मलाइ विश्वास गर्ने आधार ‘इजी टु कनेक्ट’ हो, म जितेर अनि गरेर देखाइदिन्छु: सुमार्गी(अन्तरवार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2023 | 05:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपूर उद्योग वाणिज्य सघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी अहिले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका प्रत्यासी छन् । गत निर्वाचनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका सुमार्गीलाई अध्यक्ष शेखर गोल्छाले कृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारी पनि दिए । हाल उनी यो केन्द्रको सफलतापूर्वक नेतृत्व पनि गरिरहेका छन् । 

सुमार्गीलाई गत निर्वाचनकै बेला जिल्ला नगर उपाध्यक्षको रुपमा हेरिएको थियो । तर, त्यतिबेला उनी ‘ब्याक’ भए । २०७७ मङ्सिरमा भएको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका सुमार्गीलाई त्यतिबेलै देखि ‘अप कमिङ भाइस प्रेसिडेण्ट’का रुपमा हेर्न थालिएको हो ।

रोचक कुरा के छ भने, गत निर्वाचनमा एउटै समूहमा रहेका सुमार्गी र दिनेश श्रेष्ठ अहिले आमनेसामने हुँदैछन् । बहालवाला जिल्लानगर उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई अञ्जन श्रेष्ठको प्यानलबाट सुमार्गीले चुनौती दिँदैछन् । यसै सेरोफेरोमा रहेर बिजपाटी डटकमले सुमार्गीसँग चुनावी कुराकानी गरेको छ, प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः- 

नेपाल उद्योग वाणिज्य महासङघको जिल्ला–नगर उपाध्यक्षमा तपाइँको उम्मेदवारी किन ?

नेपाल उद्योग वाणिज्य महासङ्घको इतिहासमा ५६औँ साधारणसभा सकाएर अहिले ५७औँ वार्षिक साधारणसभासम्म आउँदा महासङ्घमा ५० प्रतिशत मतभार भएको जिल्ला नगरका प्रतिनिधिले महासङ्घ कहिलेकहिले हाँकेछन् भनेर हेर्दा शिला खोज्नुपर्नेछ । यो किन भएछ त भन्दा महासङ्घको नेतृत्वमा पुग्ने क्षमता भएको व्यक्तिलाई रोक्ने खेल हुँदोरहेछ ।

३ कार्यकाल केन्द्रीय सदस्य भएर समय खर्चिएर मैले यसबारे गहन अध्ययन गरेको छु ।

जिल्लाजिल्लामा पुगेर त्यहाँका साथीहरुसँग यसको बारेमा मैले छलफल गरेको छु । यसबाट मैले के पाएँ भने महासङ्घ हाँक्न सक्ने क्षमता भएका मान्छे महासङ्घमा नपसेका होइनन्, तर महासङ्घको निर्वाचनमा जादुमयी तरिकाले टिम बनाएर नेतृत्वमा पुग्ने क्षमता भएको जिल्लाबाट आएको मान्छेलाई कुनै न कुनै ढङ्गबाट रोकिँदो रहेछ । अहिले त झन कसैले ठेक्का लिएरै म जिताइदिन्छु भन्ने सम्मको देखियो ।

अर्को कुरा, जिल्लाका अध्यक्षहरु र अरु पदाधिकारीहरुलाई निर्वाचनको बेला मात्रै सम्झिने गरियो । चुनावका बेला जन्ती हिंडाएको जस्तो खाना, गाडी घोडा दिएर पछि लगाउने तर, चुनावपछि फर्केर नहेर्ने परिपाटी हाबी हुँदैगयो, यस्तो रवैया हुनुहुँदैन भनेर महासङ्घमा विगत ३ कार्यकालदेखि लड्दै आएको छु । 

मैले २०६६ सालतिर महासङ्घलाई हाँक्नसक्ने एउटा उदयमान व्यक्ति देखें कृष्ण ताम्राकार (भक्तपूर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष) । तर, उहाँलाई अनेक जाल गरेर साइड लगाइयो । त्यसपछि प्रमोद श्रेष्ठ थिए । जेसिसबाट उदाएका डायनामिक मान्छेलाई पनि महासङ्घले साइड लगायो । 

अहिले पनि २ वर्षसम्म वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रचार गरेर हिडेका व्यक्ति फेरि जिल्ला नगरमै उठ्दैछन् भन्ने सुन्दैछु । उहाँलाई त माथि जान पो पठाइएको त, हाम्रो पुस्तालाई नै रोक्न लाग्नुहुँदैछ भन्ने सुनिरहेको छु । अहिले मसँग उपाध्यक्ष लड्छु भनिरहेका व्यक्तिलाई अघिल्लो पटक मैले नै उपाध्यक्ष छोडेको हो । उहाँको पनि पृष्ठभूमि जिल्ला नगर नभइ वस्तुगत हो । जिल्लामा कुनै पनि भुईं छैन । महासङ्घको विधान अनुसार उहाँ अध्यक्ष रहेको जिल्ला उद्योग वाणिज्य सङ्घ नै इलिगल छ । फेरि उहाँलाई अघि सारेर म जस्तो मान्छेलाई रोक्नुपर्छ भन्ने मानसिकताले टिम बनाएको देखिन्छ ।

 तर, ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट आएका व्यक्तिहरुको फोटो खोइ त महासङ्घमा ? मैले देख्न खोजेको त्यो हो । राष्ट्रपति जिल्लाबाटै चुनाव जितेर आएको मान्छे, प्रधानमन्त्री जिल्लाबाटै चुनाव जितेको मान्छे । तर, महासङ्घमा जिल्लाबाट आएको मान्छेले नेतृत्व किन गर्न सकेन ? यसको उत्तर के हो भने, हामीलाई सधैँ बार लगाएर छेक्ने काम भइरह्यो । म त्यो बार भत्काएर जानका लागि आएको हुँ । मेरो उम्मेदवारी पनि यसैका लागि हो ।

मतदाताले तपाइलाई विश्वास गर्ने आधारहरु के-के हुन् ?

‘इजी टु कनेक्ट’ (सहजै सम्पर्कमा रहने) मेरो नीति हो । मलाई विश्वास गर्ने सबैभन्दा ठूलो आधार पनि यहीँ नै हो । अहिले नेपाल उद्योग वाणिज्य महासङ्घ र जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुबीच ‘कम्युनिकेशन ग्याप’ छ । नेतृत्वमा पुग्नेहरुले जिल्लाका साथीहरुको फोन नउठाइदिने, उनीहरुका गुनासा र पीडा नसुन्ने अनि सरकारले बोलाउँदा सबैको प्रतिनिधि मै हुँ भनेर जाने । यस्तो परिपाटीले जिल्ला नगरका साथीहरुमाथि न्याय हुँदैन ।

दोस्रो कुरा, जिल्लाको आजको आवश्यकता भनेको व्यवसायिक मुद्दाहरु सँगसँगै ‘पोर्टफोलियो’ पनि हो । महासङ्घमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको वरियता खोज्ने एक मात्र पात्र म हुँ । हिजो २०५४ सालपछि स्थानीय चुनाव हुन नसकेर स्थानीय जनप्रतिनिधि नभएका बेला १९ वर्ष जिल्ला उद्योग वाणिज्य सङ्घहरुले जिल्ला विकास समितिसँग मिलेर स्थानीय सरकारकै सरह काम गरेका हुन् । केन्द्रले हरेक पत्रमा उद्योग वाणिज्य सङ्घहरुसँग समन्वय गर्नु भनेको हुन्थ्यो । यसरी योगदान दिएका जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्षको पोर्टफोलियो वडा सदस्यको जत्ति पनि छैन ।

निर्वाचित सांसदभन्दा एक तह मुनिको वरियतामा जिल्ला भरिका उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने जिल्ला उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुनुपर्छ भन्ने हाम्रो माग छ ।

अर्को कुरा, अहिले जिल्लामा स्थानीय कर, दोहोरो कर लगायतका समस्या छन् । रात्रिकालिन व्यवसाय गर्न पाउने की नपाउने भन्ने कुरा छन् । बैंकको चक्रवर्ती ब्याजका कारण व्यवसायीहरु पीडामा छन् । यी समस्या समाधानका लागि केन्द्रित रहेर समाधान गर्न सकिन्छ भनेर योजना नै बनाएको छु । यसकारण पनि देशैभरका मतदाता साथीहरुले मलाई विश्वास गर्नुहुन्छ ।

अर्को भनेको जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुले आफ्नो सानो आम्दानीको रुपमा आयोजना गर्ने मेलाहरुमा पनि ठेकेदार पठाउन थालिएछ । यो काम सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य सङ्घले नै गर्ने हो, ठेकेदार पठाएर यहाँ बसेर नाफा कमाउने गर्दा रहेछन् । मैले कयौँ जिल्लामा त्यहाँको सीडीओलाई भनेर रोक्न लगाएको पनि छु । यस्ता धेरै विषयहरुमा जिल्ला जिल्लामा जोडिएको हुनाले मप्रति सबै जिल्लाका साथीहरुको विश्वास छ । 

महासङ्घको ५७ वर्ष लामो इतिहासमा हरेक नेतृत्वलाई जिल्ला नगरका व्यवसायीको आवाज सुनेन भन्ने आरोप लाग्दै आएको छ । तपाई जिल्ला नगर उपाध्यक्षमा निर्वाचित हुनुभयो भने आगामी अध्यक्ष चन्द्र ढकालको कार्यकालमा यो आरोप लाग्न नदिन के गर्नुहुन्छ ?

महासङ्घ सबैखाले व्यवसायीहरुको साझा संस्था हो । तर, सबै खालका उद्योगी व्यवसायीहरुले महासङ्घ मेरो पनि हो भन्ने अनुभूति गर्न नपाएको गुनासो आइरहेको साँचो हो । विधानतः अब हाम्रो अध्यक्ष चन्द्र ढकाल हो । अबको नेतृत्व भनेको व्यवसायीका लागि ‘फास्ट डिजिशन’ गर्न सक्ने र सरकारसँग  टेवल टकमा बस्दा (वार्तामा बस्दा) उद्योगी, व्यवसायीका समस्या यी, यी हुन्, यसरी यसरी समाधान गर्नुपर्छ भन्ने खालको चाहिएको छ । 

हामी यसरी देशैभरका व्यवसायीहरुका समस्या टिपोट गरेर राख्छौँ, समाधानका लागि पहल गर्न अध्यक्षलाई भन्छौँ । उहाँसँगै वार्ता र छलफलमा सहभागी हुन्छौँ । निकास निकाल्छौँ । यसकारण हामीले साना मझौला उद्योगी व्यवसायीको पक्षमा वकालत गर्दा चन्द्र ढकालकै कार्यकाल सफल हुने हो, उहाँ नै लोकप्रिय हुने हो । 

उहाँ आफैँ पनि ३ सयबाट व्यवसाय सुरु गर्नु भएको मान्छे हो, देशभक्त नेपाली नागरिक हो । हामी जिल्लाबाट आयौँ, उहाँ आफैँले जिल्ला नगरको नेतृत्व नगरेको भए पनि साना मझौला व्यवसायीको समस्या नजिकबाट बुझ्नु भएको छ ।

यसअघि शेखर गोल्छाको कार्यकालमा ‘नेट–२०३०’ भनेर हामीले सन् २०३० सम्म नेपालको अर्थतन्त्र सय खर्बको बनाउने, सोही अनुसारको रोजगारी सिर्जना गर्ने, प्रतिव्यक्ति आय बढाउने, निर्यात प्रतिस्थापन गर्ने भनेर योजना बनाएका छौँ । यसैगरी चन्द्र ढकालको कार्यकालमा पनि यो रोडम्यापको काम नियमित हुन्छ । ‘नेट–२०३०’ ले साना मझौला र विशेषगरी कृषिमा आधारित उद्योगी व्यवसायीका समस्या समाधान गर्न मद्दत गर्नेछ । अवस्था अनुकुल नै छ ।

चन्द्र ढकालका लागि अनुकुल पृष्ठभूमि तयार छ भन्न खोज्नुभएको हो ?

मैले भन्न खोजेको, नेट २०३० मा समावेश योजनाहरु हामी सबैका सल्लाह अनुसार बनेका हुन् । विज्ञ पनि राखेर दस्तावेज बनाएर सरकारलाई बुझाएका छौँ । केही कुराहरु सरकारले एड्रेस गर्न पनि सुरु गरेको छ । अहिलेको सरकारलाई र अब आउने हाम्रो अध्यक्षका लागि पनि अनुकुल पृष्ठभूमिनै तयार छ । किनभने, विदेश पलायन नभएका युवाहरु कृषिमा संलग्न छन् । उनीहरु भनेको उत्पादनमा काम गर्न सक्ने श्रमशक्ति पनि हुन् । अहिले कृषिमा संलग्न रहेकाहरुका लागि अलिकति आधुनिकीकरण, अलिकति तालिमका अवसर र बजारिकरण गरिदिने वित्तिक्कै उत्पादन बढाउँछन् । यी ३ वटा रिङहरु पूरा गर्न गाह्रो छैन ।

हामीले ब्यापार घाटा कम गर्दै लैजाने सबैभन्दा उत्तम र गर्दा सकिने भनेको कृषिबाट मात्रै हो, यो निष्कर्ष नै हो । किनकी, कृषि उपज हामी आफैँ फलाउन सक्छौँ । यत्ति धेरै बहस र छलफल भइसकेपछि नीतिगत पैरवीका लागि महासङ्घको अब आउने नेतृत्वलाई सहज हुन्छ भन्ने देख्छु, र निर्णय गर्न पनि वर्तमान सरकारलाई अब अरु विकल्प नसोची कृषि नै हो भनेर निर्णय गर्न पनि सहज देख्छु ।

तपाई महासङ्घको कृषि उद्यम केन्द्रको सभापति पनि हुनुहुन्छ, कार्यकालको अन्तिम समयमा हुनुहुन्छ, देखिने रिजल्ट चाहिँ के दिनुभयो ?

महासङ्घको कृषि उद्यमअन्तर्गत चलेका ओभीओपी (एक गाउँ एक उत्पादन) र ओडीओपी (एक जिल्ला एक उत्पादन) लोकप्रिय कार्यक्रम थिए । सरकार र डोनर एजेन्सीले यसका लागि सिधैँ उद्योग वाणिज्य महासङ्घलाई पैसा दिए, तर पैसा खर्च गर्ने तरिका नजान्दा मेकानिजम नभएको हुनाले पैसाको गलत प्रयोग भयो । यसैका बेरुजु बाँकी थिए । यही बेरुजुलाई देखेर महासङ्घसँग काम गर्न हुँदैन भनेर सरकार र दातृ एजेन्सी पन्छिन थालेका थिए ।

किनकी, कृषि उद्यम केन्द्रलाई हौवा बनाएर अघिल्ला वर्षहरुमा कृषि उद्यम केन्द्रको बजेट निर्वाचनमुखी अभियानमा खर्च गराइएका रहेछन् । जसको कारण बेरुजु आदि, इत्यादीको झमेला थियो । तर, म आएपछि अहिले कृषि उद्यम केन्द्र कुनै पनि बेरुजुरहित क्लिन अवस्थामा छ । 

आज हामी आफैँ विश्व बैंकदेखि अरु डोनर एजेन्सीसँग आफैँ कुरा गर्न थालेका छौँ । आउँदा दिनमा कृषि उद्यम केन्द्रले प्रदेश सरकारसँग मिलेर कृषिमा ठूला परियोजनाको काम गर्ने योजना अघि बढाइसकेको छ ।

तपाइँ आफैँले बढी चर्चा गर्ने सय किसान अभियान चाहीँ कहाँ पुग्यो ?

सय किसान अभियानले लोकप्रियता हासिल गरिरहेको छ । अहिले ४० जिल्लामा यो कार्यक्रम विस्तार भएको छ । सय किसान अभियान भनेको के हो भने उद्योगपतिहरुले आफ्नो उद्योग चलाउने शिलशिलामा ऋण लिन प्रयोग गरेका, तर ऋण चुक्ता भएपछि पनि बाँझै रहेका जग्गाहरु एकदमै सस्तो दरमा भाडामा लगाएर व्यवसायिक कृषिका लागि प्रयोग गर्ने अभियान हो । यसमा हामीले विदेशमा बसेर कृषिको सीप सिकेर आएका युवाहरुलाई जोड्न खोजेका हौँ ।

सय वटै किन ? भन्ने प्रश्न आउला, सुरुमा हामीले डेमो गर्न चाहेका हौँ । सरकारले यी सय वटा केन्द्रमा रिसर्च सेन्टर चलाउने र त्यहाँ सँगै व्यवसायिक खेती पनि गर्ने परिकल्पना हो । 

गत निर्वाचनमा तपाइँ किशोर प्रधान समूहको निर्वाचन प्रचार संयोजक हुनुहुन्थ्यो, त्यो समूहबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ निर्वाचित पनि हुनुभयो, तपाइँ पनि त्यही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । अहिले दिनेश श्रेष्ठ तपाँइँ प्रत्यासीका रुपमा देखिनुभएको छ । उहाँसँग चुनाव लड्न चुनौती छैन ?

मैले यसलाई बडो हल्का रुपमा लिएको छु । किनभने, पाएसम्म धुरी चढ्ने, नपाए सिँढी मुनि पनि ठिकै छ भन्ने मानसिकता बोकेको उम्मेदवारले कुनै पनि मतदातासँग मत माग्ने धरातल नै देख्दिँन । 

मैले भनेको के भने, राष्ट्रिय राजनीतिमा, राजनीतिक दलहरुमा एउटै मान्छे दोहोरिएको देख्दादेख्दा हामी इरिटेड छौँ, अनि महासङ्घमा चाहिँ एउटै मान्छे कहिले प्रदेशमा लगेर राख्यौँ, कहिले केन्द्रमा जिल्ला नगर उपाध्यक्ष बनायौँ, प्रमोद श्रेष्ठसँग चुनाव हारेपछि पनि काम लाग्ने मान्छे भनेर ल्यायौँ । यसरी तीन चार कार्यकालमा काम लाग्ने भनेर हामी बोकेको बोक्यै गर्ने, अनि उहाँले जिल्ला नगरलाई दिनु भो चाहिँ के ? चार पटक उद्दार गर्दै ल्यायौँ, अब पनि बोक्न विशेषता के छ त उहाँको ? २ वर्षसम्म अब वरिष्ठ उपाध्यक्षको उम्मेदवार भन्दै प्रचार गर्दै हिड्नु भयो, अहिले आँट गर्नुभएन । अनि कसैको उक्साहटमा लागेर अर्को जेनेरेशनलाई रोक्ने उद्देश्यले खडा हुनुभयो । अब चाहिँ अत्ति भइसक्यो, अब पनि उहाँले म लोकप्रिय छु भन्दै नहिडे हुन्छ ।

अघिल्लो पटक पनि मैले नै उहाँलाई छोडेको हुँ । त्याग पनि गर्न जान्नुपर्छ भन्ने भएपछि मैले मेरा अभिभावक र महासङ्घका पूर्वज र अग्रजहरुको कुरा सुनेर सप्रेम उहाँका लागि छोडेकै हुँ । अब फेरि मेरै विरुद्द्ध लड्ने गरी आउनुहुन्छ भने ठिकैछ, लडौँ । तर, मतदाताले मलाई न्याय गर्ने कुरामा म विश्वस्त छु ।

उहाँलाई जिल्ला नगरमा सबैभन्दा बढी लोकप्रिय उम्मेदवार भन्छन् त ?

म कोही अरु जस्तो काठमाडौँमा बसेर टेलिभिजनमा कुरा गर्दिनँ । म जिल्ला जिल्लामा पुगेर त्यहाँका साथीहरुको आँगनमा बसेर कुरा सुन्छु र समस्याको समाधानका लागि लाग्छु । 

जातीय नाताको भोट माग्नुपर्ने, साम्प्रदायिक भोट माग्नुपर्ने, रुन्चे अनुहार लगाएर भोट माग्नुपर्ने, राजनीतिक दलको खोल ओढेर भोट माग्नुपर्ने मान्छेहरुसँग म किञ्चित पनि डराउनेवाला छैन । जिल्ला नगरको लागि ‘फ्रेस माइण्ड’का साथ आएको छु, मकवानपूर जिल्लाको अध्यक्ष, तत्कालिन मध्यमाञ्चलको अध्यक्ष हुँदै बागमती प्रदेशको संयोजक भएर चुनाव गराएर सुरज वैद्यको पालादेखि महासङ्घमा क्रियाशील छु । यसकारण मेरो यात्रा लामो छ । म चुनाव जित्नै उठेको हुँ, जितेरै छाड्छु ।

महासङ्घको नेतृत्वमा जिल्ला नगरबाट स्थापित व्यक्तिहरुलाई पुर्याएरै छाड्ने हो, यसका लागि मेशिन जसरी खट्ने हो, जिल्ला नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको पोर्टफोलियो कायम गराएरै छोड्ने हो । मसँग स्पष्ट योजना र प्लानहरु छन् । यसकारण कुनै पनि उम्मेदवारहरुको मसँग ‘कम्पियर’ गरिराख्नु जरुरी छैन ।

चुनाव जित्छु भन्ने शत् प्रतिशत आत्मविश्वास छ की, प्रतिस्पर्धात्मक हुन्छ भन्ने लाग्छ, अनि, यहाँको टिम नै आउने आधार चाहीँ के छ ?

म शतप्रतिशत विश्वस्त छु । डल्ला नुन बेच्ने व्यापारीदेखि सुन बेच्नेसम्म, पान बेच्नेदेखि ठेलागाडा धकाल्नेसम्मका समस्या मैले पहिचान गरेको छु । यी व्यवसायीहरुका समस्या बोकेर राज्यको टेबलसम्म पुग्ने हैसियत मसँग छ । अहिले जिल्ला नगरले खोजेको पनि यस्तै हो, र म यसका लागि फिट छु भन्ने मेरो दाबी हो ।

अर्को कुरा, हाम्रो टिम युवाहरुको टिम छ । साँच्चै भन्नुपर्दा महासङ्घमा पुगेको दोस्रो र तेस्रो पुस्ताको टिम हो । अनञ्जन श्रेष्ठ, मनिषलाल प्रधान, ज्योत्सना श्रेष्ठ र मसहित हाम्रा केन्द्रीय सदस्यका उम्मेदवार साथीहरु देशको अहिलेको अवस्था अनुसारको युवाहरुको टिम हो । यसकारण प्यानल नै निर्वाचित हुनेमा कुनै सन्देह छैन, हामी सबैले निर्वाचन जित्छौँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved