तिहारका लागि दशैंको दक्षिणा खर्च नगरी राख्थेँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 10:06:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चन सापकोटा 

उज्यालो झिलीमिलीको पर्व तिहार हाम्रो घरआँगनमा भित्रिसकेको छ । तिहारभन्ने बित्तीकै घर सिंगारेर चिटिक्क पार्न एकदम मनपर्छ मलाई । तिहारमा भाइटिका त विशेष दिन नै भइहाल्यो, त्यसका साथै घर सिगार्ने, रंगोली बनाउने, बत्ती बाल्ने, भैली खेल्ने कुरा मनमा आइहाल्छ । जुन मलाई बाल्यअवस्था देखि नै औधी मन पथ्र्यो ।

म काठमाडौंको स्थायी बासिन्दा । बाल्यकाल चण्डोलमा बिताएकी मैले बिहेपछि मेरो घर मैतिदेवी हो । एउटा भाईकी एक्ली दिदी भएकोले बाल्यअवस्थादेखि नै भाइको निधारमा सप्तरंगी टिका सजाउने मेरो मात्रै काम हुन्थ्यो । 

तिहार आउँदा सबैभन्दा यादगार हुने बाल्य अवस्था नै रहेछ । बाल्यअवस्थामा तिहारका लागि भाइलाई उपहार दिने सामान किन्नका लागि दशैंको दक्षिणा खर्च नगरी राख्थे । सामान दिंदा पनि भाइलाई सोधेर दिने गर्थें । सानो बेला आफूले भाइका लागि खानेकुरा जस्तो रोटी अचार, भाइमसला लगायत सबै आमाले नै तयार पारिदिनुहुन्थ्यो । आमाले तिहारका लागि सेलरोटी, चिनी रोटी लगायतका परिकार बनाउनु हुन्थ्यो । तर बिहे गरिसकेपछि गरेपछि आमाले गर्र्नुपर्ने कार्य आफैंले गर्दै आएको छु । 

सानो छँदा तिहारमा देउसीभैलो गाएको निकै सम्झना आउँछ । अहिले पनि त्यत्तिकै मन पर्छ, म मेरो छोराको लागि पनि देउसी भैलो खेल्न प्रोत्साहीत गर्छु । हामी बाल्यकालमा समूह बनाएर देउसी–भैलो खेल्न जान्थ्यौं । हामी समूह बनाएर आफैं गीत गाउन, भट्याउने र राती अबेर ११/१२ बजेसम्म देउँसी खेल्ने गथ्र्यौं । पौराणीक कहानी सहित देउसी(भैलो भट्याउथ्यौं । मनमा बेग्लै आनन्द आउथ्यो । तर अहिले त्यस्तो गरिंदैन् । अहिले त देउसी भैलो खेल्ने युवा तथा बालबालिका पनि नै कम भए जस्तो लाग्छ । देउसी भैलो खेल्ने तौरतरिकामा पनि निकै भिन्नता आएको छ । देउसी खेल्नका लागि पहिले नै जानकारी गराएर निश्चित समयमा मात्रै खेलिन्छ । बालबालिकाहरु पनि पहिले हामी खेलेजसरी स्वस्फूर्त रुपमा देउसी भैलो खेलेको पाइँदैन् । 

देउसी भैलो भनेपछि हुरुक्क्ै हुने म सानो छँदा देउसी भैलो घरमा आएर खेलेको एकदमै मनपथ्र्यो । देउसी आएपछि दक्षिणा दिनका लागि म र हजुरआमा राती अबेरसम्म कुरेर बस्थ्यौं । साना भाइबहिनीहरुदेखि लिएर दाजुदिदीहरु पनि समूह बनाएर देउसी खेल्न आउँथे, हामी पनि छरछिमेकमा देउसी खेल्थ्यौँ । नाङ्लोमा विभिन्न किसिमका रोटी, फलफूल, अक्षता, पैसा र बत्ती बालेर निकै सजाएर देउसी भैलोलाई दिने गथ्यौं । म सानो छँदा तिहारको समयमा बालिएका मैनबत्ति निभाउनु हुँदैन भन्ने परम्परा थियो । म बत्ती नभिभोस भनेर रातभरि कुरेरै बस्थें । अहिले पनि ती दिनहरुको खुब याद आउँछ । तर, अहिले परिस्थिती फेरिएको छ । आजभोली तिहारमा बालिने मैनबत्तीको सट्टा थरिथरिका ईलोक्ट्रोनिकका बिजुली बत्तीहरुले झिलीमिली पारिन्छ । फेरिएको शैलीसँगै रौनकता पनि कता कता हराउन थालेको होकी जस्तो महसुस हुन्छ ।

तिहारको सबैदिन मलाई रमाइलो लाग्छ, त्यसमा पनि विशेष चाँही भाइटीकाको दिन लाग्छ । तिहारमा भाइटिकाको दिन भाइलाई टिका लगाई दिने गरेको छु । भाइटिकाका लागि सयपत्री र मखमलीको माला अत्यावश्यक नै हो । म भाइलाई लगाइदिने सयपत्री र मखमलीका माला आफैं गाँस्ने गर्छु । तर, विगतमा जस्तो अहिले दिदी बहिनीले आफैं माला गाँसेको पाइंदैन् । बजारमा नै तयार गरिएका माला किनेर माला लगाउने प्रचलन बढेको छ । मैले भने भाइका साथै घरमा तिहारका समयमा गरिने पुजा आराधान जस्तो, लक्ष्मी पुजा, कुकुर पुजा लगायतका लागि समय मिलेसम्म आफैं माला गाँस्न गरेको छु ।

भाइमसलाका लागि म बजारमा प्याकिङ भएका ‘ट्रे’ किन्दिनँ, आफैँ बनाउँछु । भाइका लागि मन पर्ने मसला किनेर ल्याउँछु र त्यसलाई केलाएर आफैं तयार तयार गर्ने गरेको छु । तिहारमा लक्ष्मी पूजा पनि विशेष रुपमा मनाउने गरिन्छ । त्यसदिन आँगनदेखि पूजा कोठासम्म लक्ष्मीका पाइला बनाइ लक्ष्मी भित्र्याउने गरिन्छ । मैले पनि घरमा लक्ष्मी भित्र्याउने, रंगोली बनाउने सबै काम आफैं गर्छु । 

समयक्रमसँगै अहिले धेरै कुरा परिवर्तन भएका छन् । पहिला बाल्यअवस्थामा आफूलाई मन पर्ने र रमाउने गरिन्थ्यो । अहिले जिम्मेवारी थपिएको छ । परिवारमा एउटा बुहारी, आमा, श्रीमती साथै एउटा महत्वपूर्ण संस्थाको जिम्मेवारी तहमा कार्य गर्नुपर्दा सबै कुरा ब्यालेन्स मिलाएर गर्नुपर्ने हुन्छ । 

बाल्यअवस्थामा भाइलाई दिने उपहारका लागि पनि पहिला सोधेर निकै समय खर्चेर ममिसँग गएर किन्ने गर्थें, अहिले त्यस्तो छैन् । अफिसमा पनि समयमा नै पुग्ने मेरो बानी छ । त्यसपछि पुरै कार्यालय समय अफिसलाई दिएर त्यसपछि साँझ तिर त्यसो नभए बिदाका दिन सपिङ्गमा जाने गर्छु । अहिले त अनलाईन माध्यमबाट पनि सपिङ्ग गर्न सकिने हुँदा त्यसले पनि केही सहज बनाएको छ ।

तिहारमा तास खेल्ने र पट्का पड्काउने पनि गरिन्छ । तर मलाई त्यसप्रति भने खासै रुची छैन । तर, तिहारका लागि आफ्नो परिवारभित्र बसेर सौहार्द पूर्ण तरिकाले तास भने खेल्न भने सकिन्छ । पछिल्लो समय दशैं तिहारका बिदाको मौका छोपेर देश विदेश घुम्न जाने प्रचलन एकदमै बढेर गएको छ । मलाई महत्वपूर्ण चाडपर्वमा यसरी घुम्न जाने विषय भने त्यत्ति ठीक लाग्दैन । यो समयमा त अभिभावकले आफ्ना बाबु नानीलाई चाडपर्व रितीरिवाजबारे जानकारी दिनुपर्छ ।

पाँचदिनसम्म मनाइने तिहारका आफ्नै शैली र परम्परा रहेका छन् । त्यसको जगेर्ना गर्नका लागि आफ्ना बालबच्चालाई त्यसको महत्वका बारे जानकारी दिनुपर्छ । अभिभावकले घमुरे आफ्नो खुसी मात्रै नखोजी आफ्ना बालबालिका र परिवारका लागि समय दिनुपर्छ ।  

अन्त्यमा, सम्पूर्ण आमनेपाली आमाबुवा, आफन्तजन, शुभचिन्तक तथा सम्पूर्ण पाठकलाई सुस्वस्थ्य एवंम दिर्घायुको कामनासहित शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !!

कञ्चन सापकोटा सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)की सञ्चालन विभाग प्रमुख हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved