त्यो कुरा बुझौँ पनि भन्न चाहन्छु । पैसाको सही सदुपयोग गर्न सके अर्थतन्त्रदेखि व्यक्तिसम्म सबैलाई फाइदा हुन्छ भन्दै सबैलाई तिहारको शुभकामना दिन चाहान्छु ।

समता पन्त (भट्ट) नेपाल बैंक लिमिटेडकी निमित्त प्रमुख कार्यकारी अधिृकत हुन् । 

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved