किन बढिरहेको छ सुनको भाउ ? अझै कति माथी जाला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 12:27:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउले दिनदिनै रेकर्ड तोडिरहेको छ । आज आइतबार एकैदिन २९ सयले बढेर सुनको प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । आजको सुनको भाउ हालसम्मकै उच्च हो ।

त्यसो त सुनको भाउले उचाई लिनुमा नेपालको आन्तरिक कारण खास हुँदैन । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गर्ने गर्दछ । विश्व बजारमा सुनको आपुर्ति सिमित हुँदा र माग बढ्दा भाउ पनि उच्च भइरहेको छ । 

अहिले सुनको भाउ बढ्नुमा मुख्यतया ५ वटा कारण देखिएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेड)को ब्याजदर नीति, चीनले सुनमा गरिरहेको लगानी, विश्वका ठूला अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले गरिरहेको सुनको खरिद, शक्ति राष्ट्रहरुको भूराजनीतिक द्वन्द र विश्व अर्थतन्त्रमा देखिएको शिथिलताले सुनको भाउ बढाइरहेको छ । अन्तराष्ट्रिय समाचार संस्था सीएनबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार यी विभिन्न कारणले बढिरहेको सुनको भाउ थप आकाशिने प्रक्षेपण पनि गरिएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडले मार्चमा ब्याज घटाउने अनुमान गरिएको थियो । तर, घटाएन । अब जुन महिनामा मात्रै ब्याजदर घटाउने अनुमान गरिन थालेको छ । त्यतिबेला ब्याजदर घट्दा सुनको भाउ बढ्ने आशा गरेर अहिले विश्वका ठूला ठूला लगानीकर्ताहरुले सुनमा लगानी बढाइरहेको अन्तराष्ट्रिय रिपोर्टहरुमा उल्लेख छ ।  ‘कमोडिटी मार्केटमा ब्याजदर घट्छ र मूल्य बढ्छ भन्ने अनुमान गरिँदा सुनको माग बढिरह्यो भने आपूर्ति कमजोर बन्यो, जसका कारण मूल्य बढिरहेको छ’ अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको रिपोर्टको सार छ । 

साथै, विश्वका ठूला अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकहरूले पछिल्लो २ वर्षमा निकै धेरै सुन खरिद गरेको र उक्त सुन केवल भण्डारणका लागि खरिद गरिएकाले बजारको आपुर्ति प्रणालीमा उपलब्धता कम हुँदा पनि मूल्य बढेको रिपोर्टहरुमा उल्लेख गरिएको छ । ति देशका केन्द्रीय बैंकहरुले २ वर्षमा १ हजार ६० टन सुन किनेको बताइन्छ । 

सीएनबीसीकै रिपोर्टलाई आधार मान्ने हो भने सुनमा विश्वका ठूला देशहरुले लगानी अझै बढाउने देखिएको छ । यी विभिन्न कारणले बढिरहेको सुनको भाउ थप आकाशिने प्रक्षेपण पनि गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका एक जना पदाधिकारी पनि रियल स्टेट र क्यापिटल मार्केटमा विश्वभरी नै सुस्तता देखिएकाले लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको माग पक्ष बलियो हुन गई आपुर्ति कमजोर बनेको र फलस्वरुप दिनदिनै भाय बढिरहेको बताउँछन् । तर, अहिले नै सुनको भाउ यतिसम्म बढ्न सक्छ भनेर पूर्वानुमान गर्न सकिने अवस्था भने नरहेको तर, यहीँ शिलशिला कायम रहे केही दिनमा नै सुनको भाउले प्रतितोला १४० हजारको आँकडा पार गर्ने देखिएको ति पदाधिकारी बताउँछन् । 

‘सुनको भाउ घट्ने संकेत देखिएको छैन, बढ्ने नै देखिन्छ’ ति पदाधिकारी भन्छन्, ‘अन्तराष्ट्रिय रुपमा गरिएका अनुमान र विभिन्न अन्तराष्ट्रिय मिडियाको रिपोर्ट हेर्दा अहिलेको भाउमा ५ प्रतिशतसम्म अझै बढ्ने अनुमान गर्न सकिन्छ ।’

नेपालका सुनचाँदी व्यवसायीहरुका अनुसार सुनको भाउ दिनदिनै बढ्न थालेपछि अहिले माग घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved