८१ उद्योगले ५ अर्ब विदेशी लगानीको श्रोत देखाउन सकेनन्, विभागमा गुहार माग्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 13, 2023 | 01:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका उद्योगहरुमा विदेशबाट लगानी भित्र्याउन निश्चित सीमा पुरा गर्नुपर्छ । लिखित सम्झौता पनि हुन्छ । 

कानूनी रुपमा परिपक्क भएर लगानी भित्र्याउने गरिन्छ, तर नेपालमा यसरी विदेशी लगानी भित्र्याएका ८१ उद्योगका सञ्चालक भने त्यो लगानीका श्रोत देखाउन नसक्दा भौँतारिएर हिडिरहेका छन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमुताविक रु ५ अर्बको विदेश लगानीको श्रोत देखाउन नसकेपछि ती उद्योग अहिले उद्योग विभागमा हारगहार गर्न पुगेका छन् ।

उद्योग विभागले विदेशी लगानीको प्रमाण देखाउन नसकेका त्यस्ता उद्योगको समस्या सुल्झाउन सकिन्छ की भनेर  पहल थालेको छ । विभागले सूचना नै जारी गरेर त्यस्ता उद्योग तथा कम्पनीलाई विवरणसहित आउन भनेको छ । सोही सूचनाका आधारमा ८१ वटा उद्योग विभागको सम्पर्कमा आइपुगेका छन् ।

विभागले मंसिर २६ गते सूचना जारी गर्दै विदेशी लगानी ल्याएर उद्योग सञ्चालनमा रहेको तर, विदेशी लगानी नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी राष्ट्र बैंकबाट लेखाङ्कन र लेखाङ्कन समर्थन नभएका उद्योगहरुका लागि विदेशी लगानी ल्याएको प्रमाण ३५ दिनभित्र पेश गर्न भनेको थियो । 

ती उद्योगले विभागमा पेश गरेको विवरणमा कुल ४ अर्ब ८९ करोड ९६ लाख ७३ हजार ९२२ रुपैयाँ रकम विदेशी लगानीका रुपमा नेपाल भित्रिएको देखिन्छ । तर उनीहरुले स्रोत देखाउन नसक्दा लेखाङ्कन अड्किएको छ । 

विवरण लिएर पुगेका कम्पनीहरुले आफूहरुले विदेशी लगानी भित्र्याएर काम गरिरहेको तर, राष्ट्र बैंकको निर्देशन अनुसार स्रोत देखाउन नसक्दा लेखाङ्कन र लेखाङ्कन समर्थन प्राप्त हुन नसकेको गुनासो गरेको विभाग स्रोतले बताएको छ । 

विदेशी लगानी स्वीकृत गरी उद्योग दर्ता भई सेयर लगतसमेत कायम भएका तर, विदेशी लगानी वापतको रकम नेपाल भित्र्याएको प्रमाण पेश गर्न नसकी राष्ट्र बैंकबाट लेखाङ्कन/लेखाङ्कन समर्थन नभएका उद्योगको शेयर खरिद बिक्री, पुनःलगानी, लगानी फिर्ता लैजानेलगायतका जटिलता हुँदै आएको छ । 

उक्त गुनासो आएपछि त्यसको सम्बोधनका लागि सहजिकरण गर्न विभागले त्यस्ता उद्योग तथा कम्पनीहरुलाई विवरणसहित आउन भनेको थियो । विभागका अनुसार माघ १३ गतेसम्म ८१ वटा कम्पनीहरुले आफूहरुले ४ अर्ब ८९ करोड ९६ लाख ७३ हजार ९२२ रुपैयाँ विदेशी लगानी ल्याएको तर यसको प्रमाण पेश गर्न नसकेको भनेर विवरण उपलब्ध गराएका छन् ।

‘यी ८१ कम्पनीहरुको कुल पूँजी २८ अर्ब ५३ करोड ८१ लाख १४ हजार ३२७ रुपैयाँ देखिएको छ, यसमध्ये विदेशी लगानी ५ अर्ब ९ करोड ६३ लाख २९ हजार ५३७ रुपैयाँ भित्रिएको देखियो’ विभाग स्रोतले भन्यो, ‘भित्रिएको मध्ये ४ अर्ब ८९ करोड ९६ लाख ७३ हजार ९२२ रुपैयाँको लेखाङ्कन हुन नसकेको भन्ने विवरण आएको छ । यसबारे अध्ययन भइरहेको छ ।’ 

लेखाङ्कन हुन नसकेको भनिएको विदेशी लगानीको शेयर लगत भने कायम भएको देखिएको छ । कम्पनी रजिष्टारको कार्यालयले ५ अर्ब ५० करोड ४५ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको शेयर लगत कायम गरिदिएको पाइएको विभागले जनाएको छ ।

कम्पनी तथा उद्योगहरुले विभागमा बुझाएको विवरणमा कम्पनी उद्योगको नाम, ठेगाना, उद्योग स्वीकृतिको उद्देश्य, उद्योगको कुल पूँजी, कुल पूँजीमध्ये विदेशी लगानीको प्रतिशत रकम, विदेशी लगानी स्वीकृत भएको मिति, हालसम्म भित्रिएको विदेशी लगानीको रकम र मिति, लेखाङ्कन हुन नसकेको रकम, कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगत कायम भएको रकम र मिति, राष्ट्र बैंकबाट लेखाङ्कन/लेखाङ्कन समर्थन हुन नसकेको कारण र त्यसबाट परेको समस्या उल्लेख छ । 

यसबारे अध्ययन भइरहेको विभाग स्रोतले बताएको छ । विभागमा विवरण बुझाउने ८१ उद्योगहरुमा पर्यटन तथा उत्पादनमूलक उद्योग तथा कम्पनीहरु छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved