पस्किएको खाने बानीले बीमाको दायरा बढेन, तर शिखरले आफै पकाइरहेको छ (सीईओ पाण्डेको अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 10:28:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक मन्दीको असर चौतर्फी हुँदा त्यसबाट नेपालको निर्जीवन बीमा क्षेत्र पनि प्रभावित भएका छन।  नेपालको अर्थतन्त्रलाई चलायमान बनाईराखेका घरजग्गा, शेयर तथा अटो क्षेत्रमा मन्दी आउदा यसले निर्जीवन बीमा क्षेत्रको ब्यापार पनि प्रभावित भएको छ। त्यसमाथि पनि निर्जीवन बीमा क्षेत्रको ब्यापारको एउटा ठुलो हिस्सा अटो भएकाले अटो क्षेत्रमा मन्दी आउँदा यसले स्वत ब्यापारमा असर परेको देखिन्छ। 

चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्यांक केलाउने हो भने पनि निर्जीवन बीमा क्षेत्रको ब्यापार तीन प्रतिशतले घटेको छ। मन्दीले ब्यापार प्रभावित हुँदा निर्जीवन बीमा क्षेत्रको वास्तविक अवस्था र अहिलेका चुनौती र सम्भावित अवसरका बारेमा हामीले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

अहिले चौतर्फी आर्थिक मन्दी छ, निर्जीवन बीमा क्षेत्रमा मन्दीको असर कस्तो छ ?

समग्र अर्थतन्त्रमा नै मन्दी हुँदा निर्जीवन बीमा जस्तो क्षेत्रमा मन्दी नहुने कुरै भएन।  चालु आर्थिक वर्षको माघ महिनासम्म निर्जीवन बीमाको बजार ३ प्रतिशतले घटेको छ। तर, बजार ३ प्रतिशत डाउन हुँदापनि शिखर ईन्स्योरेन्स भने ८ देखि १० प्रतिशतको ग्रोथमा नै छ।

बजारमा कर्जा प्रवाह हुन सकिरहेको छैन। बैंकहरु पनि थप कर्जा भन्दा पहिल्यै लगानी भएका कर्जा असुलीमा केन्द्रित छन्। यी सबै कारणले बजारमा कर्जा मार्फत आउने पैसा आउन सकिरहेको छैन। सरकारले पनि आफ्नो खर्च गर्न सकिरहेको छैन। यसले गर्दा निर्माण लगायत समग्र क्षेत्र प्रभावित भएको छ। निर्माण क्षेत्र नै प्रभावित हुँदा निर्माणसंग जोडिएका ट्रकहरुको ब्यापार घटेको छ। ट्रकको ब्यापार घट्दा यसबाट आउने निर्जीवन बीमाको व्यवसाय स्वत घट्ने भयो।  

केहि कमर्शियल भेइकलले ब्यापार दिएको थियो तर अहिले कमर्शियल र व्यक्तिगत दुवै भेइकलको ब्यापार छैन। यसले निर्जीवन बीमा क्षेत्रमा हान्ने नै भयो। 

अलि अलि पैसा भएकाहरु पनि भोलि के हुने हो भन्ने डरले 'डेन्टेन्ट' गरेर गाडी चलाईरहेका छन् तर नयाँ भेइकल लिन इच्छुक छैनन्।  यसले समग्रमा निर्जीवन बीमा क्षेत्र प्रभावित नै भएको छ र ब्यापार पनि घटेको नै छ। 

समग्र निर्जीवन बीमा क्षेत्रको ब्यापार तीन प्रतिशतले घट्दा शिखरको १० प्रतिशतसम्म वृद्धि हुनुको कारण ? 

हामी नयाँ क्षेत्रमा गयौँ । जस्तै, मार्केट स्याचुरेटेड भइसकेको अवस्था छ । मोटर लगायतका क्षेत्र स्याच्युरेटेड भइसके । हामीले नयाँ पहिचान गर्यौं। हामी नेपालका नयाँ र सम्भावित क्षेत्र रोजेर त्यहाँ कृषिसंग जोडिएका कृषि बीमाका 'प्रोडक्ट' लिएर गएका छौँ । 

शिखर ईन्स्योरेन्स पछिल्लो समय गाईको बीमा, केरा खेतिको बीमा, स्याउको लगायतको बीमा गर्न लागेको छ । लस त त्यस क्षेत्रमा पनि छ । गाई मरेर वा रोग लागेर बीमा कम्पनील दाबी भुक्तानी दिंदा किसानले पनि बीमाको महत्व बुझन थाल्छन् । 

तर, त्यसको क्रस सेलिङ भएको छ । त्यसपछि घरको बीमा भएको छ । मोटरको बीमा गर्न थालेका छन् । एउटा क्षेत्रमा जादाँ त्यसले अर्को क्षेत्रलाई पनि समेट्यो । यसले गर्दा हामो बजार सकारात्मक रह्यो। 

कृषि क्षेत्रमा ठूलो बजार छ । तर, कृषिमा पनि सरकारले प्रिमियम अनुदान वापतको भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नदिएको भएर अहिले हामीलाई गाह्रो छ।  त्यस कारण बीमा कम्पनीहरुले उधारोमा कृषि बीमाको पोलिसि बिक्री गर्न रोकेका छौँ । यसो अवस्था नआएको भए हाम्रो ब्यापार थप बढ्थ्यो। 

गाडीको बिक्री सुस्ताउँदा शिखरमा मोटर बीमामा कस्तो असर परेको छ ?

निजी सवारी तर्फ हाम्रो ठिकै छ । तर, व्यवसायीक सवारी साधनको बीमा व्यवसाय ८-९ प्रतिशतले डाउन भएको छ । कमर्सियल सवारी साधनमा लस रेसियो पनि अलिक धेरै छ । समग्रमा मोटर बीमा बजार घटेको छ ।  आईसी ईन्जीन सवारीबाट मानिस विद्युतीय सवारीमा सिफ्ट हुँदा बीमा क्षेत्रमा यसको सकारात्मक असर देखिएको छ। विद्युतीय सवारीका लागि शिखरमा मोटर प्लस पोलिसि छ । विद्युतीय सवारीमा दिएको विभिन्न कभरेजले गर्दा शिखरको यो प्रोडक्टमा ग्राहक आकर्षित भएका छन्। यसले पनि हाम्रो ब्यापारमा ठूलो टेवा पुर्याएको छ। 

निर्जीवन बीमा कम्पनीहरु धेरै क्षेत्रतिर नफैलिएको देखिन्छ, यसको कारण के हो ?

यो वास्तवमा हामीलाई पकाएर खानदिन बानि लागेको हो। रिसर्च एण्ड डेभलपमेन्टमा हाम्रो निर्जीवन बीमा क्षेत्र एकदम कमजोर छ। सबै कम्पनीहरुले आ-आफ्नो तहबाट अध्ययन अनुसन्धान गरेर प्रोडक्ट बनाउनुपर्ने थियो तर पस्किएको खाने बानिले गर्दा निर्जीवन बीमा क्षेत्रको दायरा बढेन। 

तर शिखरले अध्ययन अनुसन्धान र सम्भाव्यता अध्ययनको लागि ठूलै खर्च गरेर नयाँ नयाँ प्रोडक्ट ल्याएको छ। मोटर प्लस, हेल्थ ईन्स्योरेन्स, सेक्युर माई लाईफ त्यसकै एउटा गतिलो उदाहरण हो। 

अब, शिखरले साईबर क्राइमको नयाँ प्रोडक्टमा ल्याउँदै छ । अहिले बैंकको खाता देखि सबै कुरा मोबाईलमै रहेको छ । कुनै कारणबस ह्याक भएर सबै लस भयो भने त्यसको क्षतिपूर्ति बीमा कम्पनीले गरिदिन्छ । त्यसैगरी, शिखरले कृषि तर्फ पनि नयाँ नयाँ प्रोडक्ट ल्याउने योजनामा रहेको छ । 

साइबर पोलिसि कस्तो प्रोडक्ट हो ?

इन्टरनेटको प्रयोग मार्फत हुने वित्तिय नोक्सानीको बीमा नै साईबर पोलिसि हो। कुल कारोबारको ठूलो हिस्सा मोबाइल बैंकिङ बाट हुने भएकाले पनि अहिले हामी मोबाईलमा नै जान खोजेका छौँ। कसैले ह्याक गरेर क्षति गर्यो भने सोहि अनुसार कम्पनीले भुक्तानी दिन्छ ।  यो पोलिसि बीमा प्राधिकरणबाट स्वीकृति लिई सकेका छौं। वैशाख देखि पोलिसि विक्री सुरु हुन्छ।

नयाँ नयाँ प्रोडक्ट लन्च गरिरहँदा, त्यो प्रोडक्ट बनाउनलाई कति खर्च हुन्छ ?

सामान्यता एउटा प्रोडक्ट बनाउन १० लाख देखि १ करोडसम्म खर्च हुने गर्दछ । पहिला पहिला कम्पनीहरु साना थिए अहिले ठूला भए । त्यस अनुसार कम्पनीहरु लाग्नु पर्यो । कम्पनीहरुको मार्केटमा रिसर्च गर्न एउटा दायित्व हो । त्यो गर्नु पर्यो । पुनर्बीमा कम्पनीहरु पनि यस तर्फ लाग्नु पर्यो । 

त्यस तर्फ सबैको ध्यान जानुपर्छ । अहिले इन्नोभेशन एकदम कम छ । तर, शिखरले आफ्नो लेभलबाट गरिरहेको छ।

इन्नोभेशन नहुनुको कारण के, नियमन नियामक यसको जिम्मेवार हुन् वा स्वयम निर्जीवन बीमा कम्पनीनै यसका कारण हुन ? 

नयाँ नयाँ प्रोडक्ट ल्याउन प्रयत्न गर्नुपर्ने पहिलो जिम्मेवारी भनेको निर्जीवन बीमा कम्पनीहरुकै हो। अघि भनेजस्तो, पस्किएको खाने बानीले हामीले नयाँ नयाँ क्षेत्रको पहिचान गर्न सकिरहेका छैनौं। यसमा ठूलो कमजोरी कम्पनीकै हो। 

यसमा नियमन नियामक भन्दा पनि निर्जीवन बीमा कम्पनीकै जस्तै पुनर्बीमा कम्पनीको पनि उत्तिकै दायित्व हुन्छ। पुनर्बीमा कम्पनीले पनि आफ्नो एउटा अध्ययन कमिटी बनेर बजारका सम्भावित प्रोडक्टबारे अध्ययन गरेर त्यसअनुसारको प्रोडक्ट ल्याउनलाई निर्जीवन कम्पनीलाई सघाउने गर्नुपर्छ। निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनी मिलेर बनाएका यस्ता प्रोडक्टलाई बीमा प्राधिकरणले स्वीकृति दिने मात्रै हो।  त्यहि भएर प्राधिकरणले जुन पोलिसी ल्याउन भन्यो त्यहि मात्रै निर्जीवन कम्पनीले ल्याइरहेको अवस्था हो। 

 रिसर्च नगरी ल्याइएका प्रोडक्टहरु कसरी बजारमैत्री र बीमीतमैत्री हुन्छन ?

हामीसंग नेपालको हावा पानी र यहाँको संस्कार र अवस्था सुहाउँदो निर्जीवन बीमाको प्रोडक्ट नै छैन। पश्चिममा कर्णाली नदीको बाढीले त्यहाँ नजिकको बस्ति सधै प्रभावित बनाईदिन्छ भने निर्जीवन बीमा कम्पनीहरुले त्यहाँ त्यस अनुसारको प्रडक्ट ल्याउन सक्नुपर्यो। 

 तर विडम्बना, पुनर्बीमा कम्पनीले पनि रेडिमेट नै खाने गरेको छ । २ वटा पुनर्बीमक छन् । उनीहरुको रिसर्च एण्ड डेभलपमेन्ट खोई त ? यो प्रडक्ट छ, मार्केटिङ गर । हामी रिईन्स्योरेन्स गर्छौं’ भनेर उहाँहरु पनि आउनु पर्यो। 

त्यसैगरी कम्पनीको सीईओेले पनि मेरा पालामा यति खर्च गरेर अर्कालाई फाईदा हुन्छ भने के गर्नु भन्ने सोच हटाउँनु पर्यो । एउटा प्रोडक्ट बनेपछि त्यसैमा प्रतिस्पर्धा गर्ने होइन । धेरै चिजहरु छ यहाँ ।  म्यानपावरमा खर्च गर्नुपर्यो, एक्चुरीमा गर्नु पर्यो । डाटा कलेक्सन गर्नुपर्यो । लगायत धेरै काम गर्नुपर्छ । पेशन पनि चाहिन्छ । आजको भोलि रिटर्न पनि दिइदैन । 

स्याउ बीमामा सुरुमा शिखरको करोड भन्दा पनि कम ब्यापार थियो । त्यसपछि बढ्न थालेको हो । गर्न सक्यो भने मार्केट गुणाले बढ्छ ।  हाम्रो देश भनेको पर्यटन, जलविद्युत र कृषि हो । यसो हो भने किसानको आयस्तर बढ्यो भने मार्केट आफै बढ्छ । 

अब, त्यहाँ हामीले २ किसिमको काम गर्नुपर्यो । एउटा कृषिको क्षतिको लागि प्रडक्ट ल्याउनु पर्यो भने अर्काे किसानको आर्थिक अवस्था बढाउने वातावरण बनाईदिनु पर्यो । 

स्टोरेज, ग्रेडिङ, प्याकेजिङ फ्याक्ट्री र बजारको ग्यारेन्टी भयो भने र किसानलाई राम्रो आय भयो भने बल्ल किसानले कृषि तर्फ आकर्षित हुन्छ । उसको आर्थिक स्थिति बढ्छ । आर्थिक अवस्था सुधार भयो भने उसले मोटर किन्छ, घर बनाउँछ र तिनिहरुको बीमा गराउँछ ।  जबसम्म बीमकहरुले देशको, जनताको आर्थिक अवस्था बढउने तिर लाग्दैन तबसम्म बीमा बजार अस्वस्थ्य प्रतिस्पर्धामै चलिरहन्छ ।

सरकारले कोरोना बीमाको पनि दाबी भुक्तानी गरेको छैन, अहिले कृषि बीमा बापतको अनुदान पनि कम्पनीलाई दिएको छैन , यसले समग्रमा निर्जीवन बीमा क्षेत्रमा कस्तो असर परेको छ ?

सरकारबाट कृषि बीमाको प्रिमियमको अनुदानवापतको रकम कम्पनीहरुले नपाउँदा त्यसको नकारात्मक असर कम्पनी सहित किसानहरुमा छ । शिखरले नै ६० करोड पाएको छैन् । 

यसरी नपाएका कारण कृषि बीमा पोलिसि बिक्री रोक्नुपर्ने भएको छ ।  त्यसको प्रत्यक्ष असर किसानमा परेको छ । र किसानहरुमा बीमा प्रतिको नकारात्मक धारणा विकास भएको छ । कृषि बीमामा सरकारले कम्पनीलाई दिनुपर्ने भुक्तानी नदिए पनि अहिलेसमम कम्पनीहरुले दाबी भुक्तानी दिई रहेका छन् । अब पनि सरकारले रकम नदिने हो भने कम्पनीहरुले पनि दाबी नदिने अवस्थामा पुग्छन्।

त्यसैगरी कोरोना बीमाको सरकारबाट भुक्तानी नपाउँदा बीमितहरुलाई कम्पनीले दाबी रकम भुक्तानी दिन पाएको छैन् । त्यसले गर्दा निर्जीवन मात्र होइन जिवन बीमकलाई पनि नकारात्मक असर गरेको छ ।  कोरोनाको भुक्तानी सरकारले गर्दैको भए आर्थिक मन्दीको समयमा ५-७ अर्ब रकम बजारमा आउंथ्यो र  अर्थतन्त्र चलायमान हुन्थ्यो । त्यसले समग्रह अर्थतन्तमा नै सकारात्मक हुन्थ्यो । र बीमितहरुमा पनि बीमा प्रति भरोसा हुन्थ्यो । 

हाईड्रो बीमामा अहिलेको व्यवस्थाबारे चर्को अशन्तुष्टी छ, भएको 'टेरीफ' व्यवस्थालाई हटाएर 'नन टेरिफ' बनाउनुपर्ने माग छ,  यस विषयमा यहाँको धारण के छ ? 

जोखिम हेरेर बीमाको प्रिमियम निर्धारण हुने गर्दछ । हाईड्रोमा बाढीको ठूलो जोखिम छ। हाईड्रोको प्राय सबै बीमितले 'लस अफ रेभिन्यू' को कभर लिएको हुन्छ । लिन पाईन्छ पनि । हाईड्रो बनाउन सबै सामान विदेशबाट ल्याउनु पर्ने हुन्छ । त्यो ल्याउने समय धेरै हुन्छ । त्यसो हुँदा लस अझै धेरै हुन जान्छ ।

हाईड्रोमा अण्डरराईटिङ गर्ने अन्तराष्ट्रिय प्रचलन हुन्छ। अर्काे कुरा नेपालमा भुकम्प र बाढीको ठूलो जोखिम छ । त्यसले गर्दा पुनर्बीमा कम्पनीहरुले नेपालको हाईड्रोहरुको पुनर्बीमा गर्न चाहादैनन्। यस्तै, हाईड्रोको निर्माण गुणस्तर पनि नभएको पाइएको छ । यी कुराले पनि हाईड्रोको बीमा गर्दा जोखिम छ ।

समस्याको बारेमा जानकारी हुँदाहुँदै पनि 'टेरीफ' हटाउने माग आउनुमा अलिकति राजनीति भएको भान भएको छ मलाई । दोष लाउने चलन मात्रै भयो । सबै सरोकारवाला बसेर यसबारे छलफल गर्यो भने यसको समाधान निश्चयनै हुन्छ । 

सरकारले लघु निर्जीवन बीमा संचालनमा ल्याउँदा यसले निर्जीवन बीमा कम्पनीहरुको ब्यापार व्यवसायमा कस्तो प्रभाव पारेको छ ?

सरकारले एउटा उदेश्यले नै लघु बीमालाई संचालनमा ल्याएको हो। लघु भन्ने बित्तिकै हेर्दा उस्तै लाग्ने भएपनि यथार्थमा लघु निर्जीवन बीमा र निर्जीवन बीमाबीचको कारोबार क्षेत्र पनि अलग अलग नै हुने गर्दछ। लघुहरु गाउँ गाउँमा गएर कम आय भएकाहरुमाझ बजार विस्तार गर्दा त्यसले समग्रहमा सकारात्मक नै असर देखिन्छ।

अहिले निर्जीवन लघु बीमालाई ५० लाखसम्मको मोटर बीमा गर्न पाउने अधिकार सरकारले दिएको छ।  त्यहि भएर मोटर बीमाको तेस्रो पक्षमा अस्वस्थ्य प्रतिस्पर्धा भयो भनेर बनाइएको पुलमा लघु निर्जीवन बीमालाई पनि ल्याउने कि भन्नेमा छलफल चलाएका छौँ। मोटरको तेस्रो पक्ष कसरी गर्ने भन्ने क्लियर भयो भने मेरो बिचारमा राम्रै हुन्छ जस्तो लाग्छ।  

प्रतिस्पर्धाको कुरोमा पहिला पनि निर्जीवन २० वटा कम्पनी त थियो नि । अहिले १४ वटा भयो । अर्काे ४ आउँदा १८ भयो । त्यसले के विग्रियो र ? 

प्राधिकरणले अहिले लघुलाई ५० लाखको समम्म दायरा दिएर सहयोग गर्यो । त्यसमा हामीले केहि बोल्न मिल्दै । तर त्यहि  हो,  आफ्नो उदेश्यबाट भड्किएर कसैले अर्को काम गर्दा त्यसको समग्र असर समग्र उद्योगमा पर्ने नै हुन्छ।   

सबै कम्पनी मर्जर तथा प्राप्तिबाट ठूलो बनेर ब्यापार विस्तार गरिरहेका छन् तर शिखर आफ्नै बलमा तोकिएको पुंजी पुर्याएर अगाडी बढिरहेको छ, मर्जर तथा प्राप्ति नहुँदा व्यवसायमा कत्तिको प्रभाव परेको छ ?

सुरु सुरुमा मर्जर तथा प्राप्तिमा नजाँदा सिनर्जी इफेक्टले आउने अवसर गुम्ने पो हो कि भन्ने एक किसिमको सोच नआएको होइन तर मर्जर तथा प्राप्ति पश्चात आएका नतिजाहरु हेर्दा शिखरलाई आफ्नै बलमा अगाडी बढाउने निर्णय लिएर गलत गरिएन भन्ने लाग्छ। 

प्राधिकरणले चुँक्ता पुजी बढाउने नीति ल्याउछ भनेर हामि त्यसको पूर्व तयारीमा थियौँ। ३ वर्षदेखि नै हामीले पुँजी बढाउँदै लगेको हो । बढेको पुंजीअनुसारको ब्यापार विस्तार गर्नलाई शिखरले धेरै लगानी गरेको छ। पुंजी वृद्धिसंगै हामि ब्यापारको सम्भावित क्षेत्रबारे अध्ययन अनुसन्धानमा लाग्यौं र त्यहाँका उत्पादन र कृषकलाई समेट्ने गरि कृषि बीमाका प्रोडक्ट लिएर नेपालका दुरदराजमा पुग्यौं। 

नतिजा गत वर्ष कृषि बीमा तर्फ ४५ करोड प्रिमियम संकलन गरेको थियौँ भने चालु वर्ष ८० करोड नाघ्नेमा विश्वस्त छौं । यो क्षेत्रमा क्षति बढी हुने हुँदा नाफा कम हुने क्षेत्रको रुपमा लिइन्छ त्यहिपनि दायरा विस्तार हुँदा कभरेजसंगै कारोबार पनि बढ्ने अपेक्षाले  कृषि बीमा तर्फ थप अगाडी बढिरहेका छौँ। 

कृषि बीमामा नाफा कम तर लागत बढी हुन्छ भन्नु भयो, लागत घटाउन  शिखर इन्स्योरेन्सले के गर्दै छ ?

लागत घटाउनलाई कृषि बीमाको दायरा र कृषि बीमा सम्बन्धी नयाँ नयाँ प्रोडक्ट ल्याएर कृषि बीमाको दायरा बढाउने र कृषि बीमाको लागि धेरै भन्दा धेरै डिजिटल माध्यमको प्रयोग गर्ने र डिजिटल कृषि बीमा बनाउने योजनामा छौं। 

काठमाडौँमा सिमित निर्जीवन बीमालाई देशब्यापी बनाउन खोज्दाका चुनौती के छन् ?

हामीले काठमाडौँमा सिमित निर्जीवन बीमालाई देशब्यापी बनाउन अथक प्रयास गरिरहेका छौँ। सबै प्रदेशमा पुगेर त्यहाँको आवश्यकता अनुसारको प्रोडक्ट ल्याउने काम पनि गरिरहेका छौं। तर हामीले विस्तारकारी योजना लिएर मात्र नहुने रहेछ। 

हाम्रा योजना कार्यन्वयनका लागि अन्तत: आवश्यक भनेको मानवसंशाधन अर्थात मानव स्रोत नै हो। तर दुखका साथ भन्नुपर्छ ,पछिल्लो समय गुणस्तरीय जनशक्ति पाउन त्यति सहज छैन।  दुर्गमदेखि सुगम, सुगमबाट राजधानी, राजधानी देखि विदेश जाने ट्रेन्डले जनशक्ति पाउन गाह्रो छ। 

अर्कोतर्फ, निर्जीवन बीमाको दायरा बढाएर देशका दुरदराजमा पुग्ने हाम्रो चाहना भएपनि दुर्गममा जाँदा मानिसहरुमा क्रय शक्ति छैन। त्यहाँका मानिसहरु क्रय शक्तिका कारण निर्जीवन बीमालाई प्राथमिकतामा नराख्ने अवस्था छ। त्यहि भएर हामीलाई देशका दुरदराजमा पुगेर हाम्रा बीमाका प्रोडक्टहरु बिक्री गर्नलाई त्यति सहज छैन। 

त्यसैले सरकारले अनुदानको व्यवस्था ल्यायो तर विडम्बना, अनुदान बापतको पैसा नपाउँदा हाम्रो लागत कति हो कति बढेको छ भने हामीलाई पनि अनुदान आउला भनेर अनुदान आउने बीमा गर्न आत्मविश्वास बढ्न सकेको छैन। अर्कोतर्फ, अनुदान नआउँदा अनुदान लिएर बीमा गर्नेहरु पनि उत्साहित देखिदैनन्। यस्तोमा सरकारले आफ्नो बाचा पुरा गर्दिने हुनुपर्छ, नत्र सरकारको प्रतिवद्दताका कार्यन्वयन नहुँदा मानिसहरुमा बीमाप्रतिको विश्वास हट्न सक्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved