'जिल्ला नगरलाई अझै सबल र सक्षम बनाउन फेरि उपाध्यक्षमै दोहोरिन आएँ', दिनेश श्रेष्ठको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 07:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला-नगर उद्योग वाणिज्य सङ्घहरुमा चर्चित नाम हो दिनेश श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला-नगर उपाध्यक्षसमेत रहेका श्रेष्ठ बैंकको ब्याजदरका विरुद्ध सडकमै उत्रिएका थिए । स्थानीय तहले लगाएको दोहोरो कर, ढक, तराजुका नापका सम्बन्धमा वा काठमाडौँ महानगरले फुटपाथ व्यवसायी हटाउँदा व्यावसायीको हकहितमा चर्काे आवाज उठाउँदै आएका उपाध्यक्ष श्रेष्ठ अहिले नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा पुनः जिल्ला-नगर उपाध्यक्षका उम्मेदवार बनेर प्रस्तुत भएका छन् ।

उनै श्रेष्ठसँग महासंघको चुनाव, आफ्नो उमेद्वारी र चुनावी एजेण्डा तथा भावी योजनालगायतका विषयमा बिजपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

महासंघको जिल्ला-नगर उपाध्यक्षमै दोहोरिन लाग्नु भएको छ, किन ?

सबै व्यवसायी र व्यवसायका सबै क्षेत्रलाई समेट्ने क्षेत्र नै जिल्ला-नगर हो । जिल्ला-नगरको नेतृत्व गर्नु भनेको सबै व्यवसायिक क्षेत्रको नेतृत्व गर्नु बराबर हो । यसैले मैले देशैभरका साथीहरुसँग सल्लाह गर्दा यसपटक जिल्ला, नगरका व्यवसायीका धेरै काम गर्नुपर्ने छ, यसका लागि तपाइँ जिल्ला-नगरमै दोहोरिँदा राम्रो हुन्छ भन्ने सुझाव आएपछि म पुनः जिल्ला-नगर उपाध्यक्षको उम्मेदवारको रुपमा उभिएको छु ।

अर्को कुरा, अहिलेको असहज स्थितिमा उद्योगी, व्यवसायीहरु एकजुट हुनुपर्छ भनेर मैले त्यागको भावना पनि देखाएँ भन्ने लाग्छ । मैले पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिँदा ४ जना हुने स्थिति आयो, मैले सकेसम्म सर्वसम्मत गरौँ भनेर सबैलाई भनेँ । तर, कोही पनि तयार हुनुभएन । अनि मैले कम्तिमा अहिलेको अवस्थामा एकताको सन्देश दिनुपर्छ भन्ने सोचेर उमेशलाल श्रेष्ठको टिमबाट जिल्ला-नगर उपाध्यक्षमै दोहोरिने गरी उम्मेद्वारी दिएँ ।

तपाइँले वरिष्ठ उपाध्यक्षको तयारी गरिरहेको देखिएको थियो, अहिले फेरि तलै बस्न खोज्नुभयो, अर्को पटक उमेशलाल श्रेष्ठले यहाँलाई वरिष्ठमा सघाउने भित्री सहमति छ भनेर पनि भन्न थालिएको छ, यो साँचो हो ?

अहिले कामको आधारमा मलाइ नै जिल्ला-नगरका साथीहरुले सहयोग गर्नुहुन्छ । मलाइ सहयोग गर्ने हरेक जिल्ला-नगरका साथीहरुले मेरो टिमलाई नै सहयोग गर्ने कुरामा म विश्वस्त छु । तर, यसो भन्दैमा यो पटक जिल्लाका साथीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन दिएको हौसला मैले भुल्नु हुँदैन । उहाँहरुले सद्भाव राख्नु भएकै हो । 

तर, यसो भन्दैमा भित्री सहमति नै छ भनेर लख काट्नु पनि उत्तम हुँदैन । अहिले नै यसबारे बोलिहाल्नु पनि हुँदैन । अहिले जिल्ला-नगरको अध्यक्षहरु २०/२२ वर्ष योगदान गरेको व्यक्ति हुनुहुन्छ । उहाँहरुले सबै कुरा बुझ्नु भएको छ, योगदानका आधारमा उहाँहरुले नेतृत्व चयन गर्ने हो । कोसँग सहज सम्पर्क हुन्छ ? कसले हाम्रा पीर मर्का बुझ्दछ ? कसले हाम्रा पीडाहरु सम्बन्धित निकायमा पुयाउँछ ? भन्ने जिल्ला-नगरका साथीहरुले राम्रोसँग बुझ्नु भएको छ ।

अहिले म जिल्ला-नगरमै दोहोरिन लागेको विषयलाई भविष्यमा लाभ हुने गरी कुनै भित्री सम्झौता र सहमति छ की भनेर अनुमान नगर्दा हुन्छ । तर, एक दिन म नेतृत्वमा पुग्छु भन्ने आत्मविश्वास चाहीँ छ । गीताको उपदेश पनि यही हो, आफ्नो कर्ममा निरन्तर लागिरहने हो, एक दिन अवश्य रिजल्ट आउँछ।

तपाइँ बहालवाला जिल्ला-नगरको उपाध्यक्ष पनि हुनुहुन्छ, अब फेरि अर्को कार्यकालका लागि पनि यही पदका लागि तपाइँलाई किन भोट हाल्ने ?

जिल्ला-नगर उद्योग वाणिज्य संघका लागि मैले विगतमा गरेको सेवा नै मैले मत पाउने दह्रो आधार हो । सबैभन्दा ठूलो कुरा भनेको अहिले हाम्रो टिम महासंघका लागि चाहिने निखारिएको र सक्षम टिम छ । यो टिमलाई बलियो बनायो भने महासंघ बलियो बन्छ ।

चुनावका बेला टुक्रा-टुक्रामा विभाजित हुँदा ३ वर्षे कार्यकालको अवधिभित्र गर्नुपर्ने कामहरु गर्न नसकिने अवस्था आउँछ । गएको पटक हामीले जिल्ला नगरलाई सबल र सशक्त बनाउने भनेर प्रण गरेका हौँ, ८ महिना त हाम्रो कार्यसमितिको कार्यकाल नै छोट्टियो, कोरोनालगायतका विविध कारणले गर्दा काम देखाउने अवसर नपाएको पनि साँचो हो ।

त्यसकारण विगतमा गरिएका वाचा अनुसार जिल्ला-नगर र वस्तुगत संघहरुलाई सक्षम बनाउने, आयमूलक बनाउनेलगायतका धेरै कामहरु गर्नुछ । यसका लागि योजनाहरु नै बनाएका छौँ, ती योजनाहरु, लक्ष्यहरु कार्यान्वयन गर्दै जिल्ला, नगरलाई सबल र सक्षम बनाउने लक्ष्यका साथ फेरि पनि उपाध्यक्षमै दोहोरिन लागेको हुँ । मलाई विश्वास छ, देशैभरका साथीहरुले सहयोग गर्नुहुनेछ ।

गत निर्वाचनमा तपाइँसँगै रहनुभएका साथीहरु अहिले प्रतिस्पर्धी बन्नु भएको छ, कस्तो लागेको छ ?

यो भनेको सामान्य नै हो । व्यवसायीहरुको धर्म भनेको काम गरिराख्ने, नाफा आर्जन गर्ने, राज्यलाई कर तिर्ने, रोजगारी बढाउने हो । हामी गरिखाने वर्ग हो । यसकारण आस्थाको आधारमा, धर्मको आधारमा या कुनै पनि आधारमा हाम्रो कर्म फरक-फरक हुँदैन । हाम्रो धर्म निभाउँदै हामी संस्थागत योगदान दिन अग्रसर भएका हौँ ।

फेरि हामी चाहेर छुट्टिएका पनि होइनौँ । तपाइँले जो-जो मान्छेप्रति ईङ्कित गर्न खोज्नु भएको छ, उहाँहरु र हामी गत निर्वाचनमा मिलेरै अघि बढेका हौँ । मिलेर एकपटक सहकार्य भएपछि अर्को निर्वाचनमा अर्को खालको टिम बन्छ, भिजन र योजनाहरु त्यसअनुसार बन्छन् । त्यसैले विगतमा मिलेका हामीहरुबीच अहिले प्रतिस्पर्धा हुन लागेको छ, यो सामान्य प्रक्रिया हो ।

निर्वाचनमा जो-जो निर्वाचित भए पनि निर्वाचनपछि सबै मिलेरै अघि बढ्ने हो । गत निर्वाचनमा पनि त दुई टिम थिए, नतिजा मिश्रित थियो । तर पनि शेखर गोल्छाको नेतृत्वमा हामीले जे जति गर्यौँँ राम्रै गर्यौँ । यसपटक पनि व्यवसायीका समस्या बोकेर सम्बन्धित निकायसम्म पुर्याउन कसले सक्छ भनेर सबै मतदाता साथीहरुले बुझ्नुभएकै छ ।

तपाइँले उमेशलाल श्रेष्ठकै टिम किन रोज्नुभयो ?

म अहिले उमेशलाल श्रेष्ठ नेतृत्वको समूहबाट जिल्ला-नगर उपाध्यक्षको उम्मेदवार छु । मैले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा नराखेको होइन, तर अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरुबीच एकताको सन्देश दिनुपर्छ र बलियो नेतृत्व चयन गरेर जानुपर्छ भन्ने भएपछि मैले उमेशलाल श्रेष्ठको समूह रोजेको हुँ, अहिलेको समयको माग पनि यही हो ।

म सँगै, वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकाल र एसोसियट उपाध्यक्षतर्फ भरत आचार्य हुनुहुन्छ । यो एकदमै सन्तुलित टिम छ । हुनेवाला अध्यक्ष (चन्द्र ढकाल) र अरु पूर्व अध्यक्षहरु (चण्डीराज ढकाललगायत)को समेत यही टिममाथि विश्वास, समर्थन र भरोसा छ । उहाँहरुलाई यो टिमले केही गर्छ है भन्ने विश्वास भएरै त हामीलाई सहयोग गर्नुभएको छ ।

महासंघले साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्न सकेन भनेर तपाइँआफैँ पनि भन्दै आउनु भएको छ, ब्याजदर बढेको विरोधमा सडकमा आन्दोलन नै भए । यसलाई भोट बैंकका रुपमा उतारियो भनेर आरोप पनि लाग्यो । अब महासंघलाई सबै खाले व्यवसायीले आफ्नो छाता संस्था महशुस गर्न सक्लान् ?

उद्योग वाणिज्य महासंघमा आकर्षण नभएको होइन, गजबको आकर्षण छ । हामीले अहिले साना, मझौला व्यवसायीका प्रतिनिधिका रुपमा आएकाहरुले पनि महासंघ हाँक्न सक्छन् भन्ने उदाहरण दिन खोजेका छौँ, त्यही अनुसार योजना पनि बनाइरहेका छौँ ।

अहिले हामीले टिम पनि त्यहीअनुसार तयार पारेका छौँ । अब हुने अध्यक्ष चन्द्र ढकाल सानो व्यवसायबाट उठ्दै ठूलो उद्योगी, व्यवसायी बन्नु भएको हो । अहिले हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले मझौला प्रकृतिका उद्योगहरुको प्रतिनिधित्व गर्नुहुन्छ । म जिल्ला-नगरका साना-मझौला व्यवसायीको प्रतिनिधित्व गर्छु, हेमराज ढकाल र भरत आचार्य पनि आफ्नो-आफ्नो क्षेत्रको साना-मझौला उद्यम-व्यवसायकै प्रतिनिधित्व गर्नुहुन्छ । यसकारण हामीले टिम बनाउँदा नै साना-मझौला उद्योगी-व्यवसायीहरुको प्रतिनिधित्व हुने गरी बनाएका छौँ । 

मैले भन्न खोजेको के हो भने, हाम्रो टिमले साना, मझौलादेखि ठूला उद्योगीसम्मको रेप्रिजेन्ट गरेको छ । यो टिममा भएका सबैले भुईंमा पसल राख्नेदेखि ठूला उद्योगीसम्मका पीर, व्यथा र पीडा बुझेका छन् ।

निर्वाचित हुनुभयो भने आफूले के-के काम गर्ने योजना बनाउनु भएको छ ?

हामी विजयी भयौँ भने जिल्ला नगरलाई समक्ष बनाउने पहिलो काम हो । वस्तुगत संघहरुलाई सबल उनीहरुलाई आम्दानीमूलक कार्यक्रम बनाएर लगाउने योजना छ । हाम्रा देशैभरका उद्योगी, व्यवसायी साथीहरुले उद्यम व्यवसाय गर्न सहज भयो भन्ने वातावरण हामी बनाउँछौँ ।

जस्तो, करको मिसम्याचका समस्या छन्, नवीकरण दस्तुरको समस्या छ, नापतौलका आफ्नै समस्या छन् । व्यवसाय गर्ने वातावरणका लागि हामी तार्किक कुरा राखेर परिमार्जन गर्नुपर्ने नीतिहरु, फेर्नुपर्ने कानुनहरु र खारेज गर्नुपर्ने ऐन, नियमहरुको सूची नै बनाएका छौँ । 

उधारो कारोबारलाई नियन्त्रण गर्नुपर्ने छ । व्यवसायीको लगानीलाई सुरक्षित गर्ने दायित्व सरकारको हो, यसको ग्यारेन्टी गराउनुपर्नेछ । आयात र निर्यातमा केही कमजोरी भए नेपाली व्यवसायीलाई नै दोषी बनाउने फरेन एक्सचेञ्ज पोलिसी नै खारेज गराउनुपर्नेछ । उपभोक्ताको अधिकारको संरक्षण नगर्ने उपभोक्ता हित संरक्षण ऐनलाई पनि खारजे गराउनुपर्नेछ । यस्ता थुप्रै कामहरुको लिस्ट नै छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved