सरकारले तत्काल बिदेशबाट चिनी नकिन्ने भएको छ । केही हप्ता अघि बजारको सन्तुलन कायम गर्न ५० हजार मेट्रिकटन चिनी तत्काल खदिर गर्नुपर्ने भनिएपनि सरकारले आन्तरिक चिनी उद्योगलाई मजबुत बनाउन भन्दै बाहिरबाट आयात नगर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वदेशी चिनी उद्योगले नै आफूहरुसँग पर्याप्त मौज्दात रहेको जानकारी दिएपछि सरकारले खरिद प्रक्रिया थालनी नगरेको जानकारी दिएका छन् ।
‘सरकार किन्न चाहेको मूल्यमा नै हाम्रा स्वदेशी उद्योगीहरुले चिनी दिन्छु भन्नु भएको छ’ उनले भने, ‘बजार भाउभन्दा सस्तोमा यही पाउने अवस्था रहेकाले तत्काल बाहिरबाट ल्याउने प्रक्रिया थालिएको छैन ।’
साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चिनीको मौज्दात सकिँदै गएको भन्दै खरिद प्रक्रिया थाल्नुपर्ने बताएको थियो । तर मन्त्रालयमा उद्योगीहरुले ३ महिनाको लागि पुग्ने चिनी स्टक रहेको भन्दै बिदेशबाट ल्याउनुपर्ने अवस्था नरहको जानकारी गराएपछि मन्त्रालयले अहिले नै चिनी नल्याउने भएको हो ।