लघुवित्तबारेको महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 10:19:15 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ। दशैं लगायतका चाडपर्वका कारण विदाका दिन बढी हुँदा काम प्रभावित भएकाले तिहार लगत्तै उक्त प्रतिवेदन सार्वजनिक हुने राष्ट्र बैंक स्रोतले जनाएको छ। 

कोभिड यताका विभिन्न घटनाक्रमका कारण लघुवित्तको क्षेत्रमा देखिएका समस्याको बारेमा गरिएको अध्ययनको आधारमा उक्त प्रतिवेदन तयार गरिएको हो। प्रतिवेदनमा लघुवित्तमा देखिएका विद्यमान समस्या र त्यसको सम्भावित समाधानका बारेमा उल्लेख गरिएको बताइएको छ। सोहि प्रतिवेदनमा नै टेकेर राष्ट्र बैंकले लघुवित्तको बारेमा आवश्यक निर्णय लिने राष्ट्र बैंक संचालक समितिका एक सदस्यले बिजपाटीलाई बताए। 

ति सदस्यका अनुसार अध्ययनको क्रममा लघुवित्तमा कर्जा लगानीको लागि स्रोत व्यवस्थापन तथा सदस्यलाई दिन र लिन पाउने ब्याज (स्प्रेड रेट) को बारेमा स्पष्टता नभएको भेटिएको छ। सोहि कारणपनि मापदण्ड बनाएर लघुवित्तलाई निक्षेप संकलनको बाटो खुलाउने र स्प्रेड रेट कायम गर्ने व्यवस्था हुनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ। 

त्यस्तै लघुवित्तमा कर्जामा दोहोरोपना र सेवा शुल्कमा अनियमितता बढी पाइएकाले यसको पनि समाधान खोजिएको छ। कर्जाको दोहोरोपन हटाउनलाई कर्जा सूचना केन्द्रलाई थप कडाइ र व्यवस्थित गर्ने तथा सेवा शुल्कबारे पनि थप स्पष्ट व्यवस्थाको लागि सुझाव उल्लेख गरिएको छ। 

त्यस्तै गरिवका लागि काम गर्न आएका भनिएका लघुवित्तमा पछिल्लो समय तालिम तथा वित्तीय साक्षरताको नाममा कमर्शियल बैंक वित्तीय संस्था कै जस्तो गतिविधि र खर्च पनि भेटिएकाले यसको पनि समाधान खोजिएको छ। 

विशेषगरि मनिराम ज्ञवालीको लघुवित्त खारेजीको माग सहितको आन्दोलनलाई सम्बोधन गर्ने उदेश्यले राष्ट्र बैंकको संचालक समितिले एक समिति गठन गरेको थियो। लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ', राष्ट्र बैकंका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु संलग्न एक समिति गठन गरिएको थियो। उक्त समितिले अध्ययन गरेर बनाएको प्रतिवेदन राष्ट्र बैंक संचालक समितिलाई बुझाएको थियो। सोहि प्रतिवेदनमा राष्ट्र बैंक संचालक समिति सदस्यले अध्ययन तथा छलफल गरे पश्चात प्रतिवेदन सार्वजनिकको अन्तिम तयारीमा पुगेको हो। 

मनिराम ज्ञवालीको लघुवित्त खारेजी र कर्जा मिनाह सहितको आन्दोलन तथा कर्जा नतिर्ने देश ब्यापी अभियानले लघुवित्तमा कर्जा परिचालन तथा कर्जा असुलीमा समस्या देखिएको छ। सोहि कारण पनि नेपाल राष्ट्र बैंकले एउटा स्पष्ट धारणा सार्वजनिक गरिदिनुपर्ने लघुवित्तकर्मीको अपेक्षा रहेको छ। दशैं अगाडी नै सार्वजनिक हुने अपेक्षा गरिएकोमा तिहार पछि मात्रै यो प्रतिवेदन सार्वजनिक हुने स्रोतको दाबि छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved