कुलमानको ज्यादती थेग्न नसक्ने भन्दै लाइन नकाटिएका १९ उद्योगीले आफ्नै उद्योगमा लगाए ताला

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 08, 2024 | 11:49:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले फर्जी बिल पठाएर उद्योगको लाइन काट्न थालेको भन्दै उद्योगीहरुले प्राधिकरणलाई दबाब दिन आफैं उद्योग बन्द गर्न थालेका छन् । प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि लाइन जोड्न दबाब दिँदै उद्योगीहरुले भैरहवा क्षेत्रका १९ वटा उद्योग बन्द गराएका हुन् । 

प्राधिकरणको कदमको विरोध गर्दै घराना फुड्स, पञ्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लाष्ट, एसआर फुड्स, यशोधा फुड, गोयनका फुड्स, एभरेष्ट रोलिङ इण्डष्ट्रिज र सोना प्याकेजिङ इण्डष्ट्रिज उद्योग बन्द गरिएका हुन् । उद्योगीहरुले एसआर स्टिल, शुभलक्ष्मी पोलिमर्स, सोना पोलिमर्स इण्डष्ट्रिज, नेशनल रवर इण्डष्ट्रिज, नव नेपाल प्लाष्टिक इण्डष्ट्रिज, जय दुर्गा प्लाष्टिक इण्डष्ट्रिज, श्याम प्लाष्टिक उद्योग, एजी हेल्थ इण्डष्ट्रिज, जीवी टेक्सटाइल उद्योग र भलवारी चामल कारखाना पनि बन्द गरेका छन् ।

उद्योग बन्द गराएका घराना फुड्सका सञ्चालक विकास गोयन्काले विद्युत प्राधिकरणको ज्यादतीमा परेर लाइन काटिएका उद्योगहरुको साथमा हामी पनि छौँ भन्ने सन्देश दिन र प्राधिकरणको ज्यादतीमा परेका उद्योगहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन आफूहरुले स्वतःस्फुर्त रुपमा उद्योग बन्द गराएको बताए । उनले ट्रंक लाइन र डेडिकेटेड फिडरमा प्राधिकरणले अन्यायपूर्वक बिल पठाउने र लाइन काट्ने गर्न थालेपछि बिना कुनै शर्त लाइन जोड्न माग गर्दै पीडित उद्योगहरुको आन्दोलनमा समर्थन जनाउँदै भैरहवा क्षेत्रका १९ उद्योग बन्द गरिएको बताए । गोयन्काले प्राधिकरणले लाइन काटेका ४ उद्योगमा लाइन नजोडेसम्म आफूहरुले पनि उद्योग नचलाउने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले बुटवल–भैरहवा करिडोरका उद्योगले बिजुली नै नमागेको भए पनि प्राधिकरणले बिना प्रमाण अतिरिक्त बिजुली उपभोग गरेको भन्दै बिल पठाउने र लाइन काट्ने गर्न थालेपछि पीडित उद्योगी र मजदूरको पक्षमा ऐक्यवद्धता जनाउन थप १९ उद्योगका सञ्चालकले उद्योग बन्द गरेको बताए । उनले प्राधिकरणले बिना कुनै शर्त लाइन नजोडे यो क्रम अझै बढ्ने पनि बताए ।

उनका अनुसार अहिले बुटवल–भैरहवा करिडोरमा प्राधिकरणले लाइन काटेका ४, बिल पठाएका १७ र यी उद्योगको पीडामा साथमै छौँ भनेर बन्द गरिएका १९ गरि कुल ४० उद्योग बन्द भएका छन् । 

एउटा करिडोरका ४० वटा उद्योगहरु बन्द हुँदा हजारौँ मजदूरको विचल्लि भएको छ । आइतबार भैरहवा क्षेत्रमा मजदूरहरुले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्द प्रदर्शन नै गरेका थिए । आज सोमबार पनि मजदूरहरुले विभिन्न क्षेत्रमा प्रदर्शन गर्दैछन् । 

विराटनगर लगायतका पूर्वी औद्योगिक क्षेत्रमा पनि लाइन काटिएको विरोधमा मजदूरहरुले प्रदर्शन सुरु गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved