डलरको भाउ बढ्दा जहिल्यै घट्ने सुनको भाउ यसपाली किन बढिरहेको छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 01:13:20 PM मा प्रकाशित

laxmi sunrise bank

अमेरिकी डलरको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा पनि सुनको भाउ बढिरहेको छ । डलरको भाउ बढ्दा सुनको भाउ समान्यतया घट्छ । तर, विगत केही दिनदेखि निरन्तर उकालो लागिरहेको डलरको भाउ आज नेपाली रुपैयाँ अनुसार १३१ रुपैयाँ ६७ पैसा पुगेको छ । 

डलरको भाउ उच्च हुँदा पनि सुनको भाउ घट्नुको सट्टा बढिरहेको छ । तर, अन्तराष्ट्रिय बजारमै सुनको भाउ बढेकाले त्यसको असर नेपालमा परेको भने होइन । 

आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १६ सय ८० डलर छ । हिजोको तुलनामा आज अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेको छ । तर, नेपाली बजारमा भने आज हिजोको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले महँगिएर तोलाको ९३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

नेपालमा चाहिँ किन बढ्यो सुनको भाउ ?

डलर बढ्दा सुनको भाउ घट्ने विश्वब्यापी अभ्यास हो । किनकी, अन्तराष्ट्रिय लगानीकर्ताले डलर घट्दा सुनमा र सुन घट्दा डलरमा लगानी बढाउँछन् । तर, यसपटक भने डलरको भाउ आकासिँदा पनि सुनको भाउ घट्ने नभई बढ्नेतर्फ उन्मुख छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य अन्तराष्ट्रिय बजारमा डलरमा भाउ बढेकाले डलर तिरेर खरिद गर्नुपर्दा नेपालमा सुनको भाउ बढेको बताउँछन् । 

‘अहिले नेपाली बजारमा सुनको भाउ ९३ हजारको वरीपरी छ’ उनले भने, ‘डलर बढ्दा सुनको भाउ घट्नुपर्ने हो, अन्तराष्ट्रिय बजारमा घटेको पनि छ । तर, नेपालमा हामीले बढेको डलरको भाउ अनुसार खरिद गर्नुपर्ने भएकाले मूल्य बढेको हो ।’

उनले पहिला १ तोला सुन आयात गर्दा तिर्ने डलर र अहिले सोही परिमाणको सुन आयात गर्दा तिर्नुपर्ने डलर बढी भएकाले नेपालमा सुनको भाउ केही बढेको जस्तो देखिएको तर, प्रतितोला ९३ हजारको वरीपरी नै रहेकाले यसलाई अहिलेको अन्तराष्ट्रिय मूल्य अनुसार खासै बढेको भन्न नमिल्ने दाबी गरेका छन् ।

भाउ घट्ने ‘चान्स’ छैन

महासंघका उपाध्यक्ष शाक्यले तत्काल सुनको भाउ घट्ने संकेत नरहेको बताएका छन् । नेपालीहरुले सुन खपत गर्ने समय (तिहार–धनतेरश र मंसिर–बिहेको सिजन)मै सुनको भाउ थप घट्ने संकेत नदेखिएको उनको भनाई छ ।

‘अन्तराष्ट्रिय राजनीतिक प्रभाव पनि छ, रुस–युक्रेन युद्ध मथ्थर हुने देखिएको छैन, विश्व बैंकले विश्वभरी आर्थिक मन्दी आउने प्रक्षेपण गरिसकेको छ’ शाक्यले थपे, ‘डलरको भाउ पनि घट्ने देखिँदैन । डलरको अनपेक्षित रुपमा घट्यो भने मात्रै हो, नत्र सुनको भाउ अहिलेको भन्दा तल चाहिँ आउँदैन ।’

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved