कोशी प्रदेशका उद्योगहरु क्षमताको ४० प्रतिशतमा मात्र संचालन, केही उद्योग ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 03:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कोशी प्रदेशमा रहेका उद्योगहरु औसतमा ४०.६ प्रतिशत क्षमतामा मात्र संचालन भईरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक घरेको कोशी प्रदेशको अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा यस अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४०.६ प्रतिशत रहेको छ ।

गत वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४८.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार विशेष गरी ईटा, वनस्पति घिउ, भटमासको तेल, कच्चा छाला, आदि वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा कमी आएको छ । कोइलाको आपूर्तिमा भएको ढिलाईतथा मागमा आएको कमीको कारण ईटाको उत्पादनमा कमी आएको र भारतीय बजारमा निर्यात हुने गरेको भटमासको तेललेभारतीय बजारको उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको कारण त्यसको उत्पादनमा समेत कमी आएको देखिन्छ ।

 गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा यस अध्ययनमा समेटिएका उद्योगहरुमध्ये प्रशोधित चिया उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ८५.४ प्रतिशत रहेको छ भने ईंटा र वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम क्रमशः शुन्य प्रतिशत र ५.१ प्रतिशत रहेको छ ।

गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा यस अध्ययनमा समेटिएका औद्योगिक उत्पादनमध्येचिनी उद्योगकोउत्पादन सबैभन्दा उच्च दरले बढेको छ भने ईंटा उद्योगको उत्पादन शत प्रतिशत तथा भटमासको तेलको उत्पादन ८९.० प्रतिशतले घटेको छ ।

२०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ५.५ प्रतिशतले बढेर रु.१ खर्ब २७ अर्ब रहेको छ । २०७९ पुस मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २३ प्रतिशत रहेको छ ।

त्यस्तै प्रदेशमा सेवा तर्फ आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा वाह्य पर्यटक आगमनको संख्या २३.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा समेत वाह्य पर्यटक आगमनको संख्या उच्च दरले बढेको थियो ।

  समीक्षा अवधीमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका थप ९ वटा शाखा विस्तार भएका छन्।  २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशभित्र परिचालन गरेको निक्षेप ०.७ प्रतिशतले ह्रास भई रु.३ खर्ब ६४ अर्ब पुगेको छ । समीक्षा अवधिमा कर्जा प्रवाह २.० प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५६ अर्ब पुगेको छ ।

प्रतिवेदन अनुसार २०७९ पुस मसान्तमा कोशी प्रदेशको कर्जा निक्षेप–अनुपात १५२.७ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६६.६ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved