आईपिओ निष्काशन गर्न लागेको शिव श्री हाइड्रोपावरले ग्रेड ४ को रेटिंग पाएको छ । केयर रेटिग्स नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको बताउछ ।
कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १७ गते आइतबार बोर्डमा आवेदन दिएको हो । कम्पनीले यस अघि स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको ११ लाख ३६ हजार ५ सय ४० कित्ता समेत थपेर सर्वसाधारणलाई ३१ लाख ६० हजार १ सय ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा पुस २७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिएका थिए । स्थानीयलाई छुट्याईएको मध्ये २३ प्रतिशत शेयर मात्र बिक्रि भएको हो।
शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।